close

देशभरका २०० भन्दा बढी सामुदायिक स्कुललाई विज्ञान अनुदान दिँदै कारखाना, यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

बैशाख २४, २०८३ २०:५९

देशभरका २०० भन्दा बढी सामुदायिक स्कुललाई विज्ञान अनुदान दिँदै कारखाना, यसरी दिनुहोस् आवेदन

 

काठमाडौँ । सामाजिक उद्यमको क्षेत्रमा क्रियाशील संस्था कारखानाले नेपालभरका २०० भन्दा बढी सामुदायिक तथा न्यून स्रोत-साधन भएका विद्यालयहरूका लागि 'गर्दै पढ्दै' नामक विज्ञान अनुदानको आवेदन खुलाएको छ । नेपालका सामुदायिक विद्यालयका कक्षा कोठाहरूमा प्रयोगात्मक र व्यवहारिक विज्ञान सिकाइ पुर्‍याउने उद्देश्यका साथ यो पहल थालिएको हो ।

कारखानाका अनुसार सिकाइ केही सीमित विद्यालयमा मात्र सीमित हुनुहुँदैन भन्ने विश्वासका साथ यो कार्यक्रम ल्याइएको हो । संस्थाले निजी विद्यालयहरूसँगै सामुदायिक र न्यून स्रोत भएका विद्यालयहरूलाई पनि सहयोग गर्दै आएको छ । सिक्नका लागि तत्पर भएका तर सामग्री र पहुँचको अभावमा पछाडि परेका विद्यालयहरूलाई यसमार्फत समेट्न खोजिएको हो ।

विगत १३ वर्षदेखि शिक्षा अनुसन्धान र व्यवहारिक सिकाइको क्षेत्रमा कार्यरत कारखानामा हाल १०० भन्दा बढी युवाहरूको टोली आबद्ध छ । उनीहरूको साझा लक्ष्य विद्यालय तहमा वैज्ञानिक सोच र प्रयोग गर्ने संस्कृतिको विकास गर्नु हो ।

संस्थाले आगामी पाँच वर्षमा २० लाख बालबालिका माझ पुग्ने महत्त्वाकाङ्क्षी लक्ष्य राखेको छ । शैक्षिक सत्र २०८२ मा मात्रै यसले ३०० भन्दा बढी विद्यालय, ७०० भन्दा बढी विज्ञान शिक्षक र ४२ हजारभन्दा बढी विद्यार्थीहरूसँग काम गरी विज्ञान सिकाइलाई केवल घोक्ने विषय मात्र नभई प्रश्न गर्ने र प्रयोग गर्ने माध्यम बनाएको छ ।

यस अभियानलाई थप प्रभावकारी बनाउन कारखानाकै नेतृत्वमा एक कन्सोर्टियम गठन गरिएको छ । जसमा एफवन सफ्ट, युनाइटेड वर्ल्ड स्कुल, प्राइम कलेज, किङ्स कलेज र कारखाना समूह जस्ता प्रतिष्ठित संस्थाहरू आबद्ध भइसकेका छन् । यो समूह अन्य सदस्यहरूका लागि पनि खुला रहेको र यसको माध्यमबाट २०० भन्दा बढी सार्वजनिक र न्यून स्रोत भएका कक्षा कोठाहरूलाई सहयोग गर्ने लक्ष्य राखिएको छ ।

विद्यालय र शिक्षकले केके सुविधा पाउन सक्छन् ?

छनोट भएका कक्षा-कोठाहरूले वर्षभरका लागि प्रयोगात्मक विज्ञान सिकाइको प्याकेज प्राप्त गर्नेछन् । जसमा प्रत्येक हप्ताको विज्ञान प्रयोगात्मक कक्षाका लागि पर्याप्त सामग्री र सहयोग र पाठ्यक्रममा आधारित वर्षभरका लागि आवश्यक विज्ञान सामग्रीहरू रहनेछन् ।

साथै शिक्षकहरूका लागि साप्ताहिक रूपमा सञ्चालन हुने भर्चुअल सहयोग कक्षाहरू, सहभागी शिक्षकहरूका लागि काठमाडौँ विश्वविद्यालयबाट २-क्रेडिटको प्रमाणीकरण र कारखाना एप र डिजिटल सिकाइ स्रोतहरूमा पहुँच समेत प्राप्त हुनेछ । यो कार्यक्रम पुरै शैक्षिक सत्रभर सञ्चालन हुने एक निरन्तर प्रक्रिया भएको कारखानाले स्पष्ट पारेको छ ।

कसरी दिने आवेदन ?

विज्ञान सिकाइलाई सक्रिय र अर्थपूर्ण बनाउन प्रतिबद्ध रहेका सार्वजनिक विद्यालयहरूले यसमा आवेदन दिन सक्नेछन् । विशेष गरी सक्रिय शिक्षक भएका र कार्यक्रम कार्यान्वयनमा इच्छुक विद्यालयहरूलाई प्राथमिकता दिइने कारखानाले जनाएको छ ।

शैक्षिक सत्र २०८२ मा यो अनुदानले १८ स्थानका ३५ विद्यालय, १,००० भन्दा बढी विद्यार्थी र ३५ शिक्षकहरूलाई सहयोग गरी कक्षा कोठाको सिकाइमा परिवर्तन ल्याउन सफल भएको थियो । इच्छुक विद्यालयहरूले कारखानामा सम्पर्क गरी वा यहाँ क्लिक गरी अनलाइन फाराम मार्फत आवेदन दिन सक्नेछन् । थप जानकारीका लागि फोन नम्बर ९८०१८८८८२४ वा ईमेल [email protected] मा सम्पर्क गर्न सकिने छ ।

पछिल्लो अध्यावधिक: बैशाख २४, २०८३ २०:५९