आफ्ना ग्राहकको परिचयपत्र भेरिफाई गर्न एआई प्रयोग गर्दै भायानेट, नक्कली आईडी तुरुन्तै पत्ता लाग्ने !
बैशाख १६, २०८३ ८:४०
काठमाडौँ । नेपालको प्रमुख इन्टरनेट सेवा प्रदायकमध्येको एक भायानेट कम्युनिकेसनले आफ्नो ग्राहक अनबोर्डिङ (दर्ता) प्रक्रियालाई प्रभावकारी बनाउन एआई प्रयोग गर्ने भएको छ । 'थर्ड फ्याक्टर एआई' (Third Factor AI) सँगको साझेदारीमा कम्पनीले ग्राहकको परिचयपत्र प्रमाणीकरणका लागि स्वचालित ओसीआर (OCR), अनुहार मिलान (Face Matching) र लाइभनेस डिटेक्सन जस्ता एआई फिचर अपनाउने भएको हो ।
विगतमा भौतिक कागजातहरूको म्यानुअल रूपमा ह्यान्डलिङ गर्नुपर्ने झन्झटिलो प्रक्रिया भए पनि अब भने यो कार्य डिजिटल रूपमा केही सेकेन्डमै सम्पन्न हुनेछ । यो नयाँ व्यवस्था नेपालको डिजिटल अर्थतन्त्रलाई सुरक्षित बनाउने र एआई-नेटिभ सार्वभौम पहिचान पूर्वाधारतर्फको एक महत्त्वपूर्ण कदम भएको कम्पनीले जनाएको ।
यो प्रणाली सुरुमा भायानेटका फिल्ड र रिटेल एजेन्टहरूको सहयोगमा सञ्चालनमा ल्याइनेछ र पछि ग्राहकहरूले आफैँ गर्न सक्ने 'सेल्फ-सर्भिस' मोडेलमा उपलब्ध हुने बताइएको छ ।
नेपालको इन्टरनेट सेवा (आईएसपी) क्षेत्रमा नक्कली परिचयपत्र प्रयोग गरेर इन्टरनेट कनेक्सन लिने र त्यसबाट प्रतिबन्धित अवैध सट्टेबाजी (Betting) तथा अनुमति नपाएका क्रिप्टो एक्स्चेन्जहरूमा पहुँच बनाउने प्रवृत्ति बढ्दो छ । म्यानुअल कागजात प्रमाणीकरणले यस्ता आधुनिक ठगीहरूलाई रोक्न सक्दैन ।
एआई मोडेलहरूले परिचयपत्रमा गरिएको छेडछाड र विसङ्गतिहरूलाई सजिलै पत्ता लगाउँछन् । जुन मानव समीक्षकका लागि ठुलो मात्रामा सम्भव हुँदैन । अनुहार मिलान र लाइभनेस डिटेक्सनले नक्कली कागजात वा फोटो (Spoofed image) मार्फत हुने छलछामलाई रोक्छ । जसले गर्दा कनेक्सन सक्रिय हुनुअघि नै ठगी पहिचान हुन्छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको नियमअनुसार सेवा सक्रिय गर्नुअघि ग्राहकको परिचय प्रमाणीकरण अनिवार्य छ । थर्ड फ्याक्टर एआईले यसलाई स्वचालित र त्रुटि रहित बनाइएको दाबी गरेको छ । जसले नियामकीय प्रबन्धलाई परिपालना गर्न सहज बनाउनेछ ।
नागरिकको बायोमेट्रिक डेटा विदेशी एआई पूर्वाधारमार्फत प्रशोधन हुँदा डेटा देशबाहिर जाने र विदेशी क्षेत्राधिकारमा पर्ने जोखिम रहन्छ । प्रिक्सा कम्पनी (Prixa Company) अन्तर्गतको थर्ड फ्याक्टर एआई नेपालको नियामक र सञ्चालन सन्दर्भलाई ध्यानमा राखेर स्थानीय रूपमा विकास गरिएको हो ।
यसमा बायोमेट्रिक तुलना, ओसीआर र लाइभनेस जाँच जस्ता सबै कार्यहरू नेपालभित्रै स्थानीय रूपमा प्रशासित पूर्वाधारमा सम्पन्न हुने कम्पनीको दाबी छ । जसले डेटा सुरक्षा सुनिश्चित गर्ने बताइएको छ ।
थर्ड फ्याक्टर एआई यसअघि नै नेपाल सरकारको अर्थ मन्त्रालय अन्तर्गतको निवृत्तिभरण व्यवस्थापन कार्यालयमा प्रयोगमा आइसकेको छ । जहाँ ३,५२,००० भन्दा बढी निवृत्तिभरण पाउनेहरूको परिचय प्रमाणीकरण गरिन्छ ।
पछिल्लो अध्यावधिक: बैशाख १६, २०८३ ८:४०
