काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले नेकपा एमालेका अध्यक्ष एवमं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखक जोडिएको ज्यान सम्बन्धी कसुरको अनुसन्धानबारे सञ्चार माध्यममा प्रसारित सामग्रीप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै परिसरले ‘सिधाकुरा’ नामक युट्युब च्यानलबाट प्रसारित सामग्री भ्रामक र अनर्गल भएको दाबी गरेको हो ।
परिसरका अनुसार ओली र लेखक उपर दर्ता भएको ज्यान सम्बन्धी कसुरमा सर्वोच्च अदालतको परमादेश र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको निर्देशन अनुसार ‘माथवर व्यक्तिको जमानी’ मा राखेर अनुसन्धान कार्य भइरहेको छ ।
विज्ञप्तिमा भनिएको छ, “२०८२ चैत्र ३० मा ‘ओली लेखकको अनुसन्धानमा झेल ?’ भन्ने शीर्षकमा सिधाकुरा नामक युट्युब च्यानलमा प्रसारित १२ मिनेट ४२ सेकेन्ड अवधिको श्रव्य दृश्य सामाग्रीमा अभिव्यक्त धारणा र सूचनामा ध्यानाकर्षण भएको छ ।”
परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जारी गरेको विज्ञप्तिमा उक्त भिडिओले जिम्मेवार प्रहरी अधिकृतहरूलाई जोडेर कपोलकल्पित सूचना सम्प्रेषण गरेको उल्लेख छ ।
प्रहरीले अनुसन्धान प्रक्रिया स्वतन्त्र, विधिसम्मत र सरकारी वकिल कार्यालयको कानुनी राय परामर्शमा भइरहेको दाबी गरेको छ ।
जनमानसमा गलत जानकारी प्रवाह हुने गरी यस्ता भ्रामक र अप्रमाणित सूचना सिर्जना एवं प्रसारण नगर्न प्रहरीले सम्बन्धित सबैलाई अनुरोध समेत गरेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १, २०८३ १८:१९
