ह्वाट्सएप, सिग्नल लगायतका मेसेजिङ एपको विकल्पमा आयो सर्भररहित सुरक्षित P2P मेसेजिङ एप किट
चैत ३०, २०८२ ९:५
काठमाडौँ । विश्वभर ह्याकरहरू र सरकारी सुरक्षा एजेन्सीहरूले लोकप्रिय मेसेजिङ एपहरूलाई तारो बनाइरहेका बेला टेदर (Tether) का सीईओले सञ्चारको क्षेत्रमा नयाँ क्रान्ति ल्याउने दाबी गरिएको एउटा एप ल्याएका छन् । 'किट' (Keet) नामक यो पियर-टु-पियर (P2P) मेसेजिङ र भिडिओ एपले सन्देश आदानप्रदानका लागि सर्भरको आवश्यकतालाई पूर्ण रूपमा अन्त्य गरिदिएको छ ।
ह्वाट्सएप, सिग्नल र एप्पल जस्ता लोकप्रिय मेसेजिङ एपहरू 'इन्ड-टु-इन्ड' इन्क्रिप्टेड भए पनि हालैका विश्वव्यापी घटनाहरूले प्रयोगकर्ताको गोपनीयतामा अझै जोखिम रहेको देखिएको छ । संयुक्त अधिराज्य (यूके) सरकारले एप्पल, ह्वाट्सएप र सिग्नल जस्ता कम्पनीहरूसँग इन्क्रिप्टेड मेसेजमा पहुँच मागिरहेको छ । त्यस्तै अमेरिकी सरकारले ह्वाट्सएपको सुरक्षा दाबीहरूमाथि अनुसन्धान गरिरहेको छ भने प्रोटोन र सिग्नलका प्रयोगकर्ताहरू व्यक्तिगत रूपमा ह्याकरको निसानामा परिरहेका छन् ।
यदि ह्याकरले व्यक्तिगत मेसेज पढ्न नसके पनि 'मेटाडेटा'बाट महत्त्वपूर्ण जानकारी निकाल्न सक्छन् । उदाहरणका लागि 'साल्ट टाइफुन' (Salt Typhoon) नामक ह्याकिङ ग्रुपले लोकेसन र फोन नम्बर जस्ता विवरणहरू सङ्कलन गरेर करोडौँ अमेरिकीहरूको डेटामा पहुँच पुर्याएको प्रतिवेदनहरूले देखाएका छन् ।
होपन्च (Holepunch) द्वारा विकसित र टेदरका सीईओ पाओलो अर्दोइनो तथा माथियास बुसद्वारा सह-संस्थापित 'किट' एपले परम्परागत एपहरूको तुलनामा पूर्णतः फरक बाटो रोजेको छ । यो एप पूर्ण रूपमा इन्ड-टु-इन्ड इन्क्रिप्टेड छ र 'पियर-टु-पियर' प्रोटोकलमा चल्छ । यसको अर्थ यो एप सञ्चालन गर्न कुनै सर्भर वा तेस्रो पक्षको आवश्यकता पर्दैन ।
यसले 'होलपन्चिङ' (Holepunching) प्रविधि प्रयोग गर्छ, जसले दुईवटा उपकरणहरूबिच सिधै, प्रभावकारी र छेडछाड गर्न नसकिने (Tamper-proof) कनेक्सन स्थापित गर्छ । सबैभन्दा रोचक कुरा त के छ भने किटले प्रयोगकर्ताको फोन नम्बर वा लगइन विवरण माग्दैन । यसको सट्टा क्रिप्टो वालेटमा जस्तै '२४-शब्दको सिड फ्रेज' (24-word seed phrase) प्रयोग गरिन्छ, जसले गर्दा यो अन्य एपभन्दा धेरै सुरक्षित हुन्छ ।
किट प्रयोगकर्ताहरूले कुनै पनि क्लाउड सर्भरमा निर्भर नभई मेसेज र फाइल ट्रान्सफर (जस्तोसुकै ठुलो आकारको फाइल पनि), एक-देखि-एक (1-to-1) र सामूहिक भिडिओ कल र ब्रोडकास्ट रुम जस्ता सुविधा लिन सक्छन् ।
यसका साथै होलपन्चले निकट भविष्यमै यो एपमा सिधै बिटकोइन ट्रान्सफर गर्ने सुविधा र अन-डिभाइस एआई फिचरहरू जस्तै 'अनुवाद' (Translation) थप्ने घोषणा गरिसकेको छ ।
किट एपलाई होलपन्चको गोपनीयतामा आधारित पियर-टु-पियर स्ट्याक 'पियर रनटाइम' प्रयोग गरेर बनाइएको हो । यो प्लेटफर्ममा अन्य एपहरू पनि निर्माण भइरहेका छन् । जस्तै PearPass नामक पासवर्ड म्यानेजर, WhereFam नामक लोकेसन शेयरिङ एप रहेका छन् । त्यस्तै टेदरको आफ्नै 'क्वान्टमभर्स अटोमेटिक कम्प्युटर' (QVAC) अन्तर्गतका एआई एपहरू 'क्युभ्याक वर्कबेन्च' र 'क्युभ्याक हेल्थ' समेत यसमा समावेश छन् ।
यी एआई एपहरू विशाल केन्द्रीकृत सर्भर फार्मको सट्टा प्रयोगकर्ताको आफ्नै डिभाइसमा तालिम दिइने र चल्ने गरी बनाइएका छन् । जसले गर्दा डेटा बढी सुरक्षित हुन्छ ।
टेदरका सीईओ पाओलो अर्दोइनोका अनुसार यो प्रयास एउटा वैकल्पिक अभियान हो । जहाँ डेटा र गणना (Compute) केन्द्रीकृत क्लाउडको सट्टा व्यक्तिगत डिभाइसमा हुन्छ । अर्दोइनो भन्छन्, "हामीले किटलाई अधिकतम लचिलोपन, नरोकिने सञ्चार र वित्तका लागि विकास गरेका हौँ । किनकि यदि तपाईँसँग आर्थिक स्वतन्त्रता छ तर वाक स्वतन्त्रता छैन भने तपाईँ वास्तवमै स्वतन्त्र हुनुहुन्न ।"
उनी किटलाई विश्वकै सबैभन्दा बढी चिनिएको र सम्मानित सञ्चार एप बनाउने लक्ष्यमा छन् । प्रविधि क्षेत्रका केही सीमित दिग्गजहरूको नियन्त्रणमा रहेको डिजिटल पूर्वाधारको विकल्पमा किटले प्रयोगकर्तालाई बढी नियन्त्रण, स्वतन्त्रता र सुरक्षा दिने दाबी गरिएको छ ।
यो एप प्रयोग गर्न चाहनेहरूले keet.io/download बाट डाउनलोड गरी सर्भररहित सञ्चारको अनुभव लिन सक्नेछन् । त्यस बाहेक सोझै यहाँ क्लिक गरेर एन्ड्रोइड एप र यहाँ क्लिक गरेर आईओएस डाउनलोड गर्न सक्नु हुनेछ ।
पछिल्लो अध्यावधिक: चैत ३०, २०८२ ९:५
