काठमाडौँ । बिहीबार (१६ अप्रिल) दिउँसो एकाएक श्रम संस्कृति पार्टीका संस्थापक तथा सांसद हर्क साम्पाङको १४ लाख बढी फलोअर रहेको फेसबुक पेज गायब भयो । पेज सस्पेन्ड भएपछि फेसबुकमा उही नामका अनेकौँ नयाँ पेज सक्रिय भए । ती पेजहरूमा हर्क साम्पाङकै शैलीका पोस्टहरू राखिएका छन् । यसरी फेक पेजहरू सक्रिय हुँदा साम्पाङको बाँकी रहेको वास्तविक फेसबुक अकाउन्ट भने छायाँमा परेको छ ।
हाल निकै सक्रिय फेसबुक पेजमध्ये एक हो ३५ हजार फलोअर्स रहेको ‘Harka Sampang A Revolution’ । यो पेजले साम्पाङकै शैलीमा चीन र अमेरिकाको बारेमा विवादास्पद अभिव्यक्ति सहितका पोस्ट राख्ने गरेको छ । पुरानो पेज बन्द भएपछि सोही नाममा नयाँ पेज खोलेको समेत दाबी यो पेजमा गरिएको छ ।

यो पेजको इन्ट्रोमा लेखिएको छ, “यो पेज पुरानो id recover भईन्जेल सम्मको लागी मात्र हो ।” तर, पेजको ट्रान्सपरेन्सी हेर्दा ‘हर्क साम्पाङ अ रिभोलुसन’ नाम चाहिँ १७ अप्रिल अर्थात् हर्क साम्पाङको ओरिजिनल पेज गायब भएको भोलिपल्ट फेरेर राखेको देखियो ।
त्यसभन्दा पहिला भने यो पेजको नाम ‘Jobless Engineer’ रहेको देख्न सकिन्छ । २३ जुलाई २०१७ मा खुलेको यो पेजको नाम सुरुमा ‘Lucky Prince Nishan’ रहेको थियो । त्यसपछि पाँच पटकसम्म पेजको नाम परिवर्तन गर्दै हाल हर्क साम्पाङ अ रिभोलुसन राखिएको हो ।
साम्पाङको नाम राख्नु अघि दैनिक एक दुईवटा मात्र भाइरल सामग्री आउने यो पेज पछिल्लो समय भने निकै सक्रिय छ । हेर्नुहोस् पेज ट्रान्सपरेन्सीको स्क्रिनशट ।

हर्क साम्पाङ दाबी गर्दै ११ हजार फलोअर्स सहितको ‘Harka Sampang A Revolution’ नामकै अर्को पेज पनि सक्रिय रहेको पाइयो । यो पेजको इन्ट्रोमा नै हर्क साम्पाङको परिचय दिँदै ‘Member of parliament श्रम संस्कृति पार्टी’ लेखिएको छ ।
यो पेजमा १७ अप्रिलपछि शेयर र पोस्ट गरिएका सामग्रीमात्र सबैले हेर्न मिल्ने बनाइएको छ । १७ अप्रिलमा गरिएको एउटा पोस्टमा भनिएको छ, “पुरानो आइडी धेरै रिपोर्ट परेको कारण नखुल्ने भएको छ , त्यसैले सबैले follow गरेर जोडिनु होला जय देश जय माटो।”

उक्त पेजको ट्रान्सपरेन्सी हेर्दा ५ नोभेम्बर २०२५ ‘Harka Sampang A Revolution’ नाममा खुलेको पाइयो । पेज खुलेकै दिन नाम परिवर्तन गरेर ‘शिक्षा सन्देश’ राखिएकोमा त्यसलाई १७ अप्रिल (हर्कको आईडी गायब भएको भोलिपल्ट) मात्र हर्कको नाममा परिवर्तन गरिएको हो ।

