close

ट्यालेन्ट आउटसोर्सिङ इन्डेक्सः विश्वका शीर्ष २० देशमा नेपाल

टेकपाना टेकपाना

बैशाख २९, २०८३ १०:१८

ट्यालेन्ट आउटसोर्सिङ इन्डेक्सः विश्वका शीर्ष २० देशमा नेपाल

काठमाडौँ । नेपाल विश्वभरका ट्यालेन्ट आउटसोर्सिङका लागि उत्कृष्ट २० देशहरूको सूचीमा पर्न सफल भएको छ । संयुक्त राष्ट्र सङ्घबाट मान्यता प्राप्त १९३ देशहरूबिच गरिएको यस प्रतिस्पर्धात्मक र्‍याङ्किङमा नेपाल १९ औँ स्थानमा रहन सफल भएको हो ।

अटाराक्सिस ग्लोबल आउटसोर्सिङ ट्यालेन्ट इन्डेक्समा फिलिपिन्स ९०.६५ अङ्कका साथ शीर्ष स्थानमा छ भने मलेसिया दोस्रो र भारत तेस्रो स्थानमा रहेका छन् । दक्षिण एसियाली क्षेत्रबाट पाकिस्तान १६औँ, र बङ्गलादेश २० औँ स्थानमा रहँदै उत्कृष्ट २० को सूचीमा अटाएका छन् ।

नेपालले कूल १०० अङ्कमा ७९.६५ अङ्क प्राप्त गरेको छ । विभिन्न पाँच मुख्य मापदण्डका आधारमा यो मूल्याङ्कन गरिएको हो । जसअनुसार श्रम लागतको क्षेत्रमा नेपालले ९६ अङ्क प्राप्त गरेको छ, जसले नेपाललाई आउटसोर्सिङका लागि अत्यधिक लागत-प्रभावी गन्तव्यका रूपमा देखाउँछ ।

त्यस्तै अर्को मापदण्डअनुसार प्राप्त ८० अङ्कले नेपालमा अङ्ग्रेजी बोल्ने जनशक्तिको राम्रो उपलब्धता रहेको देखिएको छ । जनशक्ति उपलब्धताको सवालमा भने नेपालले ५० अङ्क प्राप्त गरेको छ ।

डिजिटल पूर्वाधारको क्षेत्रमा नेपालको स्कोर ४० रहेको छ भने व्यावसायिक, कानुनी र राजनीतिक स्थिरताका लागि नेपालले ५० अङ्क पाएको छ ।

ग्लोबल आउटसोर्सिङ ट्यालेन्ट इन्डेक्सले मुख्य ५ वटा कारकहरूलाई अङ्क भार दिएर देशहरूको वर्गीकरण गरेको छ । जसअनुसार श्रम लागतमा ५२.५%, अङ्ग्रेजी भाषाको दक्षतामा २०%, जनशक्ति उपलब्धतामा १७.५%, डिजिटल पूर्वाधारमा ५% र व्यावसायिक, कानुनी र राजनीतिक स्थिरतामा ५% रहेको छ ।

यस अध्ययनले विश्व बैङ्क, युनेस्को, लिङ्क्डइन, ईएफ इङ्गलिस प्रोफिसियन्सी इन्डेक्स तथा टोफेल रिजल्ट, इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आईटीयू) र हेरिटेज फाउन्डेसन जस्ता आधिकारिक तथ्याङ्कहरूको प्रयोग गरेको छ ।

किन महत्त्वपूर्ण छ यो सूचकाङ्क ?

यो सूचकाङ्क विशेषगरी स्टार्टअप संस्थापकहरू, मानव संसाधन (एचआर) प्रमुखहरू र विश्वव्यापी रूपमा दक्ष तथा किफायती जनशक्ति खोजिरहेका लगानीकर्ताहरूका लागि तयार पारिएको हो । प्रतिवेदन अनुसार राष्ट्रिय औसतमा डिजिटल पूर्वाधार वा अङ्ग्रेजी भाषाको दक्षता कम देखिए पनि व्यक्तिगत तहमा दक्ष प्रोफेसनलहरूसँग उच्च गतिको इन्टरनेट र उत्कृष्ट भाषागत सीप हुने गर्दछ, जुन आउटसोर्सिङका लागि महत्वपूर्ण हुन्छ ।

नेपाल १९ औँ स्थानमा रहनुले विश्वव्यापी बजारमा नेपाली जनशक्ति, विशेषगरी आईटी, डिजिटल मार्केटिङ, अकाउन्टिङ र ग्राहक सेवा जस्ता क्षेत्रमा प्रतिस्पर्धी बन्दै गएको सङ्केत गर्दछ । यसले नेपाललाई अन्तर्राष्ट्रिय कम्पनीहरूका लागि रिमोट कार्य र आउटसोर्सिङको एक प्रमुख हबका रूपमा स्थापित गर्न मद्दत पुर्‍याउने सम्भावना देखिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २९, २०८३ १०:२२