close

थापाथलीबाट सुरु भयो सीसीटिभी क्यामेराबाटै ट्राफिक नियम उल्लङ्घनको निगरानी, घटाइयो ट्राफिक प्रहरीको उपस्थिति

टेकपाना टेकपाना

बैशाख २०, २०८३ १४:२७

थापाथलीबाट सुरु भयो सीसीटिभी क्यामेराबाटै ट्राफिक नियम उल्लङ्घनको निगरानी, घटाइयो ट्राफिक प्रहरीको उपस्थिति

काठमाडौँ  । सडकमा ट्राफिक प्रहरीको प्रत्यक्ष उपस्थिति बिना प्रविधिको माध्यमबाट ट्राफिक निगरानी र व्यवस्थापन गर्ने ‘फेसलेस ट्राफिक व्यवस्थापन’को परीक्षण सुरु भएको छ ।  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबारदेखि थापाथलीबाट यसको परीक्षण थालेको हो । 

सडकमा ट्राफिक जनशक्तिको उपस्थितिलाई कम गर्दै प्रविधिमैत्री व्यवस्थापनलाई बढावा दिन यो परीक्षण सुरु गरिएको ट्राफिक प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले बताए । हाल थापाथली चोकमा रहेका सीसीटिभी क्यामेराहरूको प्रयोग गरी कन्ट्रोल रुमबाट ट्राफिक नियमको पालना भए/नभएको निगरानी भइरहेको उनले जानकारी दिए । त्यहीँबाट ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही अघि बढाउने तयारी छ । 

हाल थापाथलीमा भइरहेको परीक्षण तथा अध्ययनपछि देखिएका कमीकमजोरी सुधार्दै थप व्यवस्थित बनाइने प्रवक्ता सुवेदीले बताए । उनले भने, “अहिले हामीसँग एड्भान्स प्रविधि पर्‍याप्त छैन । उपलब्ध स्रोत र साधनलाई प्रयोग गरेर परीक्षण थालेका हौँ । थापाथलीमा अरू बेलाको भन्दा कम ट्राफिक प्रहरी राखेर प्रविधिको माध्यमबाट कन्ट्रोल रूमबाट निगरानी गरिरहेका छौँ । यसरी प्रविधिको प्रयोग गरेर निगरानी गर्दा कस्तो नतिजा आउने रहेछ भनेर दिनभरको अवस्थाको अध्ययन गर्छौँ । र कमीकमजोरीलाई सुधार गर्दै थप व्यवस्थापनमा ध्यान दिन्छौँ ।”

थापाथलीको परीक्षण सफल भएमा र यसबाट आउने नतिजाका आधारमा फेसलेस ट्राफिक व्यवस्थापनलाई क्रमशः काठमाडौँ  उपत्यकाका अन्य स्थानहरूमा पनि विस्तार गर्ने ट्राफिक प्रहरीको योजना छ । यसका लागि आगामी दिनमा स्मार्ट ट्राफिक लाइट, एआई क्यामेरा र पूर्ण रूपमा ट्राफिक इन्टेलिजेन्ट सिस्टम जडान गर्दै ट्राफिक प्रहरीको कम प्रयोग गर्नमा जोड दिइने उनले बताए ।

प्रविधिबाटै ट्राफिक व्यवस्थापन हुँदा नागरिकहरू थप अनुशासित हुनुपर्ने प्रवक्ता सुवेदीले स्पष्ट पारे । “हाम्रा सडक साँघुरा छन् र सवारीको चाप बढी छ । यस्तोमा लेन अनुशासन पालना गर्नु सबैभन्दा महत्त्वपूर्ण हुन्छ,” उनले भने, “यदि सबैले सभ्य तरिकाले सवारी चलाउने र नियम मान्ने हो भने सडकमा ट्राफिक प्रहरी नहुँदा पनि समस्या हुँदैन ।”

पछिल्लो अध्यावधिक: बैशाख २०, २०८३ १४:२७