राइड शेयरिङमा सवार महिला यात्रीलाई लक्षित गरी अभद्र भिडिओ बनाउने युवक पक्राउ
चैत २७, २०८२ १४:१६
काठमाडौँ । राइड शेयरिङका क्रममा महिला यात्रीलाई लक्षित गरी अभद्र भिडिओ बनाएको आरोपमा एक युवक पक्राउ परेका छन् । काठमाडौँको नक्सालस्थित भगवती बाहल मन्दिर नजिकै गुडिरहेको मोटरसाइकलमा सवार महिला यात्रीलाई लक्षित गरी अपशब्द प्रयोग गर्दै भिडिओ खिचेको र उक्त भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार ती युवकले महिलाको मर्यादा र प्रतिष्ठामा आँच आउने गरी 'के सारो राम्री राम्री भेटिन्छ हौ' भन्ने जस्ता क्याप्सन राखेर भिडिओ सार्वजनिक गरेका थिए । पक्राउ परेका युवकमाथि थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।
प्रहरीले यस घटनाका पीडित पक्षलाई सम्बन्धित कार्यालय वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरी उजुरी दिन र अनुसन्धानमा सहयोग गर्न समेत आग्रह गरेको छ ।
यसैबिच, नेपाल प्रहरीले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई सचेत गराउँदै कुनै पनि भिडिओ निर्माण गर्दा वा प्रतिक्रिया व्यक्त गर्दा अन्य व्यक्तिको मर्यादा, प्रतिष्ठा तथा चरित्रमा आँच आउने किसिमका कार्य नगर्न अनुरोध गरेको छ ।
पछिल्लो अध्यावधिक: चैत २७, २०८२ १४:४५
