विन्डोज ११ मा एडजस्ट गर्न मिल्ने टास्कबार र आकार परिवर्तन गर्न मिल्ने स्टार्ट मेनु
जेठ ३, २०८३ १३:९
काठमाडौँ । माइक्रोसफ्टले विन्डोज ११ प्रयोगकर्ताहरूका लागि नयाँ अपडेट सार्वजनिक गरेको छ । विशेषगरी विन्डोज इन्साइडर प्रोग्रामको एक्सपेरिमेन्टल च्यानलमा रहेका प्रयोगकर्ताहरूका लागि यी परिवर्तन ल्याइएको हो, जसले टास्कबार र स्टार्ट मेनुलाई अझ बढी लचिलो र व्यक्तिगत बनाउन अनुमति दिनेछ ।
यस अपडेटको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको टास्कबारलाई स्क्रिनको जुनसुकै छेउमा सार्न मिल्ने सुविधा हो । अब प्रयोगकर्ताहरूले सेटिङ्समा गएर टास्कबारलाई स्क्रिनको तल, माथि, बायाँ वा दायाँ राख्न सक्नेछन् । टास्कबार जुन स्थानमा राखिएको छ, स्टार्ट मेनु, सर्च र अन्य एनिमेसनहरू पनि त्यही दिशाबाट खुल्ने व्यवस्था गरिएको छ ।
यसका साथै टास्कबारका आइकनहरूको अलाइनमेन्टमा पनि सुधार गरिएको छ । यदि टास्कबार बायाँ वा दायाँ राखिएको छ भने आइकनहरूलाई टप-अलाइन वा सेन्टर्ड गर्न सकिन्छ । त्यसैगरी माथि वा तल राख्दा लेफ्ट-अलाइन वा सेन्टर्ड गर्ने विकल्प उपलब्ध छ ।
साना डिभाइसहरूका लागि स्क्रिनको ठाउँ बचाउन स्मल टास्कबारको विकल्प पनि दिइएको छ । जसमा आइकन र टास्कबारको उचाइ कम हुनेछ । तर स्टार्ट, सर्च, सिस्टम ट्रे जस्ता मुख्य चिजहरू भने सन्तुलित रूपमा देखिनेछन् ।
भर्टिकल टास्कबार प्रयोग गर्दा अब हरेक विन्डो छुट्टाछुट्टै लेबलसहित देखिनेछन् । जसले गर्दा एपहरू बीच स्विच गर्न सजिलो हुनेछ । माइक्रोसफ्टले भविष्यमा अटो-हाइड, टच जेस्चर र सर्च बक्स जस्ता सुविधाहरू पनि पुन: भित्र्याउने योजना बनाएको छ ।
स्टार्ट मेनुमा नयाँ सुविधा
स्टार्ट मेनुमा पनि प्रयोगकर्ताको चाहना अनुसारका परिवर्तन समावेश गरिएका छन् । अब प्रयोगकर्ताहरूले स्टार्ट मेनुको आकार सानो वा ठुलो छान्न सक्नेछन् । यसअघि विन्डोज ११ को अपडेटपछि स्टार्ट मेनु निकै ठुलो भएको गुनासो आएपछि माइक्रोसफ्टले यो विकल्प दिएको हो ।
मेनु भित्रका सेक्सनहरू जस्तै Pinned, Recommended (जसलाई अहिले Recent नामाकरण गरिएको छ) र All एपहरूलाई देखाउने वा लुकाउने गरी टगल बटनहरू थपिएका छन् । उदाहरणका लागि यदि कसैले Recommended र All सेक्सन बन्द गरेमा स्टार्ट मेनुमा केवल Pinned गरिएका एपहरू मात्र देखिनेछन् ।
गोपनीयतालाई ध्यानमा राख्दै स्क्रिन शेयरिङ वा स्ट्रिमिङ गर्दा आफ्नो नाम र प्रोफाइल तस्बिर लुकाउन मिल्ने फिचर पनि थपिएको छ ।
विजेट्स र सर्चमा सुधार
माइक्रोसफ्टले विजेट्सको अनुभवलाई सुधार गर्दै टास्कबार ब्याजिङमा परिवर्तन ल्याएको छ । अब नोटिफिकेसन ब्याच सधैँ रातो देखिनुको सट्टा विन्डोजको एक्सेन्ट कलरसँग मेल खानेछ । साथै प्रयोगकर्ताको संलग्नता अनुसार विजेट्सको नोटिफिकेसन आफैँ शान्त हुने प्रविधि पनि परीक्षण भइरहेको छ । विन्डोज सर्च बक्सलाई अझ सान्दर्भिक बनाउन वेबका सुझावहरू भन्दा डिभाइसमा रहेका फाइल र एपहरूलाई प्राथमिकता दिइनेछ ।
माइक्रोसफ्टका डिजाइन निर्देशक डिएगो बाकाका अनुसार यी परिवर्तनहरू प्रयोगकर्ताहरूको विश्वास जित्ने प्रयासको एक हिस्साको रूपमा ल्याइएका हुन् । यी सुविधाहरू अहिले परीक्षणको चरणमा छन् र आगामी हप्ताहरूमा क्रमशः सबै इन्साइडरहरूका लागि उपलब्ध गराइनेछ ।
प्रयोगकर्ताहरूले यी फिचरहरू प्रयोग गरेर आफ्नो फिडब्याक दिन सक्ने बताइएको छ । जसका आधारमा यसलाई भविष्यमा सबै विन्डोज ११ प्रयोगकर्ताहरूका लागि सार्वजनिक गरिनेछ ।
पछिल्लो अध्यावधिक: जेठ ३, २०८३ १३:९
