काठमाडौँ । पछिल्लो समय विभिन्न प्रलोभन र डर देखाएर वन टाइम पासवर्ड (ओटीपी) मागेर बैङ्क खाता रित्याउने गिरोह सक्रिय हुन थालेपछि नेपाल प्रहरीले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । फोन गरेर ओटीपी माग्ने व्यक्ति प्रायः ठग हुने भन्दै प्रहरीले आफ्नो गोप्य कोड कसैलाई पनि नदिन सचेत गराएको हो ।
नेपाल प्रहरीले हालै जनचेतनाका लागि एआईको प्रयोग गरी तयार पारेको एक भिडिओ सन्देश सार्वजनिक गरेको छ । उक्त भिडिओमा साइबर अपराधीले सर्वसाधारणलाई फोन गरेर आफू बैङ्कको कर्मचारी भएको दाबी गर्दै खाता ‘अपडेट’ गर्न ओटीपी कोड माग्ने गरेको दृश्य देखाइएको छ ।
भिडिओमा देखाइए अनुसार सर्वसाधारणले विश्वास गरेर ओटीपी उपलब्ध गराएको केही मिनेटमै उनीहरूको बैङ्क खाता रित्तिन्छ । यस किसिमका ठगीबाट बच्न आग्रह गर्दै प्रहरीले सन्देशमा भनेको छ, “बैङ्कले कहिल्यै पनि फोनमार्फत ग्राहकसँग ओटीपी माग्दैन । यदि कसैले फोन गरेर ओटीपी माग्छ भने सम्झिनुहोस्, त्यो स्क्यामर हो ।”
पछिल्लो समय प्रविधिको विकाससँगै अनलाइन ठगीका घटना पनि बढ्दै गएका छन् । अपरिचित व्यक्तिले चिठ्ठा परेको प्रलोभन देखाएर, बैङ्क खाता अपडेट गर्नुपर्ने बहानामा वा खाता ब्लक हुन लागेको डर देखाएर ओटीपी माग्ने र रकम लुट्ने घटना बढेको प्रहरीको भनाइ छ ।
यस्ता डिजिटल ठगीका घटनाहरू दिनानुदिन बढ्न थालेपछि नेपाल प्रहरीका साथै विभिन्न बैङ्क तथा वित्तीय संस्थाले समेत आफ्नो ओटीपी, पिन कोड र पासवर्ड कसैलाई पनि शेयर नगर्न निरन्तर सचेत गराउँदै आएका छन् ।
पछिल्लो अध्यावधिक: बैशाख २१, २०८३ १२:४६
