अब नेपाल टेलिकमको ई-सिम अनलाइनबाटै लिन सकिने, हट्यो कार्यालय पुग्नैपर्ने बाध्यता
बैशाख २८, २०८३ १२:४०
काठमाडौँ । अब नेपाल टेलिकमको नयाँ प्रिपेड ई-सिम अनलाइनबाटै लिन सकिने भएको छ । यससँगै सिम लिन ग्राहक स्वयम् नेपाल टेलिकमको कार्यालय जानुपर्ने बाध्यता हटेको हो ।
यसका लागि नयाँ प्रिपेड ई–सिम लिन चाहने सेवाग्राहीले सबैभन्दा पहिला esim.ntc.net.np मा लगइन गरी त्यहाँ रहेको Get New Prepaid eSIM मा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि दिइएको निर्देशन अनुसार रजिस्टर गरी आवश्यक विवरण उपलब्ध गराउनु पर्नेछ ।
यति गरिसकेपछि विभिन्न वालेट तथा क्यूआर कोडमार्फत रकम भुक्तानी गरे पश्चात् ई-सिमको क्यूआर कोड प्राप्त हुन्छ । उक्त क्यूआर कोड स्क्यान गरी आफ्नो मोबाइल सेटको सेटिङमार्फत ई–सिम सक्रिय गर्न सकिने कम्पनीले जनाएको छ ।
वेबसाइटमा यसअघिदेखि नै प्रयोगमा रहेको सिमलाई अनलाइनमार्फत ई–सिम बनाउन सकिने सुविधा समेत उपलब्ध छ । नयाँ भौतिक सिम लिनका लागि आवश्यक फाराम भर्न र ग्राहक विवरण अर्थात् केवाईसी दर्ता गर्न वा अद्यावधिक गर्नका लागि आवश्यक अनलाइन केवाईसी पोर्टल समेत यसैमा उपलब्ध छ ।
पछिल्लो अध्यावधिक: बैशाख २८, २०८३ १२:४०
