close

सामाजिक सञ्जालमा वैदेशिक रोजगारीका भ्रामक विज्ञापन गर्नेलाई १ वर्ष कैदसँगै १० हजार जरिबाना

टेकपाना टेकपाना

बैशाख ९, २०८३ ८:१७

सामाजिक सञ्जालमा वैदेशिक रोजगारीका भ्रामक विज्ञापन गर्नेलाई १ वर्ष कैदसँगै १० हजार जरिबाना

काठमाडौँ । सामाजिक सञ्जाल मार्फत् वैदेशिक रोजगारी सम्बन्धी विषयमा सामाजिक सञ्जालमा भ्रामक विज्ञापन गर्ने गराउनेलाई सरकारले कारबाहीको दायरामा ल्याउने भएको छ । सोमबार एक सूचना प्रकाशित गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको विज्ञापन बोर्डले यस्तो चेतावनी दिएको हो ।

आकर्षक रोजगारीको प्रलोभन देखाई टिकटक, फेसबुक, ह्वाट्सएप लगायतका माध्यमबाट विज्ञापन गरी विश्वका विभिन्न देशमा कामदार लग्ने र उनीहरूलाई अनलाइन स्क्यामिङको ठगी धन्दामा लगाएका घटनाहरू पछिल्लो समय बढ्दै गएका छन् । यस विषयमा विभिन्न देशमा अवस्थित नेपाली दूतावासबाट परराष्ट्र मन्त्रालय मार्फत उजुरी समेत प्राप्त भएको बोर्डले जनाएको छ ।

मानव तस्करीमा संलग्न व्यक्तिहरूले नेपाली युवायुवतीहरूलाई भ्रममा पारी सामाजिक सञ्जाल मार्फत ठग्ने गरेको पाइएको छ । यसरी सामाजिक सञ्जाल मार्फत ठगी, प्रलोभन र भ्रममा परेर विभिन्न मुलुकमा बेवारिसे अवस्थामा रहेका युवायुवतीहरूको उद्धार विभिन्न देशमा रहेका नेपाली दूतावासमार्फत हुँदै आइरहेको छ । यस्तोमा वैदेशिक रोजगार विभागबाट अनुमति/इजाजतपत्र प्राप्त कम्पनी मार्फत मात्र वैदेशिक रोजगारीमा जान बोर्डले अनुरोध समेत गरेको छ ।

"सामाजिक सञ्जालमा प्रकाशित भ्रमपूर्ण विज्ञापनको भरमा नपर्न सर्वसाधारणलाई अनुरोध गरिन्छ," बोर्डले भनेको छ । वैदेशिक रोजगार ऐन, २०६४ को दफा १६ र वैदेशिक रोजगार नियमावलीको दफा १४ विपरीत विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न नगराउन समेत बोर्डले सबैमा अनुरोध गरेको छ ।

जसमा वैदेशिक रोजगार सम्बन्धी विज्ञापन नियमनको विषय समावेश छ । यसैगरी विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ५ (२) (ञ) ले समेत भ्रम वा अफवाह फैलाउने विज्ञापन गर्न नहुने व्यवस्था गरेको छ । विज्ञापन ऐन र वैदेशिक रोजगार ऐन तथा नियमावली विपरीत विज्ञापन भए गरेको पाइएमा तत्काल उजुरी दिन समेत बोर्डले आह्वान गरेको छ ।

त्यस्ता भ्रम वा अफवाह फैलाउने तथा ठगी गर्ने उद्देश्यले प्रकाशित तथा प्रसारित विज्ञापन तत्काल हटाउन र भविष्यमा त्यस्ता कार्य नगर्न/नगराउन सचेत गराउँदै विज्ञापन बोर्डले त्यस्ता कार्य भए गरेको पाइएमा विज्ञापन नियमन ऐनको दफा २५ बमोजिम कारबाही हुने स्पष्ट पारेको छ ।

विज्ञापन बोर्डले उल्लेख गरेको दफा अनुसार भ्रम वा अफवाह फैलाउने, उत्तेजना फैलाउने वा अन्य यस्तै अमर्यादित व्यवहार गर्ने कसुरमा त्यस्तो कसुर गर्ने र गराउनेलाई प्रचलित कानूनले कुनै सजाय हुने रहेछ भने सोही बमोजिम र सो नभएमा १ वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना हुनसक्छ ।

पछिल्लो अध्यावधिक: बैशाख ९, २०८३ ८:१७