close

पर्यटनमन्त्रीसँग भेट्न एकदिन अघि अनलाइन बुकिङ अनिवार्य भन्दै फैलिएको खबर भ्रामक

टेकपाना टेकपाना

चैत २७, २०८२ १०:३६

पर्यटनमन्त्रीसँग भेट्न एकदिन अघि अनलाइन बुकिङ अनिवार्य भन्दै फैलिएको खबर भ्रामक

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल 'गनेस'सँग भेट्न एक दिनअघि अनिवार्य रूपमा अनलाइन बुकिङ लिनुपर्ने भन्दै सामाजिक सञ्जालमा फैलिएको दाबी भ्रामक देखिएको छ । मन्त्री पौडेलले शुक्रबार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै यो विषय बजार हल्ला मात्रै भएको स्पष्ट पारेका हुन् ।

उनले बजारमा यस्तो हल्ला चलेको, चलिरहने र प्रलोभनमा पार्न नसकेपछि विवादमा तान्ने पुरानो चलन आफूलाई थाहा भएको बताएका छन् । "हामीले केही दिनअघि जारी गरेको सूचनाले अनलाइनबाट पनि भेटघाटको मिति र समय तय गर्न सकिन्छ भनेको हो ।

अन्य माध्यमबाट गर्न पाइन्न भनेको होइन । त्यो आजको आजै गरे पनि हुन्छ, २/४ दिनअघि गरे पनि हुन्छ । १ घण्टा अघि गरे पनि हुन्छ," उनले लेखेका छन् । विशेष सल्लाह सुझाव दिन र अपर्झट गुनासोको लागि जहिले जतिबेला आए पनि हुने भन्दै मन्त्री पौडेलले त्यसका लागि आफ्नो मोबाइल नम्बर (९८५६०३१६४७) सधैँ सार्वजनिक रहेको बताए ।

"बधाई दिन, शुभकामना दिन र नजिकिन मात्र चैँ नआउन भनेकै हो, भनिरहन्छु," उनले अगाडि भने । 

मन्त्री पौडेलले आफूलाई भेट्न आउन चाहने सर्वसाधारणका लागि केही दिन अघि एक क्यूआर कोड सार्वजनिक गरेका थिए । मन्त्रालयमा मन्त्रीलाई भेट्न लाग्ने अव्यवस्थित भिडलाई कम गर्न र भेटघाटको समयलाई थप व्यवस्थित बनाउन यो कदम चालिएको उनले बताएका थिए ।

जसअनुसार उनलाई भेट्न चाहने व्यक्तिले क्यूआर कोड स्क्यान गरी वा गुगल डक्सको यो लिङ्क खोलेर आफ्नो प्रारम्भिक विवरण भर्नुपर्ने हुन्छ । जसमा नाम, ठेगाना, आबद्ध निकाय, सम्पर्क नम्बर र भेटघाटको उद्देश्य स्पष्ट खुलाउनुपर्छ ।

पौडेलले मन्त्रालय तथा मातहतका निकायसँग सम्बन्धित गुनासो वा सुझाव दिनका लागि समेत सर्वसाधारणले यो क्यूआर कोड प्रयोग गर्नसक्ने जानकारी दिएका थिए ।

पछिल्लो अध्यावधिक: चैत २७, २०८२ १०:४३