न्यायाधीशहरूविरुद्ध फेसबुकमा अश्लील र आपत्तिजनक पोस्ट गरेको अभियोगमा आरती रावल पुर्पक्षका लागि जेल चलान
साउन ८, २०८३ १५:२२
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूको चरित्रहत्या गर्ने गरी सामाजिक सञ्जालमा आपत्तिजनक र घृणास्पद सामग्री सम्प्रेषण गरेको अभियोगमा आरती रावल (गिरी) पुर्पक्षका लागि जेल चलान भएकी छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश उमानाथ गौतमको इजलासले बुधबार रावललाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा थुनामा राखेर मुद्दा अगाडि बढाउन आदेश दिएको हो ।
रावलले आफ्नो ‘Rawal Aarti’ नामक फेसबुक प्रोफाइलबाट सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको तस्बिर प्रयोग गरी अत्यन्तै तल्लो स्तरको गालीगलौज र लाञ्छना लगाएको अभियोग लागेको छ ।
आदेशमा भनिएको छ, “न्यायाधीशहरूको तस्बिरको साथमा अश्लील, अमानवीय, अमर्यादित, बेइज्जतीपूर्ण र अदालतप्रति नै आस्था र घृणा फैलाउने खालको अभिव्यक्ति लेखी पोस्ट गरेको” पाइएको छ । रावलले न्यायाधीशहरूलाई 'मरेको लास' बनाइदिने भन्दै ‘श्राप’ दिएको र अपशब्द प्रयोग गरी भिडिओ तथा पोस्टहरू सार्वजनिक गरेको अभियोग पत्रमा उल्लेख छ ।
थुनछेक बहसपछि न्यायाधीश गौतमको इजलासले रावललाई धरौटीमा छाड्न अस्वीकार गर्दै जेल पठाउने निर्णय गरेको हो । रावलले अदालतसमक्ष बयान दिँदा आफ्नो फेसबुक आईडी पूर्वपति (न्यायाधीश भुवन गिरी) ले ह्याक गरेर यस्ता पोस्ट गरेको दाबी गरेकी थिइन् । तर, प्रहरीको प्राविधिक अनुसन्धान र अन्य प्रमाणहरूले उक्त दाबीलाई पुष्टि नगरेको अदालतको ठहर छ ।
अदालतले भनेको छ, “निज प्रतिवादीउपरको अभियोगमागदावी लिइएको कसुरको गाम्भीरता समेतका तत्काल प्राप्त प्रमाणहरुबाट अहिले नै यी प्रतिवादी कसुरदार होइन रहेछन् भनी भन्न मिल्ने अवस्था देखिँदैन ।”
आदेशमा थप भनिएको छ, “...पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा हाललाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७२ को आधारमा दफा ६७ बमोजिम मुद्दा पुर्पक्षका लागि थुनामा राख्न केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलमा थुनामा पठाई दिनु भनी यो आदेश गरिदिएको छ ।”

यसै मुद्दामा रावललाई सहयोग गरेको र आफ्नै फेसबुक पेज 'RC Neema' बाट भ्रामक सामग्री फैलाएको अभियोग लागेकी अर्की प्रतिवादी निमा आर.सी.को हकमा भने अदालत लचिलो देखिएको छ । निमाको साथमा दुधे बच्चा रहेको र उनले कसुरमा साविती बयान दिएको अवस्थालाई विचार गर्दै अदालतले उनलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।
जिल्ला न्यायाधीश भुवन गिरीकी पूर्वपत्नी रहेकी आरती रावल लामो समयदेखि न्यायको नाममा माइतीघर लगायतका स्थानमा प्रदर्शन गर्दै आएकी थिइन् । वैवाहिक बलात्कारको मुद्दामा सर्वोच्च अदालतले गिरीलाई सफाइ दिएपछि रावलले फैसला गर्ने न्यायाधीशहरूलाई नै निशाना बनाएर सामाजिक सञ्जालमा अभियान चलाएकी थिइन् । सोही क्रममा उनले न्यायपालिकाको मर्यादा नाघेको भन्दै सर्वोच्च अदालतको पत्रका आधारमा साइबर ब्युरोले उनलाई पक्राउ गरेको थियो ।
अदालतको यो आदेशसँगै रावललाई जगन्नाथदेवलस्थित महिला बन्दीगृहमा पठाइएको छ । अब यो मुद्दाको अन्तिम फैसला नभएसम्म उनी थुनामै रहनेछिन् । अदालतले यस मुद्दाका अन्य साक्षीहरूलाई आगामी पेशीमा बकपत्रका लागि उपस्थित गराउन सरकारी वकिल कार्यालयलाई समेत निर्देशन दिएको छ ।
पछिल्लो अध्यावधिक: साउन ८, २०८३ १५:५९
