close

सुधन गुरुङ पुनः गृहमन्त्री बन्न लागेको भन्दै टिकटकमा प्रहरी प्रमुखकै फेक एआई भिडिओ

टेकपाना टेकपाना

बैशाख ११, २०८३ २१:५६

सुधन गुरुङ पुनः गृहमन्त्री बन्न लागेको भन्दै टिकटकमा प्रहरी प्रमुखकै फेक एआई भिडिओ

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीको फोटो/भिडिओ दुरुपयोग गरी सामाजिक सञ्जालमा भ्रामक भिडिओ फैलाइएको पाइएको छ । सार्वजनिक भिडिओमा सुधन गुरुङ पुनः गृहमन्त्री बन्न लागेको र उनले सफाइ पाएको भन्दै प्रहरी प्रमुखले नै घोषणा गरेको जस्तो सुनिन्छ । तर उक्त सामग्री पूर्णतया आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट निर्मित डिपफेक भएको पुष्टि भएको छ ।

टिकटक प्रयोगकर्ता ‘@mato.maya1’ लगायतका अकाउन्टबाट अपलोड भएको उक्त भिडिओमा प्रहरी महानिरीक्षक कार्की एक कार्यक्रममा बोलिरहेको जस्तो देखिन्छ । तर उनको आवाज वास्तविक नभएको सहजै अनुमान लगाउन सकिन्छ । भिडिओमा एआई प्रविधिको प्रयोग गरेर उनको ओठको चाल र आवाज परिवर्तन गरी सुधन गुरुङको पक्षमा भ्रामक सन्देश राखिएको छ ।

भिडिओको सत्यता जाँच गर्न एआई पहिचान गर्ने टुल ‘डिपवेयर एआई’ (Deepware AI) को प्रयोग गर्दा यो भिडिओ ९७ प्रतिशत डिपफेक भएको पुष्टि गरेको छ । भिडिओमा देखिने प्रहरी प्रमुखको ओठको चाल र सुनिने आवाज एआईको मद्दतले परिवर्तन गरेको पाइयो ।

भिडिओमा प्रहरी महानिरीक्षकले ‘सुधन गुरुङ फेरि गृहमन्त्री बन्दै हुनुहुन्छ, उहाँ निर्दोष साबित हुनुभएको छ र अबको ५ वर्ष उहाँले नै गृह मन्त्रालय सम्हाल्नुहुनेछ’ भन्ने आशयको अभिव्यक्ति दिएको सुनिन्छ । तर, तथ्यमा प्रहरी महानिरीक्षकले यस्तो कुनै पनि घोषणा गरेका छैनन् ।

पछिल्लो समय चर्चित व्यक्तिहरूको चेहरा र आवाज नक्कल गरी जनमानसमा भ्रम फैलाउने उद्देश्यले यस्ता डिपफेक भिडिओहरू बनाउने क्रम बढेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ११, २०८३ २२:५२