स्क्यामका विज्ञापनमार्फत अर्बौँ डलर नाफा कमाउँदै मेटा, अमेरिकाको क्यालिफोर्नियामै दर्ता भयो मुद्दा
बैशाख ३१, २०८३ ११:१७
काठमाडौँ । फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटामाथि ज्येष्ठ नागरिकहरूलाई लक्षित गरी सञ्चालन गरिने ठगीका विज्ञापनहरूलाई नियन्त्रण गर्न असफल भएको र उल्टै त्यसबाट ठुलो नाफा कमाएको गम्भीर आरोप लागेको छ । सेन्टर फर काउन्टरिङ डिजिटल हेट (सीसीडीएच) को नयाँ प्रतिवेदन र क्यालिफोर्नियाको सान्टा क्लारा काउन्टीले मुद्दा दायर गरेसँगै मेटाको विज्ञापन संयन्त्रभित्रका विकृति सार्वजनिक भएका हुन् ।
प्रतिवेदन अनुसार फेसबुकमा सक्रिय ३० वटा सबैभन्दा ठुला स्क्यामर अकाउन्टले मात्र पछिल्लो एक वर्षमा २१ करोड ५० लाख पटक आफ्ना विज्ञापनहरू प्रयोगकर्तालाई देखाएका छन् । अचम्मको कुरा त के छ भने यी विज्ञापनहरू हेर्नेमध्ये ७३ प्रतिशत प्रयोगकर्ता ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरू रहेका छन् । एनबीसी न्युजका अनुसार यी विज्ञापनहरूमा अमेरिकी राष्ट्रपति जो बाइडेन, पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प, ओप्रा विन्फ्रे, स्टिभ हार्भे र ब्राड पिट जस्ता चर्चित हस्तीहरूका नक्कली तस्बिर वा भिडिओहरू प्रयोग गरी मानिसहरूलाई भ्रममा पार्ने गरिएको छ ।
ठगी गर्नेहरूले मुख्यतया मेडिकेयर मार्फत नि:शुल्क खाद्यान्न, भाडा र ग्यासका लागि ३,६०० डलरसम्मको सहायता पाउने लोभ देखाउने गरेका छन् । विज्ञापनमा 'मूर्ख नबन्नुहोस्, अहिले नै दाबी गर्नुहोस्' जस्तो भाषा प्रयोग गरिन्छ । जब प्रयोगकर्ताहरूले ती लिङ्कहरूमा क्लिक गर्छन्, उनीहरूको व्यक्तिगत डेटा चोरी गरिन्छ वा उनीहरूलाई कमसल खालका स्वास्थ्य योजनाहरूमा आबद्ध गराइन्छ ।
मुद्दामा मेटाले जानाजानी ठगीका विज्ञापनहरूबाट नाफा कमाएको र क्यालिफोर्नियाको 'झूटा विज्ञापन र अनुचित व्यापार अभ्यास' सम्बन्धी कानुन उल्लङ्घन गरेको आरोप लगाइएको छ । रोयटर्सले सार्वजनिक गरेको मेटाको आन्तरिक दस्तावेजलाई उद्धृत गर्दै कम्पनीले वार्षिक आम्दानीको करिब १० प्रतिशत हिस्सा (करिब ७ अर्ब डलर) यस्तै उच्च जोखिम भएका वा प्रतिबन्धित वस्तुका विज्ञापनबाट कमाउने प्रक्षेपण गरिएको छ ।
सान्टा क्लारा काउन्टीका काउन्सिल टोनी लोप्रेस्टीले भनेका छन्, "मेटाको दुराचार असाधारण स्तरमा पुगेको छ र यसलाई रोक्न आवश्यक छ ।" यस्ता ठगीका कारण ज्येष्ठ नागरिक मात्र होइन, उनीहरूका परिवार समेत तनावमा छन् ।
लास भेगासकी मरिसा गार्सियाले एनबीसी न्युजलाई बताए अनुसार उनकी ७९ वर्षीया हजुरआमाले फेसबुकमा विज्ञापन देखेर आफ्नो मेडिकेयर नम्बर र व्यक्तिगत विवरण अपरिचित व्यक्तिलाई दिन लागेकी थिइन् । उनकी हजुरआमाको तर्क थियो, "यदि यो ठगी हुन्थ्यो भने फेसबुकले यसलाई किन राख्न दिन्थ्यो र ?"
मेटाका प्रवक्ता एन्डी स्टोनले यी आरोपहरूको खण्डन गर्दै कम्पनीले गत वर्ष मात्र १५ करोड ९० लाख स्क्यामका विज्ञापन हटाएको दाबी गरेका छन् । उनले भनेका छन्, "ठगहरूले हाम्रा प्लेटफर्महरूमा पत्ता लाग्नबाट बच्न निकै परिष्कृत रणनीतिहरू प्रयोग गरिरहेका छन् । तर हामी उनीहरू विरुद्ध आक्रामक रूपमा लडिरहेका छौँ ।"
यद्यपि, सीसीडीएचको प्रतिवेदनले मेटाले आफ्नै नीति उल्लङ्घन गर्ने विज्ञापनदाताहरूलाई पनि पटक-पटक विज्ञापन चलाउन दिएको देखाएको छ । उदाहरणका लागि गोल्डेन हेल्प फर अल नामक एउटा अकाउन्टले १,३३५ पटक नीति उल्लङ्घन गर्दा पनि मेटाले त्यसलाई विज्ञापन चलाउन अनुमति दिइरहेको थियो । कतिपय अवस्थामा एउटै भिडिओ भएका ८६ वटा विज्ञापनमध्ये मेटाले ४८ वटालाई मात्र अस्वीकार गरेर बाँकी ३८ वटालाई सञ्चालन गर्न दिएको पाइएको छ ।
हाल मेटा विरुद्ध उपभोक्ता महासङ्घ र अन्य विभिन्न निकायहरूले पनि मुद्दा दायर गरेका छन् । जसको सुनुवाइ आगामी महिनाहरूमा हुने तय भएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख ३१, २०८३ ११:१७
