स्टार्टअप कर्जाका लागि १३०१ परियोजनाको प्रारम्भिक सूची सार्वजनिक, कृषिदेखि प्रविधिसम्म कुन-कुन परे ?
बैशाख १८, २०८३ १२:०
काठमाडौँ । सरकारको ‘स्टार्टअप उद्यम कर्जा कार्यक्रम’ अन्तर्गत प्रस्तावहरूमध्ये प्रारम्भिक छनोटमा परेका परियोजनाहरूको सूची सार्वजनिक भएको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले १३०१ ओटा परियोजनाहरूको नाम सार्वजनिक गरेको हो ।
प्रारम्भिक सूचीमा कृषि, पशुपालन, प्रविधि, पर्यटन र उत्पादनमूलक क्षेत्रका विभिन्न स्टार्टअपहरू समेटिएका छन् । यसमध्ये कृषि तथा पशुपालन क्षेत्रका परियोजना सबैभन्दा बढी छन् ।
चालु आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले स्टार्टअप कर्जा शीर्षकमा ७३ करोड रुपैयाँ बजेट विनियोजन गरेसँगै गत १९ कात्तिकमा आवेदन आह्वान गरिएको थियो । स्टार्टअप कर्जाका लागि देशभरबाट कुल १० हजार २४४ ओटा आवेदन परेका थिए । जसमा आठ हजार २०३ ओटा अनलाइन र दुई हजार ४१ ओटा भौतिक रूपमा दर्ता भएका थिए ।
प्रारम्भिक सूचीमा नाम परेका प्रस्तावकहरूले अन्तिम छनोट प्रक्रियाका लागि थप व्यावसायिक विवरणहरू बुझाउनुपर्ने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले प्रारम्भिक छनोटपछि स्थलगत निरीक्षण, फोटो/भिडियो तथा थप मूल्याङ्कनका आधारमा अन्तिम सूची तयार पार्ने जनाएको छ।
प्रस्तावकहरूले प्रतिष्ठानको आधिकारिक वेबसाइटमा गएर उपलब्ध गराइएको ढाँचा डाउनलोड गर्नुपर्नेछ । सो ढाँचामा आफ्नो व्यवसायको पूर्ण र स्पष्ट विवरण भरी तोकिएको ह्वाट्सएप नम्बर ९७१२००६७१७ मा पठाउनुपर्नेछ । यो विवरण आगामी २३ वैशाखसम्म अनिवार्य रूपमा पठाइसक्नुपर्ने प्रतिष्ठानले जनाएको छ ।
तोकिएको समयसीमा भित्र थप विवरण पेस नगर्ने प्रस्तावकहरूको प्रस्ताव स्वतः अमान्य हुने सूचनामा उल्लेख छ ।
हेर्नुहोस् प्रारम्भिक छनोटमा परेका परियोजनाहरूको सूची
पछिल्लो अध्यावधिक: बैशाख १८, २०८३ १२:०
