close

अब वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अनलाइनबाटै एनओसी लिन सक्ने

टेकपाना टेकपाना

बैशाख ६, २०८३ १५:१७

अब वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अनलाइनबाटै एनओसी लिन सक्ने

काठमाडौँ । अब 'नो अब्जेक्सन सर्टिफिकेट' (एनओसी) लिनका लागि शिक्षा मन्त्रालयको एनओसी शाखामा भौतिक रूपमा उपस्थित भइरहनु पर्ने झन्झट अन्त्य भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो सेवालाई पूर्ण रूपमा 'फेसलेस' (प्रविधिको माध्यमबाट घरैबाट सेवा लिन सकिने) बनाएको हो ।

यससँगै वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरूले अब घरमै बसेर अनलाइनमार्फत एनओसीका लागि आवेदन दिन सक्नेछन् । आवेदन स्वीकृत भएपछि आफ्नो प्रमाणपत्र आफैँले डाउनलोड गरेर प्रिन्ट गरी प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ ।

यसअघि स्नातकोत्तर वा सोभन्दा माथिल्लो तहको अध्ययनका लागि जान चाहने विद्यार्थीले विश्वविद्यालयको प्रमाणपत्र रुजु गर्न कार्यालयमै जानुपर्ने बाध्यता थियो । तर अहिले एनओसी शाखाले त्रिभुवन विश्वविद्यालय (त्रिवि) र काठमाडौँ विश्वविद्यालय (केयू) सँग प्रणाली (API Integration) जोडिसकेको छ । यसले गर्दा विद्यार्थीको रजिस्ट्रेसन नम्बर र जन्ममितिका आधारमा प्रणालीले स्वतः विवरणहरू रुजु गर्नेछ ।

प्रमाणपत्रमा क्यूआर कोड राखिएको छ । जसलाई स्क्यान गरेर यसको आधिकारिकता जाँच्न सकिन्छ । साथै राजस्व पनि अनलाइनमार्फत नै तिर्ने व्यवस्था मिलाइएको छ ।

नागरिकताको विवरणका लागि गृह मन्त्रालयको प्रणाली र कक्षा १२ को विवरणका लागि एनईबीको प्रणालीसँग एनओसीको पोर्टललाई जोडिएको छ । यदि आवेदकको विवरण यी प्रणालीहरूसँग मेल खाएमा विवरण रुजु गर्न कार्यालय जानु पर्ने छैन ।

यो व्यवस्था लागु गर्न एनओसी शाखाले यही वैशाख ४ गते त्रिविसँग सम्झौता गरेको थियो भने केयूसँग यसअघि नै सम्झौता भइसकेको थियो । अब वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूले समय बचत गर्दै प्रविधिको प्रयोगबाट सहजै एनओसी प्राप्त गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: बैशाख ६, २०८३ १५:४७