close

मुस्ताङको लोमान्थाङबाट ५९० कार्टुन विद्युतीय चुरोट (भेप) सहित २ वटा कन्टेनर सशस्त्रको नियन्त्रणमा

टेकपाना टेकपाना

जेठ ३, २०८३ ११:२२

मुस्ताङको लोमान्थाङबाट ५९० कार्टुन विद्युतीय चुरोट (भेप) सहित २ वटा कन्टेनर सशस्त्रको नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरीले मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिका-४ स्थित एक्लेभट्टीबाट ठुलो परिमाणमा चाइनिज इलेक्ट्रिक चुरोट (भेप) सहित २ वटा कन्टेनर नियन्त्रणमा लिएको छ । जेठ १ गते राती ५९० कार्टुन भेप लगायतका अन्य विभिन्न सामान सहित तीन जनालाई नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएकाहरूमा धादिङ जिल्लाको धुनीबेशी नगरपालिका–१ बस्ने सन्तोष लामा, सिन्धुपाल्चोक, भोटेकोशी-२ बस्ने फुन्चुदोर्जे तामाङ र निजका साथि सोही गाउँपालिका–३ बस्ने पासाङ शेर्पा रहेका छन् ।
ना ६ ख ४७४३ र ना ५ ख ७९२१ नम्बरको कन्टेनरमा कोरोला नाकाहुँदै काठमाडौँतर्फ आउँदै गरेका उनीहरूलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट नेचुङ, नेपाल प्रहरी र मुस्ताङ भन्सार कार्यालयको संयुक्त टोलीले सामानसहित नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको सामानमा इलेक्ट्रिक भेपसहित २ सय ५९ कार्टुन विभिन्न कम्पनीका जुत्ता, ८ बोरा मोजा, १५ बोरा लत्ताकपडा र १५ केजी खाली कार्टुन बक्स (सामान प्याक गर्न प्रयोग गरिने खाली बक्स) समेत रहेको उल्लेख छ ।
नियन्त्रणमा लिइएकाहरूलाई आवश्यक कार्बाहीको लागि नेपाल प्रहरीलाई र बरामद सामान मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीका प्रवक्ता बिष्णुप्रसाद भट्टले बताए ।

पछिल्लो अध्यावधिक: जेठ ३, २०८३ ११:२२