close

स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरण: थुनामुक्त भए इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे

टेकपाना टेकपाना

जेठ २, २०८३ १२:२३

स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरण: थुनामुक्त भए इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे

काठमाडौँ । सरकारी नियन्त्रणमा आइसकेको स्मार्ट टेलिकमको सम्पत्ति अवैध रूपमा लिलामी गरेको आरोपमा पक्राउ परेका नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई रिहा गर्न अदालतले आदेश दिएको छ ।

शुक्रबार न्यायाधीशहरू शारंगा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले पाण्डेकी श्रीमती निरु दाहालले दायर बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै हाजिर जमानीमा थुनामुक्त गर्न आदेश दिएको हो । अदालतले पाण्डेलाई रिहा गरे तापनि विदेश जानु परेमा अदालतको पूर्व अनुमति लिनुपर्ने सर्त राखेको  छ । 

स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरी सरकारको हक टुटाएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पाण्डेलाई गत मंगलबार सिन्धुलीबाट नियन्त्रणमा लिएको थियो ।

अनुमतिपत्र नवीकरण नगरेपछि स्वतः नेपाल दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा पुगेको स्मार्ट टेलिकमको झन्डै ३० अर्ब रुपैयाँ बराबरको सम्पत्ति र उपकरणहरू बैंकले लिलाम बिक्री गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

ठगी र आपराधिक विश्वासघातको आरोप सीआईबीले पाण्डेमाथि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ठगी तथा आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान गरिरहेको छ ।

'दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली २०७९' अनुसार लाइसेन्स रद्द भएको कम्पनीको पूर्वाधार र नेटवर्कमा राज्यको अधिकार रहने व्यवस्था भए तापनि पाण्डेले बैंकको 'लोन रिकभरी कमिटी' को अध्यक्षको हैसियतमा लिलामी प्रक्रिया अगाडि बढाएको प्रहरीको दाबी छ ।

यस्तै, लिलामीको सूचना निकाल्दा स्मार्ट टेलिकमले तिर्नुपर्ने घरभाडा र विद्युत् महसुल बापतको ४० करोड रुपैयाँ असुल गरी सम्बन्धित पक्षलाई नबुझाई बैंकमै राखेको अर्को आरोप समेत पाण्डेमाथि लागेको छ ।

यसअघि सीआईबीले सोही प्रकरणमा स्मार्ट टेलिकमका तत्कालीन अध्यक्ष सर्वेश जोशीलाई समेत पक्राउ गरिसकेको छ ।

पछिल्लो अध्यावधिक: जेठ २, २०८३ १२:३६