close

भूमिहीन नागरिकको डिजिटल लगत सङ्कलन गरिँदै, स्थानान्तरण प्रक्रियामा छुटेकालाई सम्पर्कमा आउन आग्रह

टेकपाना टेकपाना

बैशाख २०, २०८३ १३:२६

भूमिहीन नागरिकको डिजिटल लगत सङ्कलन गरिँदै, स्थानान्तरण प्रक्रियामा छुटेकालाई सम्पर्कमा आउन आग्रह

काठमाडौँ । सहरी विकास मन्त्रालयले नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियाका क्रममा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन आह्वान गरेको छ । आइतबार एक सूचना जारी गर्दै मन्त्रालयले सहायता आवश्यक भएका तथा हाल सडकमा अलमलमा परेका नागरिकहरूलाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकिएको दशरथ रङ्गशालामा उपस्थित भई दर्ता गराउन अनुरोध गरेको हो ।

वास्तविक भूमिहीन नागरिकहरूको डिजिटल लगत सङ्कलन तथा होल्डिङ सेन्टरमार्फत व्यवस्थापन गर्ने प्रबन्ध नेपाल सरकारले मिलाएको छ । उक्त होल्डिङ सेन्टरमा आवास, भोजन, स्वास्थ्य सेवा, बालबालिकाको शिक्षा तथा मनोवैज्ञानिक परामर्श लगायतका आधारभूत सेवाहरू उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।

"वास्तविक भूमिहीन तथा आर्थिक अवस्थाका कारण स्व व्यवस्थापन गर्न असमर्थ नागरिकलाई दशरथ रङ्गशालास्थित प्राथमिक दर्ता केन्द्रमा उपस्थित भई सरकारद्वारा उपलब्ध गराइने सेवा सुविधाको लाभ लिन अनुरोध गरिन्छ," मन्त्रालयले भनेको छ ।

"सरकार नागरिकहरूको सुरक्षित, व्यवस्थित तथा दीर्घकालीन पुनर्स्थापनाका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको यसै प्रेस नोटमार्फत जानकारी गराउन चाहन्छौँ ।"

पछिल्लो अध्यावधिक: बैशाख २०, २०८३ १३:२६