close

नेपालमा ईभी प्रयोग उत्साहजनक भए पनि दक्ष जनशक्ति अभावले निम्तिन सक्छ गम्भीर दुर्घटना

सुगमनन्द बज्राचार्य सुगमनन्द बज्राचार्य

बैशाख २१, २०८३ १४:५

नेपालमा ईभी प्रयोग उत्साहजनक भए पनि दक्ष जनशक्ति अभावले निम्तिन सक्छ गम्भीर दुर्घटना

विश्वव्यापी तनावका बीच इन्धनको मूल्य निरन्तर बढिरहँदा नेपाल जस्ता देशहरू आयातित पेट्रोलियम पदार्थमाथिको परनिर्भरताको बारेमा फेरि एक पटक सचेत भएका छन् । विश्वव्यापी तेल बजारमा हुने हरेक उतारचढाव यहाँका उपभोक्ताहरूले प्रत्यक्ष महसुस गर्छन्, जसले गर्दा यातायात खर्च बढ्छ र घरायसी बजेटमा दबाब पर्छ ।

साथै वायु प्रदूषण, विशेषगरी काठमाडौँ उपत्यकामा एउटा गम्भीर समस्याको रूपमा रहेको छ । यसमा यातायात क्षेत्र मुख्य योगदानकर्तामध्ये एक हो । यस सन्दर्भमा विद्युतीय सवारी साधन (ईभी) अब केवल वातावरणीय छनोट मात्र नभई, एक व्यावहारिक विकल्प बन्दै गएको छ ।

यो परिवर्तन तथ्याङ्कमा देखिन थालिसकेको छ । भन्सार विभागका अनुसार नेपालले आर्थिक वर्ष २०८१/८२ मा विभिन्न श्रेणीका ४४ हजार ५०० भन्दा बढी विद्युतीय सवारी साधन आयात गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा आयात गरिएका चार पाङ्ग्रे यात्रु वाहक सवारी साधनमध्ये विद्युतीय सवारी साधनको हिस्सा ७०% भन्दा बढी थियो । जसले नेपाललाई विश्वकै तीव्र गतिमा बढिरहेको विद्युतीय सवारी साधनको बजारमध्ये एक बनाएको छ ।

यसको समग्र पारिस्थितिक प्रणाली (इकोसिस्टम) पनि विस्तार हुँदैछ । नेपालमा अहिले देशभर करिब १,२०० देखि १,५०० वटा चार्जिङ स्टेसनहरू रहेको अनुमान गरिएको छ । जुन सन् २०२० मा ५० भन्दा कम थियो । यी स्टेसनहरू प्रमुख सहर र राजमार्गहरूमा फैलिएका छन्, जसले विद्युतीय सवारीको यात्रालाई पहिलेभन्दा बढी व्यावहारिक बनाएको छ ।

सरकारले पनि यो रूपान्तरणलाई कर सहुलियत र सन् २०३० सम्ममा ९०% विद्युतीय सवारी साधन पुर्‍याउने स्पष्ट लक्ष्यसहित बलियो नीतिगत सहयोग प्रदान गरेको छ । यी ट्रेन्डहरूले देखाउँछन् कि नेपालको विद्युतीय सवारीको प्रयोग नीतिगत महत्त्वाकाङ्क्षाभन्दा अगाडि बढेर ठुलो स्तरमा भइरहेको छ ।

प्राविधिक जनशक्तिको खडेरी

यस्तो बलियो प्रगति भए तापनि एउटा महत्त्वपूर्ण अभावलाई अझै सम्बोधन गर्न सकिएको छैन । त्यो हो, विद्युतीय सवारीको इकोसिस्टमलाई सपोर्ट गर्ने दक्ष प्राविधिक जनशक्तिको उपलब्धता । नेपालको अटोमोटिभ मर्मत क्षेत्रमा त्यस्ता प्राविधिकहरूको वर्चस्व छ, जसले अनौपचारिक प्रशिक्षण मार्फत सीप सिकेका छन् ।

यी मेकानिकहरूसँग इन्टर्नल कम्बस्चन इन्जिन (आईसीई) सवारी साधनहरूमा काम गरेको बलियो अनुभव छ । तर विद्युतीय सवारी साधनहरूका लागि फरक प्रकारको सीप आवश्यक पर्दछ ।

विद्युतीय सवारी साधनहरू परम्परागत मेकानिकल पाटपुर्जाहरूको सट्टा ब्याट्री, इलेक्ट्रोनिक प्रणाली र सफ्टवेयरमा आधारित चेकजाँचमा निर्भर हुन्छन् । नेपालका लागि दिगो विद्युतीय यातायात (SET4NPL) पहल अन्तर्गत हालै गरिएको तालिम आवश्यकता मूल्याङ्कनले धेरै प्राविधिकहरूमा विद्युतीय प्रणाली, चेकजाँच उपकरण र सुरक्षा अभ्यासहरूको आधारभूत ज्ञानको कमी रहेको देखाएको छ । फलस्वरूप सुरक्षा र महँगा पार्टपुर्जाहरू बिग्रिने डरले धेरै प्राविधिकहरू विद्युतीय सवारी साधनमा काम गर्न हिचकिचाउँछन् ।

