सांसद पुनः मन्त्री छँदा यसै वर्षदेखि हरेक स्कुलमा अनिवार्य कम्प्युटर पढाउने निर्णय गरेको थिएँ, कामै भएन
बैशाख १५, २०८३ १२:२०
सांसद महावीर पुनले हरेक माध्यमिक विद्यालयमा १०० पूर्णाङ्कको अनिवार्य कम्प्युटर विषय पढाउने विषयमा कुनै पनि काम अगाडि नबढेको भन्दै आक्रोश व्यक्त गरेका छन् । मङ्गलबार सामाजिक सञ्जाल फेसबुक मार्फत एक पोस्ट राख्दै उनले सरकारी संयन्त्रले आफ्नो उक्त कार्यक्रम नगरेको देखेर असन्तुष्ट देखिएका हुन् ।
पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहेका पुनका अनुसार उनले मन्त्रालयमा रहँदा यही शैक्षिक सत्रदेखि हरेक माध्यमिक विद्यालयमा १०० पूर्णाङ्कको अनिवार्य कम्प्युटर विषय पढाउने गरी आवश्यक पहल गरेका थिए । राष्ट्रिय पाठ्यक्रम प्रारूपलाई तत्कालै ढाँचा तयार गर्न, पाठ्यक्रम विकास केन्द्रलाई पाठ्य पुस्तक विकास गर्न र शिक्षा आयोगलाई कम्प्युटर शिक्षकको जाँच लिन उनले आदेश दिएका थिए ।
साथै शिक्षक दरबन्दीको व्यवस्था गर्न अर्थ मन्त्रालयका मन्त्री र सचिवसँग भेटेर आवश्यक निर्णय समेत गर्न लगाएको, तर पालना भने नभएको पुनले उल्लेख गरेका छन् । "उतिबेला काम सुरु गरिसकेका थिए । त्यसैले मैले काम भयो होला भन्ने ठानेको थिएँ । तर केही पनि भएको रहेनछ," पुनले लेखेका छन् । अब सम्बन्धित अधिकारीहरूलाई शिक्षा समितिमा बोलाएर केरकार गर्ने समेत उनले स्पष्ट पारेका छन् ।
पछिल्लो अध्यावधिक: बैशाख १५, २०८३ १२:२०
