close

आउँदो साता नेपालमा सार्वजनिक हुँदै ह्वावे ब्यान्ड ११ सिरिज, मेल्टडाउनसँग १ वर्षे फिटनेस सहकार्य

टेकपाना टेकपाना

चैत २७, २०८२ ११:५७

आउँदो साता नेपालमा सार्वजनिक हुँदै ह्वावे ब्यान्ड ११ सिरिज, मेल्टडाउनसँग १ वर्षे फिटनेस सहकार्य

काठमाडौँ । आउँदो साता अर्थात् १५ अप्रिलका दिन ह्वावेको नयाँ 'ब्यान्ड ११ सिरिज' नेपाली बजारमा सार्वजनिक हुने भएको छ । नेपालका लागि ह्वावे उत्पादनहरूको एकमात्र आधिकारिक वितरक कल मोबिलिटी प्रालिले ह्वावेका नयाँ फिटनेस प्रोडक्ट बजारमा ल्याउन लागेको हो ।

यसै अवसरमा कम्पनीले नेपालको चर्चित फिटनेस समुदाय 'मेल्टडाउन नेपाल'सँग एक वर्ष लामो फिटनेस सहकार्यको समेत सुरुवात गर्ने भएको छ ।यो साझेदारीको मुख्य उद्देश्य ह्वावेको 'वेयरेबल' प्रविधिलाई नेपालका स्वास्थ्यप्रति सचेत नागरिकहरूसम्म पुर्‍याउनु र सक्रिय जीवनशैलीलाई प्रोत्साहन गर्नु हो । मेल्टडाउन नेपालले दौड, प्रशिक्षण सत्र र डिजिटल सामग्रीमार्फत फिटनेस प्रेमीहरूलाई जोड्ने काम गर्नेछ ।

ह्वावे ब्यान्ड ११ सिरिज अन्तर्गत ह्वावे ब्यान्ड ११ र ह्वावे ब्यान्ड ११ प्रो गरी दुईवटा मोडेलहरू उपलब्ध हुनेछन् । ह्वावे ब्यान्ड ११ प्रोमा १.६२ इन्चको ६० हर्ज एमोलेड डिस्प्ले रहेको छ, जुन अघिल्लो संस्करणको तुलनामा २७% ठुलो छ । यसको ब्राइटनेस २००० निट्ससम्म पुग्न सक्छ, जसले गर्दा चर्को घाममा पनि स्क्रिन प्रस्ट देखिन्छ ।

यो मात्र ८.९९ एमएम पातलो छ र यसको तौल १८ ग्राम मात्र रहेको छ । यसको बडी 'सीएनसी-कट अल्मुनियम एलोय'बाट बनेको छ । प्रो मोडेलमा आफ्नै जीपीएस चिप जडान गरिएको छ, जसले फोन बिना नै दौड वा साइक्लिङको सही रुट र दूरी ट्रयाक गर्न सक्छ ।

यसमा 'रनिङ पोस्चर एनालिसिस' फिचर छ । जसले जमिनसँगको सम्पर्क समय र शरीरको सन्तुलन मापन गरी चोटपटक लाग्नबाट जोगाउन मद्दत गर्छ । सामान्य प्रयोगमा यसको ब्याट्री ८ दिन र कम प्रयोगमा १४ दिनसम्म टिक्छ । एओडी अन गर्दा भने ३ दिनसम्म मात्रै चल्छ ।

यसैगरी ह्वावे ब्यान्ड ११ मा पनि १.६२ इन्चको एमोलेड डिस्प्ले छ । तर यसको अधिकतम ब्राइटनेस १५०० निट्स मात्र छ । यो मोडेल 'ड्युरेबल पोलिमर' केसबाट बनेको छ र यसको तौल करिब १६ ग्राम छ । यसले पनि अधिकतम १४ दिनसम्मको ब्याट्री ब्याकअप प्रदान गर्छ ।

दुवै ब्यान्डले दौड, पौडी, साइक्लिङ र योगा जस्ता १०० भन्दा बढी खेल मोडहरू सपोर्ट गर्छन् । यसमा ह्वावेको नयाँ ट्रुस्लिप (TruSleep 5.0/4.0) प्रविधि समावेश छ । जसले निद्राको गहिराइ, मुटुको गति र सास फेर्ने ढाँचाको विश्लेषण गर्छ ।

साथै यसले रगतमा अक्सिजनको मात्रा (SpO2) र तनाव (Stress) पनि मापन गर्छ । यसले प्रयोगकर्ताको मुड वा भावनात्मक अवस्थालाई १२ प्रकारका 'फ्लोरल स्टेट' मार्फत देखाउन सक्ने कम्पनीको दाबी छ । यो सिरिजमा ह्विलचेयर प्रयोगकर्ताहरूका लागि विशेष वर्कआउट एल्गोरिदम समावेश गरिएको छ ।

यी ब्यान्डहरू एन्ड्रोइड ९.० र आईओएस १३.० वा सोभन्दा पछिल्ला भर्सनको साथमा काम गर्न उपयुक्त छन् । यसबाट कल र मेसेजको नोटिफिकेसन हेर्न, म्युजिक कन्ट्रोल गर्न र रिमोट क्यामेरा सटरको प्रयोग गर्न सकिन्छ ।

नेपालका लागि आधिकारिक मूल्य सार्वजनिक कार्यक्रममा नै तोकिने बताइएको छ । यद्यपि अन्तर्राष्ट्रिय बजारको कुरा गर्दा यूएईमा ब्यान्ड ११ को मूल्य १४९ दिराम (करिब ६ हजार रुपैयाँ) र प्रोको मूल्य २४९ दिराम (करिब १० हजार रुपैयाँ) रहेको छ ।

नेपालमा कल मोबिलिटीले यसको खरिदमा विभिन्न सुरुवाति अफरहरू पनि उपलब्ध गराउने अपेक्षा गरिएको छ । थप जानकारीका लागि ह्वावे नेपालको आधिकारिक फेसबुक र इन्स्टाग्राम पेजहरू हेर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: चैत २७, २०८२ ११:५७