नेपालमै सुरु भयो कक्षा-कोठाको साटो समुदायमा पढाइने स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम एमएसआईई
बैशाख २९, २०८३ ११:१
काठमाडौँ । नेपाल कम्युनिभर्सिटीले काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यमा सामाजिक नवप्रवर्तन तथा उद्यमशीलता (Master’s in Social Innovation and Entrepreneurship – MSIE) विषयको स्नातकोत्तर तहको शैक्षिक कार्यक्रमको सुरु गरेको छ । नेपालको उच्च शिक्षाको क्षेत्रमा नयाँ सम्भावना र सशक्त भावना जागृत गर्ने एउटा उद्देश्यका साथ यो नयाँ पहल थालिएको हो ।
आउँदो अक्टोबरदेखि विभिन्न शैक्षिक पृष्ठभूमिका ३० जना विद्यार्थीहरूको सहभागितामा सञ्चालन हुने यस कार्यक्रमले परम्परागत कक्षा-कोठाको सीमित घेरालाई तोड्ने लक्ष्य राखेको छ । 'समुदाय नै पाठ्यक्रम' (community-as-curriculum) र 'अनुभवजन्य सिकाइ' (experiential learning) को मौलिक अवधारणामा आधारित यस कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले नेपालका तीन फरक भौगोलिक क्षेत्रमा पुगेर प्रत्यक्ष अनुभवमार्फत अध्ययन गर्नेछन् ।
पाठ्यक्रमलाई हिमाल, पहाड र तराई गरी तीन त्रैमासिक चरणमा विभाजन गरिएको छ । जसअनुसार मुस्ताङ, चित्लाङ र जनकपुरमा अध्यापन गराइनेछ । अन्तिम चरणको रूपमा भने काठमाडौँमा क्यापस्टोन सेमेस्टर सम्पन्न हुनेछ ।
विद्यार्थीहरूले प्रत्येक समुदायमा त्यहाँका स्थानीय सदस्यहरूसँग मिलेर समुदायमा आधारित परियोजनाहरूमा काम गर्नेछन् । यसमा उद्यमशीलता, सामाजिक विज्ञान र प्रविधिलाई समग्र सामाजिक कल्याणसँग जोड्दै एउटा अन्तर-विषयगत दृष्टिकोण समावेश गरिएको छ ।
उद्घाटन सत्रमा बोल्दै नेपाल कम्युनिभर्सिटीका अध्यक्ष नरोत्तम अर्यालले भने, “हाम्रो दृष्टि स्थानीय रूपमा जरा गाडेको तर विश्वस्तरमा सक्षम शिक्षा निर्माण गर्नु हो । हामी त्यस्ता व्यक्तिहरूको विकास गर्दैछौँ, जसले आफूलाई चिनेको, समाजलाई बुझेको, सीप सिकेको र उद्यमशील सोच बोकेको हुनेछन् ।”
त्यस्तै काठमाडौँ विश्वविद्यालयको कला संकायका डीन प्राडा उद्धव प्याकुरेलले यस कार्यक्रममार्फत विद्यार्थीहरूले नेपालभित्रै रहेका सम्भावनाहरू पहिचान गर्ने र वास्तविक समस्याहरूको अर्थपूर्ण समाधान विकास गर्नेमा विश्वास व्यक्त गरे ।
कार्यक्रमका प्रमुख वक्ता डा उत्तमबाबु श्रेष्ठले प्रविधि, एल्गोरिदम र सहरतर्फ तीव्र रूपमा दौडिरहेको वर्तमान समाजको सन्दर्भमा यो कोर्सले समुदाय, प्रकृति र गाउँहरूमा ध्यान केन्द्रित गर्नु निकै महत्त्वपूर्ण रहेको बताए । उनले नयाँ विद्यार्थीहरूलाई भविष्य निर्माण गर्दा इतिहासप्रति जिम्मेवार हुन र उद्यमशीलताको बाटोमा लाग्दा मानवीय नैतिकताको सीमालाई भुल्न नहुने सन्देश दिए ।
नेपाल कम्युनिभर्सिटीले मानविकी, विज्ञान, व्यवसाय वा प्रविधि जुनसुकै शैक्षिक पृष्ठभूमिका विद्यार्थीहरूलाई यस रूपान्तरणकारी सिकाइ यात्रामा सहभागी हुन आमन्त्रण गरेको छ । एमएसआईई कार्यक्रमका लागि आवेदन खुला भइसकेको छ भने यसबारे थप जानकारी कम्युनिभर्सिटीको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ ।
पछिल्लो अध्यावधिक: बैशाख २९, २०८३ ११:२
