close

सामाजिक सञ्जालमा स्वास्थ्य बीमा बोर्डको नाममा फेक अकाउन्टको बिगबिगी, २४ घण्टाभित्र नहटाए कारबाही

टेकपाना टेकपाना

बैशाख १०, २०८३ १०:१२

सामाजिक सञ्जालमा स्वास्थ्य बीमा बोर्डको नाममा फेक अकाउन्टको बिगबिगी, २४ घण्टाभित्र नहटाए कारबाही

 

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले आफ्नो नाम र लोगो दुरुपयोग गरी सञ्चालनमा रहेका अनधिकृत सामाजिक सञ्जाल पेज तथा ग्रुपलाई २४ घण्टाभित्र हटाउन चेतावनी दिएको छ । बोर्डले बुधबार एक सूचना जारी गर्दै अनधिकृत रूपमा सञ्चालित बोर्डका नामका नक्कली अकाउन्ट नहटाए कारबाही गर्ने कुरा स्पष्ट पारेको हो ।

खासगरी फेसबुक, टिकटक र युट्युब लगायतका प्लेटफर्ममा ‘नेपाल सरकार स्वास्थ्य बीमा बोर्ड’, ‘स्वास्थ्य बीमा कार्यक्रम’ र ‘health insurance’ जस्ता नाममा अनधिकृत पेज सञ्चालन भइरहेको बोर्डको भनाइ छ । बोर्डका अनुसार त्यस्ता पेजबाट भ्रामक, तथ्यहीन र असम्बन्धित सूचना सम्प्रेषण भइरहेको छ ।

यस्ता क्रियाकलापले आम नागरिकमा भ्रम सिर्जना गरेको ठहर गर्दै बोर्डले त्यस्ता पेज सञ्चालकलाई तत्काल बन्द गर्न चेतावनी दिएको हो । बोर्डको सूचनामा भनिएको छ, “यस प्रकारका अनधिकृत सूचनाले आम नागरिकमा भ्रम सिर्जना गरेकाले यस्ता सम्पूर्ण पेज तथा ग्रुप सञ्चालन गर्ने सम्बन्धित व्यक्तिलाई यो सूचना प्रकाशित भएको मितिले २४ घण्टा भित्र त्यस्ता पेज तथा ग्रुप हटाउन (Delete गर्न) सूचित गरिन्छ ।” 

बोर्डले यो निर्देशन पालना नगरेको खण्डमा प्रचलित कानुन बमोजिम आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाउने स्पष्ट पारेको छ । यसैबिच बोर्डले सर्वसाधारणलाई भ्रमपूर्ण प्रचारको पछि नलाग्न आग्रह गर्दै आधिकारिक सूचनाका लागि आफ्ना भेरिफाइड सामाजिक सञ्जाल अकाउन्टमा मात्र भर पर्न अनुरोध गरेको छ । 

स्वास्थ्य बीमा बोर्डका आधिकारिक सामाजिक सञ्जाल

फेसबुकः facebook.com/hib.np

टिकटकः @health.insurance.board

युट्युबः @healthinsuranceboard

पछिल्लो अध्यावधिक: बैशाख १०, २०८३ १०:१४