close

गुगल ट्रान्सलेटको सहयोगमा यसरी सिक्नुहोस् विदेशी भाषाको सही उच्चारण

टेकपाना टेकपाना

बैशाख २७, २०८३ ९:२५

गुगल ट्रान्सलेटको सहयोगमा यसरी सिक्नुहोस् विदेशी भाषाको सही उच्चारण

काठमाडौँ । विश्वभर १ अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ता भएको गुगल ट्रान्सलेटको प्रयोग गरी तपाईँ सामान्य अनुवाद मात्र नभएर विदेशी भाषा र त्यसको सही उच्चारण सिक्न पनि सक्नु हुन्छ । आफ्नो स्थापनाको २० औँ वर्ष पुरा गरेको गुगल ट्रान्सलेट अब केवल शब्द अनुवाद गर्ने साधारण टुल मात्र रहेन ।

यसले एआईको भरपुर प्रयोग गर्दै तपाईँको व्यक्तिगत भाषा शिक्षकको रूपमा समेत काम गर्न थालेको छ । यदि तपाईँ कुनै नयाँ भाषा सिक्दै हुनुहुन्छ र उच्चारणलाई लिएर हिचकिचाहट छ भने गुगल ट्रान्सलेटको प्रयोग गरेर प्राकृतिक र स्पष्ट उच्चारणको विकास गर्न सक्नुहुन्छ ।

विभिन्न प्राज्ञिक अनुसन्धानहरूले गुगल ट्रान्सलेटलाई भाषा सिकाइको निकै प्रभावकारी टुल मानेका छन् । मलेसियामा गरिएको एक अध्ययनले भ्वाइस इनपुट प्रयोग गर्दा विद्यार्थीहरूको चिनियाँ (मन्डारिन) भाषाको उच्चारण, सुन्ने क्षमता र टोनमा उल्लेख्य सुधार आएको देखाएको छ ।

त्यस्तै अङ्ग्रेजी भाषाको भूतकाल जनाउने शब्दहरू (जस्तै: -ed जोडिएका शब्दहरूको /t/, /d/ र /id/ उच्चारण) सिक्न पनि यो प्रविधि निकै उपयोगी साबित भएको छ । विज्ञहरू स्याडोइङ (Shadowing) प्रविधिको प्रयोग गर्न सुझाव दिने गर्छन् ।

यो प्रविधिअन्तर्गत एपले बोलेको आवाजलाई ध्यान दिएर सुन्ने र दुरुस्तै त्यही लय (Rhythm) र टोनमा नक्कल गर्ने प्रयास गरिन्छ । बजारमा रहेको डुओलिङ्गो जस्ता एपहरू जग बसाल्न र उत्प्रेरित गर्न राम्रो भए पनि उच्चारणलाई नै सटीक र गल्ती रहित बनाउन भने गुगल ट्रान्सलेट निकै प्रभावकारी मानिएको छ । आफ्नै गल्तीबाट सिक्ने बानी र गुगल ट्रान्सलेट जस्तो अत्याधुनिक प्रविधिको सही उपयोगले तपाईँलाई विदेशी भाषामा छिट्टै पोख्त बनाउन मद्दत गर्नेछ ।

म्यानुअल विधि प्रयोग गरेर तपाईँले गुगल ट्रान्सलेटले सपोर्ट गर्ने जुनसुकै भाषाको उच्चारण सुधार्न सक्नुहुन्छ । यसका लागि सबैभन्दा पहिला गुगल ट्रान्सलेट एप खोलेर आफूले अभ्यास गर्न चाहेको भाषा छनौट गर्नुहोस् ।

अब आफूले उच्चारण अभ्यास गर्न चाहेको शब्द वा सानो वाक्य टाइप गर्नुहोस् । त्यसपछि स्पिकर आइकनमा ट्याप गरी उक्त वाक्यको सही उच्चारण ध्यान दिएर सुन्नुहोस् । सही उच्चारणको लय र टोन समात्ने गरी यसलाई पटक-पटक सुन्नुहोस् ।

यति गरिसकेपछि माइक्रोफोन आइकनमा ट्याप गर्नुहोस् र भर्खरै सुनेको वाक्यलाई स्पष्ट रूपमा आफैँ बोल्ने प्रयास गर्नुहोस् ।

गुगलको अटोमेटिक स्पिच रिकग्निसन (ASR) प्रविधिले तपाईँको आवाज सुनेर त्यसलाई अक्षरमा बदल्छ । यदि तपाईँले बोलेको र एपले लेखेको कुरा हुबहु मिल्यो भने तपाईँको उच्चारण सही छ भन्ने बुझिन्छ । मिलेन भने गल्ती सच्याउँदै फेरि अभ्यास गर्नुहोस् ।

गुगलले भर्खरै आफ्नो एन्ड्रोइड एपमा नयाँ प्राक्टिस (Practice) फिचर थपेको छ । यो पूर्ण रूपमा एआईमा आधारित उच्चारण सिकाउने कोच हो । हाल यो फिचर अमेरिका र भारतमा अङ्ग्रेजी, स्पेनिस, फ्रेन्च, जर्मन, पोर्चुगिज र हिन्दी भाषामा उपलब्ध छ र चाँडै अन्यत्र पनि उपलब्ध हुँदैछ । यसलाई प्रयोग गर्न एपको तल रहेको Practice मेनुमा ट्याप गरी Get Started मा जानुहोस् ।

अब आफूले सिक्न चाहेको भाषा छान्नुहोस् । आफ्नो स्तर (Basic, Intermediate वा Advanced) र सिक्नुको उद्देश्य (जस्तै: काम, यात्रा, वा सामान्य कुराकानी) रोज्नुहोस् ।

त्यसपछि Listen र Roleplay मोड छान्न सकिन्छ । यहाँ तपाईँले एआईसँग वास्तविक जीवनका कुराकानी (जस्तै: म्युजियम जाँदा, किताब किन्दा) को प्रत्यक्ष अभ्यास गर्न सक्नुहुन्छ ।

तपाईँले बोल्दा यसले रियल-टाइममा मूल्याङ्कन गर्छ । यदि तपाईँको उच्चारण बिग्रियो भने 'केही आवाज स्पष्ट भएन' भनेर यसले तत्काल फिडब्याक दिन्छ र शब्दलाई कसरी जोड दिएर बोल्ने भनेर सिकाउँछ ।

माइक वा अडियोले काम नगरेमा के गर्ने ?

कहिलेकाहीँ अभ्यास गर्दा एपले तपाईँको आवाज नटिप्ने वा स्पिकरबाट आवाज नआउने समस्या हुन सक्छ । यस्तो अवस्थामा मोबाइलमा रहेको गुगल ट्रान्सलेट एपमा लामो प्रेस गरी App Info (i) मा जानुहोस् र Permissions भित्र Microphone लाई Allow गर्नुहोस् ।

साथै मोबाइलको सेटिङभित्र Privacy मा गएर पनि Microphone Access अन भएको निश्चित गर्नुहोस् । एप इन्फोमै गएर Storage भित्र Clear Cache र Clear Data गर्नुहोस् ।

फोनमा कुनै इयरफोन वा ब्लुटुथ डिभाइस कनेक्ट भएर आवाज उतै गएको पो छ कि, चेक गरेर त्यसलाई बन्द गर्नुहोस् । प्ले स्टोरमा गएर एप अपडेट गर्नुहोस् । यति गर्दा पनि भएन भने एपलाई अनइन्स्टल गरी फेरि इन्स्टल गर्नुहोस् र एक पटक आफ्नो फोनलाई रिस्टार्ट गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: बैशाख २७, २०८३ १०:४७