स्मार्ट चस्मामा अनुहार पहिचान गर्ने प्रविधि राख्दै मेटा, यौन अपराधीको घातक हतियार बन्नसक्ने चिन्ता
बैशाख १, २०८३ ८:४७
काठमाडौँ । मेटा कम्पनीले आफ्ना रे-बान र ओक्ले स्मार्ट चस्माहरूमा अनुहार पहिचान गर्ने (फेसियल रिकग्निसन) प्रविधि समावेश गर्ने योजना बनाएपछि विश्वभरका मानवअधिकार र नागरिक स्वतन्त्रतावादी समूहहरूले यसको तीव्र विरोध गरेका छन् । ७० भन्दा बढी संस्थाहरूको गठबन्धनले यो फिचरले यौन अपराधी, पिछा गर्ने व्यक्ति (Stalkers) र सरकारी एजेन्टहरूलाई सार्वजनिक स्थानमा जोसुकैलाई पनि चुपचाप पहिचान गर्ने शक्ति प्रदान गर्ने चेतावनी दिएका छन् ।
मेटाभित्र 'नेम ट्याग' (Name Tag) नामले चिनिने यो फिचर स्मार्ट चस्मामा जडान गरिएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) असिस्टेन्ट मार्फत सञ्चालन हुन्छ । यसले चस्मा लगाउने व्यक्तिको अगाडि रहेका अपरिचितहरूको जानकारी तुरुन्तै निकाल्न मद्दत गर्छ । प्रतिवेदनहरूका अनुसार मेटाका इन्जिनियरहरूले यसका दुईवटा संस्करणहरूमा काम गरिरहेका छन् ।
एउटा हो, प्रयोगकर्तासँग मेटाका प्लेटफर्महरूमा पहिले नै जोडिएका व्यक्तिहरूलाई मात्र पहिचान गर्ने । अनि अर्को, इन्स्टाग्राम जस्ता सेवाहरूमा 'पब्लिक अकाउन्ट' भएका जोसुकै व्यक्तिलाई पहिचान गर्न सक्ने विस्तृत संस्करण ।
एसीएलयू, इलेक्ट्रोनिक प्राइभेसी इन्फर्मेसन सेन्टर, फाइट फर द फ्युचर र एक्सेस नाउ लगायतका संस्थाहरूले मेटाका सीईओ मार्क जुकरबर्गलाई पत्र लेख्दै यो फिचरले यौन हिंसाका पीडित, आप्रवासी र एलजीबीटीक्यू समुदायका व्यक्तिहरूलाई जोखिममा पार्ने बताएका छन् । उनीहरूका अनुसार सार्वजनिक स्थानमा हिँडिरहेका मानिसहरूले आफ्नो पहिचान खुल्ने कुरामा सहमति दिने कुनै माध्यम हुँदैन ।
स्क्यामर र अपराधीहरूले यो प्रविधिको प्रयोग गरी मानिसहरूको नाम, बानी, शौक, सम्बन्ध, स्वास्थ्य र व्यवहारसँग जोडिएका डेटाहरू सङ्कलन गर्न सक्ने भन्दै गठबन्धनले चेतावनी दिएको छ । इपिकले सङ्घीय व्यापार आयोगलाई पत्र लेख्दै यो प्रविधिले प्रदर्शन स्थल, पूजास्थल र मेडिकल क्लिनिकहरूमा मानिसहरूको गोपनीयता र पहिचान लुकाउने कार्य (Anonymity) लाई पूर्ण रूपमा समाप्त गरिदिने उल्लेख गरेको छ ।
न्युयोर्क टाइम्सले फेला पारेको मेटाको 'रियालिटी ल्याब्स' को मे २०२५ को एउटा आन्तरिक मेमो अनुसार कम्पनीले यो फिचरलाई यस्तो समयमा सार्वजनिक गर्ने योजना बनाएको छ, जब नागरिक समाजका संस्थाहरू अन्य राजनीतिक मुद्दाहरूमा केन्द्रित हुनेछन् । मेटाले 'गतिशील राजनीतिक वातावरण'को फाइदा उठाउँदै विरोधलाई कम गर्ने दाउ हेरेको छ । नागरिक समूहहरूले यसलाई 'घृणित व्यवहार' भन्दै मेटाले बढ्दो अधिनायकवाद र विधिको शासनप्रतिको बेवास्ताको फाइदा उठाउन खोजेको आरोप लगाएका छन् ।
मेटाका प्रवक्ताले भने आफ्ना प्रतिस्पर्धीहरूले यस्तो उत्पादन दिए पनि मेटाले हालसम्म नदिएको दाबी गरेका छन् । उनले भनेका छन्, "यदि हामीले यस्तो फिचर ल्याउने भयौँ भने, हामी निकै विचारशील दृष्टिकोण अपनाउनेछौँ ।" यद्यपि, स्मार्ट चस्मा उत्पादन गर्ने कम्पनी 'एसिलोरलक्सोटिका' ले यसबारे कुनै टिप्पणी गरेको छैन ।
मेटाले फेसियल रिकग्निसन र बायोमेट्रिक गोपनीयताका कारण विगतमा पनि ठुलो कानुनी मूल्य चुकाएको छ । इलिनोइस र टेक्सस राज्यमा प्रयोगकर्ताको अनुमति बिना अनुहारको विवरण सङ्कलन गरेको आरोपमा मेटाले करिब २ अर्ब डलरको सेटलमेन्ट तिरेको थियो । सन् २०१९ मा गोपनीयता उल्लङ्घनकै मुद्दामा मेटाले एफटीसीलाई ५ अर्ब डलर जरिबाना बुझाएको थियो, जुन एजेन्सीको इतिहासकै सबैभन्दा ठुलो जरिबाना थियो ।
हालै लस एन्जलसको एक जुरीले इन्स्टाग्राम र युट्युबको हानिकारक डिजाइनका कारण ६० लाख डलर क्षतिपूर्ति तिर्न आदेश दिएको छ । त्यस्तै म्यासाचुसेट्सको सर्वोच्च अदालतले पनि हालै एउटा फैसला गर्दै मेटालाई युवा प्रयोगकर्ताहरूलाई लत लगाउने गरी फिचर डिजाइन गरेको आरोपमा उपभोक्ता संरक्षण मुद्दाबाट उन्मुक्ति नहुने स्पष्ट पारेको छ ।
गठबन्धनले मेटालाई यो फिचर पूर्ण रूपमा खारेज गर्न माग गरेको छ । साथै मेटाका उपकरणहरू स्टकिङ, उत्पीडन वा घरेलु हिंसामा प्रयोग भएको कुनै पनि घटना भए सो खुलासा गर्न, र आईसीई वा सीबीपी जस्ता सङ्घीय एजेन्सीहरूसँग भएका छलफलहरू सार्वजनिक गर्न पनि दबाब दिएको छ । उनीहरूले कुनै पनि उपभोक्ता उपकरणमा बायोमेट्रिक पहिचान जडान गर्नुअघि स्वतन्त्र गोपनीयता विज्ञहरूसँग परामर्श गर्न मेटालाई आग्रह गरेका छन् ।
पछिल्लो अध्यावधिक: बैशाख १, २०८३ ८:४७
