ह्वावे ब्यान्ड ११ सिरिज नेपाली बजारमा, १० हजार पर्ने वेयरेबलमा के-के छन्, फिचर ?
बैशाख ६, २०८३ १६:४
काठमाडौँ । चिनियाँ प्रविधि कम्पनी ह्वावेले नेपालमा आफ्नो नयाँ स्मार्ट वेयरेबल सिरिज ह्वावे ब्यान्ड ११ सार्वजनिक गरेको छ । स्वास्थ्य, फिटनेस र दैनिक जीवनलाई सहज बनाउने लक्ष्यसहित ल्याइएको यो सिरिज नेपाली बजारमा औपचारिक रूपमा भित्रिएको हो ।
कम्पनीले प्रोडक्ट लन्चको अवसरमा 'रन विथ दि विट’ (Run with the Beat) नामक विशेष कार्यक्रम आयोजना गरेको थियो । मेल्टडाउनसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा फिटनेस, म्युजिक र प्रविधिलाई एउटै प्लेटफर्ममा जोड्दै सहभागीहरूलाई नयाँ अनुभव दिइएको कम्पनीले जनाएको छ ।

नयाँ ब्यान्डमा प्रयोगकर्ताको स्वास्थ्य र फिटनेस ट्रयाक गर्नका लागि विभिन्न स्मार्ट फिचरहरू यसमा समावेश गरिएका छन् । यसमा निन्द्राको, मुटुको धड्कन, रगतमा अक्सिजनको मात्रा (SpO₂), तनाव र भावनात्मक अवस्थाको निगरानी जस्ता सुविधा छन् । साथै १०० भन्दा बढी वर्कआउट मोड, २४ सै घण्टा स्वास्थ्य निगरानी र १४ दिनसम्म चल्ने ब्याट्री लाइफ पनि यसमा उपलब्ध छ ।
यो ब्यान्ड ह्वावे हेल्थ एपसँग कनेक्ट भएर प्रयोगकर्तालाई व्यक्तिगत स्वास्थ्य सम्बन्धी सुझाव र डेटा उपलब्ध गराउने कम्पनीले जनाएको छ । नेपालमा ब्यान्ड ११ (Polymer) को ९ हजार ९९० रुपैयाँ, ब्यान्ड ११ (Light Aluminum Alloy) को ११ हजार ९९० रुपैयाँ र ब्यान्ड ११ प्रोको १४ हजार ९९० रुपैयाँ तोकिएको छ । कम्पनीले यस उत्पादनमार्फत प्रयोगकर्ताको दैनिक जीवनलाई अझ सहज र स्मार्ट बनाउने लक्ष्य राखेको जनाएको छ।
पछिल्लो अध्यावधिक: बैशाख ६, २०८३ १६:१३
