खेल भावना विपरीत सामाजिक सञ्जालमा अभिव्यक्ति दिएको भन्दै करण केसीलाई कारबाही
चैत २९, २०८२ १३:२५
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका फास्ट बलर तथा नेपाल पुलिस क्लबका खेलाडी करण केसीलाई अनुशासनको कारबाही गरेको छ । अम्पायरहरूविरुद्ध सामाजिक सञ्जालमा विवादास्पद अभिव्यक्ति दिएको भन्दै क्यानले उनलाई एक खेलको प्रतिबन्ध र शतप्रतिशत म्याच शुल्क जरिवाना गर्ने निर्णय गरेको हो ।
क्यानका प्रवक्ता छुम्बी लामाले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै करणको अभिव्यक्तिले संघको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका क्रममा करणले अम्पायरहरूलाई लक्षित गर्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए ।
क्यानको विज्ञप्तिमा भनिएको छ, "उक्त अभिव्यक्ति खेल भावना अनुरूप नभएको ठहर गर्दै सम्बन्धित सबै सरोकारवालासँग समन्वय गरी क्रिकेटर करण केसीलाई प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको एक खेलका लागि प्रतिबन्ध लगाउनुका साथै १००% म्याच शुल्क जरिवाना गर्ने निर्णय गरिएको व्यहोरा जानकारी गराइन्छ ।"
करणले हालै सामाजिक सञ्जालमा "यदि खेलाडीले अम्पायरलाई गल्तीले हिर्कायो भने कति खेलको प्रतिबन्ध लाग्छ ?" भनी प्रश्न गरेका थिए । उक्त टिप्पणीलाई नेपाल क्रिकेट अम्पायर तथा स्कोरर संघले अम्पायरहरूको सुरक्षा र सम्मानमाथिको प्रहार भन्दै कडा आपत्ति जनाएको थियो । अम्पायर संघले क्यानलाई पत्र लेख्दै अनुशासनको कडा कारबाही गर्न माग गरेको थियो ।
यस कारबाहीसँगै करणले जारी प्रतियोगिताको आगामी एक खेल गुमाउनु पर्नेछ ।

पछिल्लो अध्यावधिक: चैत २९, २०८२ १३:३३
