close

एन्ड्रोइड किबोर्डका ४ शक्तिशाली सुविधाहरू जसका लागि अब तपाईंले छुट्टै एप डाउनलोड गर्नु पर्दैन

टेकपाना टेकपाना

बैशाख २०, २०८३ १६:४९

एन्ड्रोइड किबोर्डका ४ शक्तिशाली सुविधाहरू जसका लागि अब तपाईंले छुट्टै एप डाउनलोड गर्नु पर्दैन

काठमाडौँ । हामीमध्ये धेरैजसो हरेक कामको लागि एउटा एप हुन्छ भन्ने मानसिकतामा अभ्यस्त भइसकेका छौँ । हाम्रा स्मार्टफोनका बिल्ट-इन सुविधाहरू दिनप्रतिदिन परिष्कृत हुँदै गए पनि हामी अझै पनि साना-साना कामका लागि एप स्टोर तिरै दौडिने गर्छौँ ।

तर सत्य के हो भने तपाईँको एन्ड्रोइड फोनमा भएको डिफल्ट किबोर्ड, जस्तै पिक्सेल फोनहरूमा हुने जीबोर्ड वा सामसङ किबोर्ड पहिलेभन्दा धेरै सक्षम भइसकेका छन् ।

तपाईँको एन्ड्रोइड किबोर्ड आफैँमा एउटा बहु-उपयोगी टुलकिट हो । प्ले स्टोरमा नयाँ एप खोज्नु अघि आफ्नो किबोर्डको सेटिङ्स आइकनमा गएर त्यहाँ भएका लुकेका फिचरहरू चलाएर हेर्नुहोस् । यसले तपाईँको फोनको स्पेस मात्र बचाउँदैन, कामलाई पनि छिटो र छरितो बनाउँछ ।

यहाँ एन्ड्रोइड किबोर्डमा भएका त्यस्ता ४ उत्कृष्ट फिचरहरूको बारेमा चर्चा गर्दैछौँ, जसले गर्दा तपाईँले थर्डपार्टी एपहरू हटाउन सक्नुहुनेछ ।

 

१. क्लिपबोर्ड व्यवस्थापन

तपाईँले एन्ड्रोइडमा कपी गरेका हरेक कुरा जीबोर्डले ट्रयाक गर्छ । यसले अनुमति दिएको खण्डमा टेक्स्ट मात्र नभई तस्विर र स्क्रिनशटहरू समेत सम्झन सक्छ । किबोर्ड टुलबारमा रहेको सानो क्लिपबोर्ड आइकनमा थिचेर यसलाई सजिलै चलाउन सकिन्छ ।

सामान्यतया यसले पछिल्लो एक घण्टामा कपी गरिएका सामग्रीहरू देखाउँछ । यदि तपाईँ कुनै सामग्री लामो समयसम्म राख्न चाहनुहुन्छ भने त्यसलाई पिन गर्न सक्नुहुन्छ । सामसङ किबोर्डमा पनि यस्तै क्लिपबोर्ड प्यानल उपलब्ध छ ।

२. अनुवाद

जीबोर्डको अनुवाद फिचर प्रयोग गरेर तपाईँले कुनै पनि कुरा टाइप गर्दा गर्दै अर्को भाषामा परिवर्तन गर्न सक्नुहुन्छ । यसका लागि वेब ब्राउजर वा अर्कै एप खोलिरहनु पर्दैन ।

किबोर्डको टुलबारमा रहेको ट्रान्सलेट बटन थिचेर आफूले चाहेको भाषा छनोट गरी टाइप गर्न थाल्नुभयो भने यसले तुरुन्तै अनुवाद गरिदिन्छ । गुगलले यसमा सयौँ भाषाहरू सपोर्ट गर्ने वाचा गरेको छ ।

३. टेक्स्ट शर्टकट र स्निपेट

यो फिचर एन्ड्रोइडमै निर्मित छ र जीबोर्ड मार्फत प्रभावकारी रूपमा प्रयोग गर्न सकिन्छ । यसले तपाईँले बारम्बार टाइप गर्ने लामा वाक्यहरूलाई छोटो शर्टकटमा बदल्न मद्दत गर्छ ।

उदाहरणका लागि addy टाइप गर्दा तपाईँको पुरै ठेगाना आफैँ भरिने गरी सेट गर्न सक्नु हुन्छ । यसका लागि सेटिङ्सभित्र Personal Dictionary मा गएर आफूलाई चाहिने शब्द र शर्टकट थप्नुपर्छ । यो फिचरले फेसबुक, मेसेज, किप जस्ता सबै एपहरूमा काम गर्छ ।

४. आवाजबाट टाइप गर्ने भ्वाइस टाइपङ

जीबोर्डको माइक्रोफोन प्रविधि अहिले धेरै एड्भान्स भइसकेको छ । यसले मानिसको बोल्ने शैली र पन्चुएसनलाई समेत सही रूपमा बुझ्न सक्छ ।

किबोर्ड टुलबारमा रहेको माइक्रोफोन आइकनमा थिचेर बोलेपछि यसले तुरुन्तै त्यसलाई अक्षरमा बदल्छ । अब यसका लागि छुट्टै स्पिच-टु-टेक्स्ट एपहरूको आवश्यकता पर्दैन ।

पछिल्लो अध्यावधिक: बैशाख २०, २०८३ १६:४९