प्रदेश स्तरीय स्टार्टअप प्रदर्शनीका लागि आवेदन दिने म्याद थप, जेठ ४ सम्म फारम भर्न सकिने
बैशाख २४, २०८३ ८:४७
काठमाडौँ । राष्ट्रिय युवा परिषद्ले आयोजना गर्न लागेको प्रदेश स्तरीय स्टार्टअप व्यवसाय प्रदर्शनीका लागि आवेदन दिने म्याद थप गरेको छ । युवाहरूमा उद्यमशीलता र प्रविधिको विकास गर्ने उद्देश्यले सञ्चालित यस कार्यक्रमका लागि अब आगामी ४ जेठ राति १२:०० बजेसम्म अनलाइनमार्फत आवेदन दिन सकिने परिषद्ले जनाएको छ ।
१६ वर्ष पूरा भई ४० वर्ष ननाघेका युवा व्यवसायीहरूले परिषद्को अनलाइन पोर्टलमार्फत आवेदन दिन सक्नेछन् । यसअघि नै आवेदन दिइसकेका युवा उद्यमीहरूको हकमा भने ती आवेदनहरूलाई यथावत् नै राखिएको छ ।
यो प्रदर्शनी सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णालीको वीरेन्द्रनगर, लुम्बिनीको बुटवल, बागमतीको हेटौंडा, मधेश प्रदेशको वीरगन्ज र कोशी प्रदेशको विराटनगरमा आयोजना हुनेछ । प्रत्येक प्रदेशबाट १५/१५ ओटा सूचना प्रविधि तथा स्टार्टअप व्यवसायहरू छनोट गरी प्रदर्शनीमा सहभागी गराइने परिषद्को योजना छ ।
छनोट हुने व्यवसायीहरूलाई स्टल व्यवस्थापनका लागि प्रति स्टल १० हजार रुपैयाँ प्रोत्साहन रकम समेत उपलब्ध गराइने भएको छ ।
प्रदर्शनीमा उत्कृष्ट ठहरिने व्यवसायहरूलाई नगद पुरस्कारको समेत व्यवस्था गरिएको छ । जसअनुसार प्रथम हुनेलाई ४० हजार, द्वितीयलाई ३० हजार र तृतीय हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिनेछ । त्यस्तै, दुई स्टार्टअपलाई १०/१० हजार रुपैयाँका दरले सान्त्वना पुरस्कार दिइने परिषद्ले जनाएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २४, २०८३ ८:५७
