close

गुगलसँगको सहकार्यमा करिब ४५ हजार पर्ने अनलाइन कोर्स सित्तैमा दिँदै मेरोजब, यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

बैशाख २४, २०८३ १९:१६

गुगलसँगको सहकार्यमा करिब ४५ हजार पर्ने अनलाइन कोर्स सित्तैमा दिँदै मेरोजब, यसरी दिनुहोस् आवेदन

काठमाडौँ । मेरोजबले गुगलसँगको सहकार्यमा करिब ४५ हजार रुपैयाँ पर्ने कोर्सेराको अनलाइन कोर्स सित्तैमा उपलब्ध गराउने भएको छ । डिजिटल सीपको अभावलाई पूर्ति गर्न र नेपाली जनशक्तिलाई सशक्त बनाउने उद्देश्यले गुगल करियर सर्टिफिकेट्स स्कलरशिप प्रोग्राम २०२६ का लागि आवेदन खुलाइएको हो ।

यस अन्तर्गत २,००० जना नेपालीलाई उच्च माग भएका क्षेत्रहरूमा रोजगारमुखी सीपहरू प्रदान गर्दै देशव्यापी रूपमा दीर्घकालीन करियर विकासमा जोड दिइने कम्पनीले जनाएको छ । यो कार्यक्रमलाई व्यापक र समावेशी बनाउन मेरोजबले ४ वटा प्रमुख संस्थाहरूलाई कार्यान्वयन साझेदारको रूपमा आबद्ध गरेको छ ।

जसमा आईसीटी फाउन्डेसन नेपाल, वुमन इन इन्फर्मेसन टेक्नोलोजी, एलबीईएफ विद्यापीठ प्राइभेट लिमिटेड र एआई एसोसिएसन नेपाल रहेका छन् ।

यस साझेदारी अन्तर्गत प्रत्येक ४ वटा साझेदार संस्थालाई ५००-५०० वटा छात्रवृत्ति सिट छुट्याइएको छ । यी संस्थाहरूले स्वतन्त्र रूपमा आवेदन खुला गर्ने, आवेदकहरूको छनोट गर्ने र प्रशिक्षार्थीहरूलाई अनबोर्डिङ गर्ने प्रक्रिया व्यवस्थापन गर्नेछन् ।

सामान्यतया गुगल करियर सर्टिफिकेट्स प्रोग्राम अध्ययन गर्न कोर्सेरा मार्फत प्रति महिना ४९ डलर (करिब ७,५००) लाग्ने गर्छ । धेरैजसो प्रयोगकर्ताले ३ देखि ६ महिनामा यो कोर्ष पुरा गर्छन्, जसको कुल लागत करिब ३०० डलर (४५,००० रुपैयाँभन्दा बढी) पर्न जान्छ । तर यस छात्रवृत्ति अन्तर्गत शून्य लागतमा पूर्ण रूपमा निःशुल्क अध्ययन गर्न पाइनेछ ।

यसमा सहभागी हुन कुनै पूर्व अनुभव वा कलेजको डिग्री आवश्यक पर्दैन । यो नितान्त नयाँ सिकारुहरू (बिगिनर्स) का लागि तयार पारिएको हो । कोर्षहरू १००% अनलाइनमा उपलब्ध रहेका छन् र आफ्नो समय अनुकूल सिक्न सकिनेछ ।

गुगलका विज्ञहरूद्वारा डिजाइन गरिएको र विश्वका शीर्ष रोजगारदाताहरूद्वारा मान्यता प्राप्त यी कोर्षमार्फत नयाँ करियरमा दैनिक प्रयोग हुने वास्तविक टुलहरू प्रयोग गरेर व्यावहारिक अनुभव हासिल गर्न सकिनेछ ।

यस कार्यक्रममा विश्वभरबाट १३ लाखभन्दा बढी प्रशिक्षार्थीहरू सहभागी भइसकेका छन् । आफ्नो करियरको चाहना अनुसार कोर्सेरामा होस्ट गरिएका तथा उच्च माग भएका १२ वटा विषयमध्ये कुनै पनि रोजेर पढ्न सकिनेछ ।

जसमा साइबर सेक्युरिटी, डेटा एनालिटिक्स, डिजिटल मार्केटिङ तथा ई-कमर्स, आईटी सपोर्ट, प्रोजेक्ट म्यानेजमेन्ट र यूएक्स डिजाइन रहेका छन् । यस बाहेक आईटी अटोमेसन विथ पाइथन एडभान्स डेटा एनालिटिक्स, बिजनेस इन्टेलिजेन्स, एआई एसेन्सियल्स, प्रम्प्टिङ एसेन्सियल्स अथवा एजाइल एसेन्सियल्स जस्ता कोर्स समेत रोजेर पढ्न सकिनेछ ।

कसले दिन पाउँछन् आवेदन ?

यो छात्रवृत्ति कार्यक्रम प्राविधिक उद्योगमा प्रवेश गर्न वा करियर परिवर्तन गर्न चाहने विद्यार्थी, नयाँ ग्राजुएट र हाल कार्यरत पेसाकर्मीका लागि गेम-चेन्जर साबित हुन सक्छ ।

यो केवल सिक्ने विषय मात्र नभएर रोजगारीको लागि तयार हुने कुरा पनि भएको मेरोजबका प्रबन्ध निर्देशक शैलेन्द्र राज गिरी बताउँछन् । "यी कोर्सहरूले शिक्षा र रोजगारीबिचको खाडल पुर्न आवश्यक व्यावहारिक सीपहरू प्रदान गर्दछन्," उनी भन्छन्, "जसले नेपाली पेसाकर्मीहरूलाई स्थानीय र विश्वव्यापी बजारहरूमा राम्रो भूमिका र उच्च कमाइको सम्भावनाको ढोका उघार्न मद्दत गर्दछ ।"

कोर्स सफलतापूर्वक पूरा गरेपछि प्रशिक्षार्थीहरूले मेरोजबको करियर सपोर्ट सेवाहरूमा प्राथमिकता पाउनेछन् ।

कसरी दिने आवेदन ?

इच्छुक व्यक्तिहरूले सम्बन्धित साझेदार संस्थाहरूले उपलब्ध गराएका लिङ्कहरू मार्फत आवेदन दिनुपर्नेछ । विस्तृत जानकारी तथा आवेदनका लागि यो मुख्य लिङ्क भिजिट गर्नुहोस् ।

साझेदार संस्था अनुसार आवेदन भर्ने अन्तिम मिति भिन्न रहेको छ । यहाँ क्लिक गरेर एलबीईएफ विद्यापीठ प्राइभेट लिमिटेडमार्फत १५ मे, २०२६ सम्म आवेदन दिन सक्नु हुनेछ ।

त्यस्तै यहाँ क्लिक गरेर वुमन इन इन्फर्मेसन टेक्नोलोजी मार्फत आवेदन दिन सकिनेछ । जसका लागि आवेदनको अन्तिम मिति २० मे, २०२६ सम्म रहेको छ ।

यसैगरी आईसीटी फाउन्डेसन नेपाल र एआई एसोसिएसन नेपालबाट ३१ मे, २०२६ सम्म आवेदन भर्न सकिनेछ । आईसीटी फाउन्डेसन नेपालका लागि यहाँ क्लिक गर्न र एआई एसोसिएसन नेपालका लागि यहाँ क्लिक गर्न सक्नु हुनेछ ।

पछिल्लो अध्यावधिक: बैशाख २६, २०८३ ९:३४