काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले प्रविधिको दुरुपयोग गरी सर्वसाधारणको बैंक खाताबाट रकम चोरी हुने घटना बढेको भन्दै जथाभावी ‘स्क्रिन शेयर’ नगर्न सचेत गराएको छ । अपरिचित व्यक्तिलाई मोबाइल वा कम्प्युटरको स्क्रिन शेयर गर्न दिँदा व्यक्तिगत र वित्तीय गोपनीयता भङ्ग भई बैंक खाता नै रित्तिन सक्ने जोखिम देखिएपछि प्रहरीले यस्तो चेतावनी दिएको हो ।
सोमबार एक सन्देशमूलक भिडिओ सार्वजनिक गर्दै प्रहरीले सामाजिक सञ्जालमा देखिने शंकास्पद विज्ञापन र अपरिचित व्यक्तिले पठाउने लिङ्कहरूमा क्लिक नगर्न सर्वसाधारणलाई सुझाव दिएको छ ।
प्रहरीको अनुसन्धानका अनुसार ठगी गर्ने गिरोहले सुरुमा सामाजिक सञ्जालमा आकर्षक र सस्तो मूल्यमा सामान बिक्रीको विज्ञापन राख्ने र अर्डर गरेपछि ‘डेलिभरी चार्ज’ तिर्न लगाउने गरेको पाइएको छ । त्यसपछि, प्राविधिक समस्याका कारण रकम ‘होल्ड’ भएको बहाना बनाउँदै उक्त रकम फिर्ता गरिदिने प्रलोभनमा ग्राहकलाई मोबाइलको स्क्रिन शेयर गर्न लगाउने र सोही माध्यमबाट बैंक खाताको मौज्दात, ओटीपी एवं अन्य गोप्य विवरण प्राप्त गरी रकम चोरी गर्ने गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै, ठगहरूले क्यूआर कोड स्क्यान गर्न लगाई रकम उल्लेख गर्ने ठाउँमा ‘यो कोड हो’ भन्दै झुक्काएर अङ्क राख्न लगाउने र सोही प्रक्रियाबाट ग्राहककै बैंक खाताबाट रकम ट्रान्सफर गर्ने नयाँ शैली अपनाएको समेत पाइएको छ ।
यस्ता डिजिटल ठगीबाट बच्न प्रहरीले अपरिचित व्यक्तिले पठाएका कुनै पनि शंकास्पद लिङ्क क्लिक नगर्न र विभिन्न बहानामा स्क्रिन शेयर गर्न लगाउने व्यक्तिहरूप्रति विशेष सचेत रहन सर्वसाधारणमा आग्रह गरेको छ ।
पछिल्लो अध्यावधिक: चैत ३०, २०८२ १८:४६
