बडीमालिकामा साउनभित्रै टेलिफोन र इन्टरनेट सेवा, सगरमाथा आधार शिविरमा फोरजी विस्तारको अध्ययन हुँदै
साउन ८, २०८३ १६:१७
काठमाडौं । बाजुराको प्रसिद्ध पर्यटकीय क्षेत्र बडीमालिकामा साउन महिनाभित्रै टेलिफोन र इन्टरनेट सेवा सञ्चालनमा आउने भएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँगको शुक्रबारको छलफलमा नेपाल टेलिकमका अधिकारीहरूले यस महिना सेवा सुरु गर्ने प्रतिबद्धता जनाएका हुन् ।
समुद्री सतहबाट ४,२०० मिटर उचाइमा रहेको सो क्षेत्रमा सडक पहुँच नभएकाले टेलिफोन टावरका उपकरणहरू नेपाली सेनाको हेलिकप्टरमार्फत ढुवानी गर्ने तयारी गरिएको छ ।
टेलिकमले टावर निर्माणका लागि आवश्यक सामानहरू कैलालीको धनगढीसम्म पुगिसकेको जानकारी दिएको छ । हेलिकप्टरको प्रबन्ध हुनासाथ ती सामान बडीमालिका पुर्याएर काम सुरु गरिने उसको भनाइ छ ।
मन्त्री तिमिल्सिनाले बडीमालिकासँगै विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर क्षेत्रमा पनि फोरजी सेवा विस्तारका लागि अध्ययन अगाडि बढाइएको बताए ।
सञ्चारमन्त्री तिमिल्सिनाले प्रधानमन्त्रीका सूचना, सञ्चार तथा प्रविधि सल्लाहकार विवेक मिश्रसँग पनि दुर्गममा सेवा विस्तार गर्ने विषयमा छलफल गरे । छलफलका क्रममा डिजिटल पूर्वाधार विकासका साथै अनलाइन सट्टेबाजी (बेटिङ) एप बन्द गर्ने र अनलाइन ठगी नियन्त्रण गर्ने विषयमा समेत कुराकानी भएको थियो । यसैगरी, उनले बडीमालिका नगरपालिकाका नगरप्रमुख अमर बहादुर खड्कासँग स्थानीय पूर्वाधारको आवश्यकता र सडकको अवस्थाबारे जानकारी लिएका छन् ।
दुर्गम क्षेत्रलाई सञ्चारसँग जोड्ने योजनाअनुसार हालै डोल्पाको ल्हान र दुनै क्षेत्र (३,९०० मिटर) तथा ताप्लेजुङको ओलाङचुङ गोला (३,४०० मिटर) मा फोरजी सेवा सुरु भइसकेको छ ।
ग्रामीण क्षेत्रमा दूरसञ्चारको गुणस्तर सुधारका लागि नेपाल टेलिकमले ६ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्न लागेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
पछिल्लो अध्यावधिक: साउन ८, २०८३ १६:२३
