close

साइबर सुरक्षामा करियर बनाउन चाहनेका लागि ‘ह्याकअस्त्र’ कार्यक्रम हुँदै, यसरी बन्नुहोस् सहभागी

टेकपाना टेकपाना

बैशाख १९, २०८३ १३:३९

साइबर सुरक्षामा करियर बनाउन चाहनेका लागि ‘ह्याकअस्त्र’ कार्यक्रम हुँदै, यसरी बन्नुहोस् सहभागी

काठमाडौँ । राजधानीस्थित हेराल्ड कलेजमा साइबर सुरक्षा कार्यक्रम ‘ह्याकअस्त्र २०२६’ आयोजना हुने भएको छ । कलेजको ‘इथिकल एचसीके कम्युनिटी’ले नेपालभरका विद्यार्थी, प्रविधिप्रेमी र साइबर सुरक्षा पेसेवरलाई लक्षित गर्दै यो कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

२९ मेदेखि सुरु हुने यो कार्यक्रम ६ जुनमा सम्पन्न हुनेछ । सुरुवातमा अनलाइनमा हुने यो कार्यक्रम दोस्रो चरणमा भौतिक रूपमा आयोजना हुनेछ । ‘ह्याकअस्त्र’ अन्तर्गतका विभिन्न कार्यक्रममध्ये ‘क्याप्चर द फ्ल्याग’ (सीटीएफ) प्रतियोगिता मुख्य रहेको छ । यसमा सहभागीले वेब एक्स्प्लोइटेसन, क्रिप्टोग्राफी, डिजिटल फरेन्सिक, रिभर्स इन्जिनियरिङ र ओएसआईएनटी (ओपन सोर्स इन्टेलिजेन्स) जस्ता साइबर सुरक्षाका चुनौती समाधान गर्नुपर्नेछ । ‘ह्याकअस्त्र’ अन्तर्गत हुने अन्य उप-कार्यक्रमको विवरण भने क्रमशः सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

सीटीएफ प्रतियोगिता दुई चरणमा सञ्चालन हुनेछ । पहिलो चरण अन्तर्गत अनलाइन छनोट (क्वालिफायर्स) हुनेछ जसबाट उत्कृष्ट १२ टोली अन्तिम चरण अर्थातु ग्रान्ड फिनालेका लागि प्रवेश गर्नेछन् । अन्तिम चरणको प्रतिस्पर्धा हेराल्ड कलेजमा भौतिक रूपमै सञ्चालन हुनेछ ।

कार्यक्रममा सहभागी हुन कुनै निश्चित मापदण्ड तोकिएको छैन । साइबर सुरक्षामा रुचि भएका वा सामान्य सीप भएका जोकोहीले पनि कार्यक्रममा सहभागी हुन सक्नेछन् भने प्रवेश पूर्ण रूपमा निःशुल्क गरिएको छ । सहभागी हुने टिमले यहाँ र व्यक्तिले यहाँ क्लिक गरेर आवेदन दिन सक्नेछन् ।

प्रतियोगिताका विजेता तथा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीहरूलाई साइबर सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सर्टिफिकेसन प्रदान गरिने आयोजकले जनाएको छ । कार्यक्रमका संयोजक प्रशुन बरालले टेकपानासँग भने, “हामीले विजेता तथा उत्कृष्ट सहभागीलाई ‘ASCP’, ‘ACP’, ‘CASA’ र ‘CRTP’ जस्ता अन्तर्राष्ट्रिय सर्टिफिकेसन निःशुल्क उपलब्ध गराउनेछौं । आफैले खरिद गर्दा एएससीपीलाई ४५० र एसीपीलाई १०० अमेरिकी डलरसम्म पर्छ ।”

उनले अगाडि भने, “यस कार्यक्रममार्फत सर्वसाधारण तथा सहभागीले प्राविधिक अनुभव बटुल्न, नेटवर्किङ गर्न, सर्टिफिकेसन जित्न र यस क्षेत्रमा नयाँ अवसर पाउन सक्नेछन् ।”

अन्तिम चरणको कार्यक्रमका दिन साइबर सुरक्षा क्षेत्रका विज्ञसँग प्यानल छलफल, प्राविधिक सत्र र नेटवर्किङका कार्यक्रम  सञ्चालन हुनेछन् । ‘ह्याकअस्त्र’ अन्तर्गत हुने अन्य कार्यक्रमको विवरण भने क्रमशः सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८३ १५:६