१७ अप्रिलमै ‘ताजा घ्यु पनिर’ नामक फेसबुक पेजले पनि नाम परिवर्तन गरेर ‘Hark Sampang A Revolution’ राखेको भेटियो । २ अक्टोबर २०२० मा खुलेको यो पेजको नाम सुरुमा ‘वैदेशिक रोजगार सम्बन्धी जानकारी’ हुँदै ‘Nepal Leather House’, ‘पञ्चधातु Basundhara Accosseries’, ‘Mechinary Suppliers Nepal हुँदै फेरिँदै आएको छ । पछिल्लो समय ताजा घ्यु पनिर राखिएकोमा त्यसलाई परिवर्तन गर्दै हर्क साम्पाङको नाम दिइएको हो ।
सो पेजले शनिबार बिहान १०:०३ मा साम्पाङको पुरानो आईडी गायब भएको सन्दर्भलाई खुलाउँदै लेखेको थियो, “आज पनि I’d फिर्ता भएन भने माइतीघर मा बस्छु ।” सो पोस्टलाई यो सामग्री तयार पार्दा सम्म २६ हजार ९०० भन्दा धेरैले रियाक्ट गरेका छन् भने १४६ पटक शेयर गरेका छन् ।

करिब २२ सय फलोअर्स रहेको अर्को पेजले पनि हर्कको पेज गायब भएकै दिन नाम परिवर्तन गरेर ‘Harka Sampan A Revolution’ राखेको छ । ३१ अगस्ट २०२५ देखि १६ अप्रिल २०२६ सम्म उक्त पेज ‘Japan Ka Kura’ नाममा सञ्चालनमा रहेको थियो ।
२३ नोभेम्बर २०१६ मा ‘Japan Ka Kura’ नामबाट खुलेको यो पेजको नाम ६ पटक परिवर्तन भइसकेको छ ।

सक्कली अकाउन्टमा २५ हजार फलोअर
यता फेसबुक पेज सस्पेन्ड भएपछि साम्पाङ भने ‘Harka Sampang Shram Sanskriti (संवाहक)’ नामक फेसबुक अकाउन्टमा सक्रिय छन् । सन् २०११ देखि नै सक्रिय साम्पाङको यो फेसबुक अकाउन्टलाई हालसम्म २५ हजारभन्दा धेरैले फलो गरेका छन् ।
सोही फेसबुक अकाउन्टमा मात्र साम्पाङ सक्रिय रहेको श्रम संस्कृति पार्टीका नेता रसिक थेबेले बताए । उनले भने, “उहाँको पुरानो फेसबुक पेज फिर्ता ल्याउने प्रयास भइरहेको छ । यस्तो बेलामा उहाँले आफ्नो पुरानो फेसबुक अकाउन्ट चलाइरहनु भएको हो । उहाँले अरू कुनै नयाँ फेसबुक अकाउन्ट वा पेज खोल्नु भएको छैन ।”
पेज गायब भएको मौका पारेर फेक आईडी खोल्ने क्रम बढिरहेको उनले टेकपानालाई बताए । थेबेले भने, “अध्यक्ष ज्यूको नाममा धेरै फेक आईडी खुलिरहेका छन् । प्रायः सबै आईडीले आफैँलाई हर्क साम्पाङ भएको दाबी समेत गरेका छन् । हामीले देखेका फेक आईडीका विवरण टिपिरहेका पनि छौँ । तर उहाँ अहिले कुनै पेजमा सक्रिय हुनुहुन्न ।”
हर्क साम्पाङको सक्कली पेज सस्पेन्ड हुँदा नक्कली पेजपनि गायब
हर्क साम्पाङको ओरिजिनल फेसबुक पेज ‘Harka Sampang A revolution’ कायम नै रहेको अवस्थामा सोही नाममा पाँच लाख भन्दा धेरै फलोअर्स रहेको अर्को फेक फेसबुक पेज सक्रिय थियो । सो पेजले साम्पाङको ओरिजिनल पेजमा सार्वजनिक पोस्ट तथा भिडिओहरू कपि गरेर हाल्ने गरेको थियो भने साम्पाङले राखेका बाहेकका विवादास्पद विषयका समेत पोस्ट गर्दै आएको थियो । अहिले भने साम्पाङको ओरिजिनल पेजसँगै उक्त फेक पेज समेत गायब छ । उक्त पेज नक्कली रहेको बारेमा टेकपानाले लेखेको समाचार यहाँ पढ्न सक्नुहुन्छ ।
तर, साम्पाङका नाममा खुलेका पुराना अन्य कयौँ फेक पेजहरू भने अझै सक्रिय छन् । यस्ता नक्कली पेजहरूबाट भ्रामक सूचना फैलने सम्भावना उच्च रहेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ७, २०८३ १०:५३
