काठमाडौँ । महानगर यातायातका १९ वटा नयाँ विद्युतीय बस रसुवा भन्सार नाकामा आइपुगेका छन् । कम्पनीले आफ्नो सेवा विस्तारका थप विद्युतीय बस खरिद गरेको हो ।
काठमाडौँमा विद्युतीय सवारी साधनको पहुँच बढाउने उद्देश्यले नयाँ बस थपिएको कम्पनीका निर्देशक केशव नेपालले बताए । उनका अनुसार यी बसहरू अहिले चीनबाट रसुवा भन्सार नाकासम्म आइपुगेका छन् र केही दिनभित्रै काठमाडौँ आइपुग्नेछन् ।
महानगर यातायातले वातावरणमैत्री ईभी गाडीको प्रयोगलाई प्राथमिकता दिने नीति अनुरूप नयाँ बस थपेको उनले जानकारी दिए । भन्सार शुल्कसहित एउटा बसको मूल्य करिब १ करोड २५ लाख रुपैयाँसम्म पर्न सक्ने अनुमान गरिएको छ ।
यी बसहरू एक पटक फुल चार्ज गरेपछि २०० किमिसम्म चल्न सक्ने बताइएको छ । पहिले रातो र हरियो रङमा महानगर यातायातको बसहरू सञ्चालन भइरहेकोमा अहिले निलो रङका बसहरू ल्याइएका छन् ।
"भन्सार प्रक्रिया पुरा गर्न अझै एक दुई दिन लाग्छ । त्यसपछि मात्र कूल लागतको यकिन विवरण प्राप्त हुनेछ," निर्देशक नेपालले भने । हाल महानगर यातायातसँग रहेका १२ वटा ईभी बस सञ्चालनमा छन् । तीमध्ये दुई वटा पोखरा महानगरपालिकासँगको सहकार्यमा पोखराको पृथ्वीचोकदेखि अमरसिंह चोकसम्म सञ्चालनमा आएका छन् भने बाँकी १० वटा बसले काठमाडौँको चक्रपथ क्षेत्रमा सेवा दिइरहेका छन् ।
नयाँ बसहरू काठमाडौँ आइपुगेपछि आवश्यकता अनुसार थप नयाँ रुटेमा समेत सेवा विस्तार गर्ने तयारी भइरहेको नेपालले बताए ।
पछिल्लो अध्यावधिक: बैशाख १३, २०८३ १९:७
