थापाथलीको सुकुम्बासी बस्तीमा किन जडान गरियो ३६० डिग्री सीसीटिभी क्यामेरा ? यसो भन्छ प्रहरी
बैशाख ११, २०८३ १८:४१
सांकेतिक तस्बिर
काठमाडौँ । राजधानीको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुम्बासी बस्तीमा प्रहरीले ‘३६० डिग्री’ सीसीटिभी क्यामेरा जडान गरेको छ । बस्ती हटाउने तयारी भइरहेको बेला प्रहरीले शुक्रबार दिउँसो सो क्षेत्रमा सीसीटिभी क्यामेरा जडान गरेको हो ।
टेकपानासँगको कुराकानीमा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले यसलाई नियमित प्रक्रिया भएको बताएका छन् । “विगतको आन्दोलनका क्रममा प्रहरीले विभिन्न ठाउँमा राखेका क्यामेरा तोडफोड भए, चोरिए,” उनले भने, “अहिले प्रहरीले क्षति भएका विभिन्न वस्तुको पुनःसंरचना गरिरहेको छ । ती क्षेत्रमा पुनः सीसीटिभी क्यामेरा जडान गर्न थालिएको छ । यो नियमित प्रक्रिया हो ।”
सरकारले थापाथलीको सुकुम्बासी क्षेत्रमा बसोबास गर्ने नागरिकलाई शुक्रबार बेलुकासम्म ठाउँ खाली गर्न आग्रह गरेको छ । त्यहीबिच प्रहरीले शुक्रबार सो क्षेत्रमा क्यामेरा जडान थालेपछि यसलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले चर्चा भइरहेको छ । यसबारे स्पष्ट पार्दै एसपी भट्टराईले बस्ती हटाइने ठाउँमा सुरक्षा र निगरानीका लागि क्यामेरा राख्नु स्वाभाविक र उचित भएको बताए ।
“सुकुम्बासी बस्ती हटाइने भनिएको ठाउँमा प्रहरीले क्यामेरा राख्नु ठीक हो । भोलि त्यहाँ कुनै अवाञ्छित गतिविधि भयो भने उहाँहरूकै सुरक्षाका लागि, प्रमाण र निगरानीका लागि यो आवश्यक छ,” उनले भने ।
थापाथली क्षेत्र सार्वजनिक स्थल भएकाले सुरक्षा दृष्टिकोणले क्यामेरा जडान गरिएको उनले प्रष्ट पारे । सार्वजनिक ठाउँमा निगरानी गर्न, सुरक्षा अवस्था हेर्न र भोलि सवारी दुर्घटनालगायतका घटना हुँदा प्रमाण जुटाउन यसले सहयोग गर्ने उनको भनाइ छ । उनले थपे, “हामीले जति सकिन्छ बिस्तारै क्यामेरा जडान गर्दै जाने हो, भोलिको बस्ती हटाउने हकमा त्यहाँ क्यामेरा जडान भएको छ भने त्यो पनि राम्रै भयो ।”
पछिल्लो अध्यावधिक: बैशाख ११, २०८३ १९:६
