'एआई फर गुड नेसनल कम्पिटिसन २०२६' को आयोजना गर्दै रोबोटिक एसोसियसन, भोलि थिम सार्वजनिक हुने
बैशाख ८, २०८३ १०:४
काठमाडौँ । रोबोटिक्स एसोसिएसन अफ नेपाल (र्यान) ले एआई फर गुड (AI for Good) विश्वव्यापी पहल अन्तर्गत 'एआई फर गुड नेसनल कम्पिटिसन २०२६' को आयोजना गर्ने भएको छ । भोलि (९ बैशाखमा) यस प्रतियोगिताको आधिकारिक थिम सार्वजनिक गर्ने र राष्ट्रिय स्तरमा यसको औपचारिक सुरुवात हुने बताइएको छ ।
मुख्य प्रतियोगिता भने आगामी ११-१३ बैशाखसम्म सञ्चालन हुनेछ । यस राष्ट्रिय प्रतियोगिताको मुख्य उद्देश्य देशभरका युवा प्रतिभाहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरेर वास्तविक संसारका चुनौतीहरूलाई सम्बोधन गर्ने नवीन र सिर्जनशील समाधानहरू विकास गर्न प्रेरित गर्नु हो ।
गत वर्ष स्विट्जरल्याण्डको जेनेभामा भएको यस प्रतियोगिताको अन्तर्राष्ट्रिय संस्करणमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो । जसमध्ये ३५ देशहरू सहभागी भएको जुनियर समूहमा नेपालले दोस्रो स्थान र सिनियर समूहमा तेस्रो स्थान हासिल गर्न सफल भएको थियो ।
यो कार्यक्रम अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (ITU) को नेतृत्वमा ४० भन्दा बढी संयुक्त राष्ट्र सङ्घका साझेदार संस्थाहरूको सहकार्यमा सञ्चालित विश्वव्यापी 'एआई फर गुड' प्लेटफर्मको एक अङ्ग हो । नेपालमा यस पहलको नेतृत्व रोबोटिक्स एसोसिएसन अफ नेपाल (RAN) ले राष्ट्रिय साझेदारको रूपमा गरिरहेको छ ।
यो प्रतिस्पर्धाले नेपालका युवाहरूलाई प्रविधिको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको मञ्च प्रदान गर्ने र एआईको माध्यमबाट सामाजिक हितका कार्यमा लाग्न प्रोत्साहित गर्ने विश्वास लिइएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख ८, २०८३ १०:४
