close

अमिशा पराजुलीलाई कमेन्टमा अश्लील गाली गर्दा पक्राउ परेका युवक राष्ट्रिय स्तरका फुटबल खेलाडी

टेकपाना टेकपाना

चैत २८, २०८२ १६:११

अमिशा पराजुलीलाई कमेन्टमा अश्लील गाली गर्दा पक्राउ परेका युवक राष्ट्रिय स्तरका फुटबल खेलाडी

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको समर्थन गर्दै प्रदर्शनमा उत्रिएकी २० वर्षीया अमिशा पराजुलीलाई सामाजिक सञ्जालमार्फत अश्लील गाली र साइबर बुलिङ गरेको आरोपमा पक्राउ परेका युवक राष्ट्रिय स्तरका फुटबल खेलाडी रहेको खुलेको छ । काठमाडौँ जिल्ला सरकारी वकील कार्यालयले २५ चैतमा जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रबाट पक्राउ परेका २४ वर्षीय अविशेक चौधरीको परिचय खुलेको हो । 

रौतहट घर भएका चौधरी बिरगञ्ज युनाइटेडका मिडफिल्डर हुन् । उनले स्थानीय र राष्ट्रिय स्तरका खेलहरू खेल्दै आए पनि नेपालको राष्ट्रिय टोलीबाट खेलेको रेकर्ड भने नपाइएको अभियोगपत्रमा उल्लेख छ ।

अभियोगपत्रका अनुसार एक फेसबुक पेजमा अपलोड गरिएको अमिशाको भिडिओमा चौधरीले अत्यन्तै भद्दा र अश्लील शब्द प्रयोग गरी कमेन्ट गरेका थिए । उनले लेखेका थिए, “Yasa aam ko p** Ra yo R**i ko p** ni c**a ko x kh**ini ।”

सोही दुर्व्यवहार विरुद्ध अमिशाले दिएको निवेदनका आधारमा साइबर ब्युरोले चौधरीलाई २१ चैतमा नियन्त्रणमा लिएको थियो । एमाले अध्यक्ष ओलीको समर्थनमा अभिव्यक्ति दिएकै कारण अमिशामाथि व्यापक रूपमा अनलाइन दुर्व्यवहार र चरित्र हत्या गर्ने प्रयास भएको दाबी गरिएको छ ।

प्रहरीलाई दिएको बयानमा प्रतिवादी चौधरीले आफू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थक र हालको जेनजी पुस्ताले गरेको आन्दोलनको पक्षधर भएको बताएका छन् । उनले बयानका क्रममा भनेका छन्, “हाम्रै उमेरका साथीहरूले बलिदान दिएर देशमा परिवर्तन ल्याउन खोजे पनि पुनः पुरानै राजनीतिक दलको समर्थनमा युवाहरू उत्रिएको देख्दा मलाई रिस उठ्ने गर्थ्यो । सोही दिन साँझ मादक पदार्थ सेवन गरेको नशाको सुरमा अमिशाले पुरानो दलको नेताको समर्थन गरेको देखेपछि मैले आवेगमा आएर अश्लील कमेन्ट लेखेको हुँ ।” 

उनले सार्वजनिक रूपमा बेइज्जत गर्ने मनसाय नरहेको दाबी गरे पनि आफ्नो कार्य गलत भएको स्वीकार गर्दै कानुन बमोजिमको सजाय भोग्न तयार रहेको बताएका छन् । सरकारी वकीलको कार्यालयले चौधरीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम कारबाहीको माग गर्दै मुद्दा चलाएको छ । उक्त दफामा इन्टरनेट वा विद्युतीय सञ्चार माध्यमबाट कसैको अपमान गर्ने, हैरानी दिने वा सार्वजनिक नैतिकता विरुद्धका सामग्री प्रकाशन गर्नेलाई १ लाख रुपैयाँसम्म जरिबाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

यसैबिच उक्त मुद्दामा २६ चैतमा काठमाडौँ जिल्ला अदालतकी न्यायाधीश विमला रेग्मीको इजलासले अभियुक्त चौधरीलाई ‘धरौटी माग गर्ने’ आदेश दिएको छ । अदालतले तोकेको धरौटी चौधरीले बुझाए वा बुझाएनन् भन्ने स्पष्ट रूपमा खुलेको छैन । मुद्दा भने अदालतमा जारी छ ।

पछिल्लो अध्यावधिक: चैत २९, २०८२ ११:५४