नेपालमा विद्युतीय सवारी साधनको सर्भिसिङ सम्बन्धी तालिमका अवसरहरू अझै पनि सीमित छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका संस्थाहरूले विद्युतीय सवारी सम्बन्धी छोटो अवधिका पाठ्यक्रमहरू विकास गरेका छन् । तर यी कार्यक्रमहरू अझै प्रारम्भिक चरणमै छन् र धेरै चुनौतीहरूको सामना गरिरहेका छन् । यसमा व्यावहारिक तालिमका लागि विद्युतीय सवारी साधनको अभाव, सीमित प्रयोगशाला पूर्वाधार र विद्युतीय सवारी प्रविधिसँग परिचित प्रशिक्षकहरूको कमी आदि रहेका छन् ।

निजी कम्पनीहरूले तालिम दिन सुरु गरेका त छन् । तर यी कार्यक्रमहरू सामान्यतया आफ्नै कर्मचारीहरूमा मात्र सीमित छन् । देशभरका सवारी साधनको मर्मत सम्भारमा ठुलो हिस्सा ओगट्ने स्वतन्त्र वर्कशपहरूको यस्तो तालिममा पहुँच छैन । यसले विद्युतीय सवारी साधनको सङ्ख्या बढ्दै जाँदा समग्र सर्भिसिङ प्रणालीमा एउटा खाडल सिर्जना गरेको छ ।

SET4NPL पहलको एक हिस्साको रूपमा आयोजित हरित यात्रा संवाद मञ्चमा भएका छलफलहरूले यी चुनौतीहरूलाई पुष्टि गरेका छन् । सरकारी निकाय, निजी कम्पनी र तालिम प्रदायक संस्थाहरूका प्रतिनिधिहरू विद्युतीय सवारीको प्रयोग जसरी बढिरहेको छ, त्यसै अनुसार जनशक्ति विकास हुन नसकेकोमा सहमत थिए ।

प्राविधिकहरू सिक्न इच्छुक छन् । तर धेरैले लामो अवधिको तालिमका लागि आफ्नो दैनिक काम छोड्न सक्दैनन्, किनकि यसले उनीहरूको आम्दानी गुम्छ । साथै चेकजाँच र सुरक्षा जस्ता आधारभूत विद्युतीय सवारी सीपहरूमा केन्द्रित छोटो र व्यावहारिक पाठ्यक्रमहरूको पनि अभाव छ ।

हाल कम्पनीका सर्भिस सेन्टरहरूले मर्मत सम्भार गरिरहेका भए पनि विद्युतीय सवारी साधनको सङ्ख्या बढ्दै जाँदा र सवारी साधनहरूको वारेन्टी अवधि सकिएपछि यो मोडेल दिगो हुने छैन । स्वतन्त्र वर्कशपहरूले ठुलो भूमिका खेल्नुपर्ने हुन्छ, तर तिनीहरू अझै तयार छैनन् ।

अर्को मुख्य चिन्ता सुरक्षाको हो । विद्युतीय सवारी साधनहरू हाई भोल्टेज प्रणालीमा चल्छन् र उचित तालिम बिना दुर्घटनाको जोखिम रहन्छ । हाल नेपालमा विद्युतीय सवारी वर्कशपका लागि स्पष्ट राष्ट्रिय मापदण्ड वा प्राविधिकहरूको प्रमाणीकरण प्रणाली पनि छैन । जसले गर्दा गुणस्तर र सुरक्षा सुनिश्चित गर्न गाह्रो भएको छ ।

काम थाल्न ढिलो भइसक्यो

अहिले नै उचित कदम चाल्नुपर्ने आवश्यकता छ । विद्युतीय सवारी साधनको सङ्ख्या बढेसँगै मर्मत सम्भार सेवाको माग पनि बढ्नेछ । तालिम प्राप्त जनशक्ति बिना यसले उच्च सर्भिसिङ लागत, लामो प्रतीक्षा समय र सुरक्षा जोखिम निम्त्याउन सक्छ ।

यसले विद्युतीय सवारी साधनको बजारको वृद्धिलाई पनि सुस्त बनाउन सक्छ । किनकि भरपर्दो सेवा विकल्पहरू बिना उपभोक्ताहरू नयाँ प्रविधि अपनाउन हिचकिचाउन सक्छन् ।

