आफ्नो चरित्रहत्या भएको भन्दै सांसद खरेलले दिए ‘राजधानी’ मिडियाविरुद्ध साइबर ब्युरोमा उजुरी
बैशाख २८, २०८३ २०:०
काठमाडौँ । अपुष्ट तथा भ्रामक समाचारमार्फत चरित्रहत्या भएको आरोप लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सञ्चारमाध्यमविरुद्ध साइबर ब्युरो र प्रेस काउन्सिल नेपालमा उजुरी दिएका छन् ।
खरेलले सोमबार ‘राजधानी दैनिक’ पत्रिका र त्यसको अनलाइन संस्करण र सामाजिक सञ्जाल अकाउन्टविरुद्ध उजुरी दर्ता गरेका हुन् । उनले भ्रामक, झुटो तथा आधारहीन समाचारबाट आफ्नो प्रतिष्ठा र स्वाभिमानमा गम्भीर आघात पुगेको दाबी गरेका छन् ।
फेसबुकमार्फत जानकारी दिँदै खरेलले सम्बन्धित सञ्चारमाध्यमले माफी माग्दै आफ्नो खण्डनलाई समाचारसरह प्राथमिकताका साथ प्रकाशित गर्नुपर्ने माग गरेका छन् । उनले लेखेका छन्, “मेरो बारे भ्रामक, झुटा, आधारहीन तथा कपोलकल्पित समाचार प्रकाशित गर्ने राजधानी दैनिक नामक पत्रिका विरुद्ध आजै प्रेस काउन्सिल नेपाल तथा नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दर्ता गरेको छु ।”
उनले अगाडि लेखेका छन्, भ्रम फैलाउने केही सामाजिक सञ्जालविरुद्ध पनि मैले उजुरी दिएको छु । सम्बन्धित पत्रिकाले माफी माग्दै मेरो सार्वजनिक रूपमा आएको खण्डनलाई अघिल्लो समाचारसरह प्राथमिकताका साथ प्रकाशित गर्न माग गर्दछु । यस घटनाले मेरो प्रतिष्ठा र स्वाभिमानमा गम्भीर ठेस पुगेको छ ।”
साइबर ब्युरोमा उजुरी दिँदै उनले विपक्षी राजधानी न्यूज पब्लिकेशन प्रा. लि. लाई विद्युतिय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा कारबाहीको माग राखेका छन् ।
इन्टरनेटको माध्यमबाट सामाजिक सञ्जालहरूमा आफ्नो विरुद्धमा कानुनले प्रकाशन तथा प्रसारण गर्न रोक लगाएको सामग्रीहरू, सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री, निवेदकप्रति घृणा वा द्वेष फैलाउन कार्य गरेको खरेलको आरोप छ ।
स्मार्ट टेलिकमको ३० अर्ब बक्यौता र सम्पत्ति लिलामीको सन्दर्भबारे आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति खरेलले आपत्ति जनाएका हुन् । आज बसेको प्रतिनिधि सभा बैठकमा समेत उनले स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै उनले यसलाई प्रमाणित गरे राजनीतिबाटै सन्न्यास लिने घोषणा गरेका थिए ।
पछिल्लो अध्यावधिक: बैशाख २८, २०८३ २०:१३