जनशक्तिलाई चाँडै तयार गर्न सकियो भने यी चुनौतीहरूको सामना गर्न मद्दत पुग्छ । यसले एक बलियो र विकेन्द्रीकृत मर्मत सञ्जालको विकासमा पनि सहयोग पुर्‍याउनेछ । जुन विद्युतीय सवारी इकोसिस्टमको दीर्घकालीन स्थिरताका लागि आवश्यक पनि छ ।

जीआईजेड नेपाल र जीजीजीआई नेपालद्वारा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको सहकार्यमा कार्यान्वयन भइरहेको नेपालका लागि दिगो विद्युतीय यातायात (SET4NPL) पहलले यी अभावहरूलाई सम्बोधन गर्न काम गरिरहेको छ । परियोजनाले छोटो अवधिका तालिम कार्यक्रमहरू पाइलट गर्ने, संस्थाहरूलाई सहयोग गर्ने र सरकार तथा उद्योगहरूबिचको सहकार्यलाई बलियो बनाउने तरिकाहरू खोजिरहेको छ ।

विभिन्न पक्षहरूबिच पुलको रूपमा काम गर्दै SET4NPL ले व्यावहारिक समाधानहरू पहिचान गर्न र तिनीहरूको कार्यान्वयनमा सहयोग गरिरहेको छ । नेपालको विद्युतीय सवारी रूपान्तरणमा जनशक्ति विकासलाई मुख्य हिस्सा बनाउन यसको काम महत्त्वपूर्ण छ ।

अबको बाटो

यी चुनौतीहरूलाई सम्बोधन गर्न विभिन्न व्यावहारिक कदमहरूले मद्दत गर्न सक्छन् । पहिलो, तालिम कार्यक्रमहरू थप पहुँचयोग्य हुन आवश्यक छ । विद्युतीय सवारीको आधारभूत कुरा, सुरक्षा र चेकजाँचमा केन्द्रित छोटो, मोड्युलर पाठ्यक्रमहरूले प्राविधिकहरूलाई लामो समयसम्म काम नछोडिकन आफ्नो सीप सुधार गर्न मद्दत गर्न सक्छन् । साँझ वा सप्ताहन्तका कक्षाहरू जस्ता लचिलो समयतालिकाले सहभागिता अझ बढाउन सक्छ ।

दोस्रो, तालिम प्रदायक संस्थाहरूलाई उनीहरूको क्षमता सुधार गर्न सहयोग चाहिन्छ । यसमा ईभी ल्याबहरू स्थापना गर्ने, प्रयोगात्मक सिकाइका लागि सवारी साधनहरू उपलब्ध गराउने र प्रशिक्षकहरूलाई तालिम दिने कुराहरू समावेश छन् । शिक्षण संस्थाहरू र निजी कम्पनीहरूबिचको साझेदारीले तालिम उद्योगको आवश्यकता अनुसार सान्दर्भिक छ भन्ने सुनिश्चित गर्न मद्दत पुर्‍याउँछ ।

तेस्रो, वित्तीय सहयोग संयन्त्रहरू महत्त्वपूर्ण छन् । धेरै प्राविधिकहरूले तालिमको समयमा आम्दानी गुमाउन सक्दैनन् । भत्ता वा प्रोत्साहन प्रदान गर्दा धेरैको सहभागितालाई प्रोत्साहन मिल्न सक्छ । औजार र उपकरणहरूको लागत घटाउँदा वर्कशपहरूलाई विद्युतीय सवारी सर्भिसिङमा लगानी गर्न पनि मद्दत पुग्छ ।

अन्त्यमा, सरकारले विद्युतीय सवारी प्राविधिक र वर्कशपहरूका लागि स्पष्ट मापदण्ड र प्रमाणीकरण प्रणाली विकास गर्न आवश्यक छ । यसले सुरक्षामा सुधार ल्याउनेछ । उपभोक्ताको पनि विश्वास बढाउनेछ र यस क्षेत्रभर गुणस्तर सुनिश्चित गर्नेछ ।

नेपालले नीतिगत प्रोत्साहन र बढ्दो बजार मागको सहयोगमा विद्युतीय सवारी साधनको प्रवर्धनमा उल्लेख्य प्रगति गरेको छ । यद्यपि यो रूपान्तरणको सफलता सवारी साधन र पूर्वाधारमा मात्र नभई मानिसहरूमा पनि निर्भर हुनेछ । विद्युतीय सवारी साधनहरू सुरक्षित र कुशलतापूर्वक सञ्चालन गर्न दक्ष प्राविधिक जनशक्ति अपरिहार्य छ ।

लेखक बज्राचार्य ग्लोबल ग्रिन ग्रोथ इन्स्टच्युटमा कार्यरत छन् । 

पछिल्लो अध्यावधिक: बैशाख २१, २०८३ १५:४