नेपालमा जलविद्युत्बाट निकालिएको हाइड्रोजनमा खाना पकाउने प्रविधिको परीक्षण सफल, एलपीजीभन्दा सस्तो पर्ने !
जेठ ३, २०८३ १८:३३
काठमाडौँ । नेपालमा लघु जलविद्युत्बाट उत्पादित ग्रिन हाइड्रोजन प्रयोग गरेर खाना पकाउने प्रविधिको परीक्षण सफल देखिएको छ । बागलुङको बडीगाड गाउँपालिकास्थित गिरिङ्दी खोला लघु जलविद्युत् आयोजनामा सञ्चालन गरिएको पाइलट परियोजनामा उक्त प्रविधिको परीक्षण गरिएको हो ।
नेपाल इनर्जी फाउन्डेसनका प्रबन्ध निर्देशक डिल्ली घिमिरेका अनुसार गिरिङ्दी खोला लघु जलविद्युत्बाट उत्पादित बिजुली बिहान र साँझको समयमा स्थानीयहरूले उपभोग गर्दै आएका छन् । तर दिउँसो र रातिको समयमा विद्युत्को उपभोग कम हुने भएकाले खेर जाने गरेको छ । सोही अवस्थालाई मध्यनजर गर्दै त्यसलाई हाइड्रोजन ऊर्जामा बदल्ने प्रयास गरिएको हो ।
यो प्रविधिको विकासका लागि झन्डै तीन वर्षदेखि अनुसन्धान भइरहेको थियो । यसमा काठमाडौँ विश्वविद्यालय (केयू) र स्विट्जरल्यान्डको लुसन विश्वविद्यालयका ल्याबमा लामो समयसम्म अनुसन्धान भएको थियो । एस एन्ड एओ कम्पनी लिमिटेड यूके र एचएसएलयू स्विट्जरल्यान्ड साझेदार तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र काठमाडौँ, नेपाल इनर्जी फाउन्डेसन तथा उर्जा र वातावरणका लागि महिला सञ्जालले सञ्चालन गरेको यो पाइलट परियोजनामा इनोभेट यूकेको आर्थिक सहयोग रहेको छ ।
बढी समय ल्याबमा अनुसन्धानमा बिताइएकोमा करिब १५ महिना अघिदेखि भने स्थानीय स्तरमा उत्पादन र परीक्षण सुरु गरिएको थियो । अहिलेसम्म १२ भन्दा बढी हाइड्रोजन ग्यास भरिएका सिलिन्डर तयार भएका छन् ।
कसरी काम गर्छ यो प्रविधि ?
लघु जलविद्युत्बाट प्राप्त हुने बिजुली प्रयोग गरेर इलेक्ट्रोलाइजर मार्फत पानीबाट अक्सिजनलाई अलग्याएर हाइड्रोजन निकालिन्छ । उक्त हाइड्रोजनलाई ग्यास सिलिन्डरमा रिफिल गरिन्छ । यो हाइड्रोजनको उपभोग गर्नका लागि छुट्टै चुलो समेत तयार पारिएको छ ।
प्रबन्ध निर्देशक घिमिरेले भने, “हाल यो प्रविधि गिरिङ्दी खोला लघु जलविद्युत आयोजनाको कार्यालयको भान्छामा सफलतापूर्वक प्रयोग भइरहेको छ ।” एक किलो हाइड्रोजन ग्यासले कति समयसम्म खाना पकाउन सकिन्छ, एक सिलिन्डर ग्रिन हाइड्रोजन ग्यास तयार पार्न कति विद्युत् खपत हुन्छ, लगायतका विषयको यकिन जानकारी थाहा पाउन भने समय लाग्ने उनले जानकारी दिए ।
सैद्धान्तिक रूपमा यो प्रविधि एलपी ग्यासभन्दा सस्तो पर्न सक्ने प्रबन्ध निर्देशक घिमिरेले बताए । “यति नै पर्छ भन्ने स्तरको अनुसन्धान त भइसकेको छैन । तर, नेपालमा उत्पादन सुरु गरेर व्यावसायिक प्रयोग गर्ने हो भने एलपी ग्यासभन्दा सस्तो पर्न जान्छ ।”
यो प्रविधिको सफलतापूर्वक परीक्षण भएपनि यसलाई सर्वसाधारणको भान्छासम्म पुर्याउन अझै धेरै लामो प्रक्रिया बाँकी रहेको प्रबन्ध निर्देशक घिमिरे बताउँछन् । “सरकारले हाइड्रोजन सम्बन्धी स्पष्ट नीति, कानुन र गुणस्तर मापदण्ड तोक्न आवश्यक छ । यसको नियमनकारी निकाय बनाउँदै बजार व्यवस्थापनको बाटो खुलेपछि बल्ल यसलाई सर्वसाधारणको चुल्होसम्म पुर्याउने प्रक्रिया अघि बढाउन सकिन्छ”, उनले भने ।
नेपालमा प्रचुर मात्रामा रहेको जलस्रोतको उपयोग गरी हाइड्रोजन उत्पादन गर्न सके यसले भविष्यमा खाना पकाउने ग्यासको आयात घटाउन र वातावरण संरक्षणमा समेत टेवा पुग्ने उनको धारणा छ । यस्तै, भान्सामा ग्रिन हाइड्रोजन ग्यासको प्रयोग सम्बन्धी अनुसन्धानबाट पत्ता लागेका कुराहरू सहित अनुसन्धान पत्र पनि छिट्टै जारी गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
सुरक्षा नै मुख्य चुनौती
नेपालमा ग्रिन हाइड्रोजनबाट खाना पकाउने प्रविधिको सफल परीक्षण भइरहँदा काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक एवम् ग्रिन हाइड्रोजन ल्याबका प्रमुख डा विराजसिँह थापा भने यसलाई सकारात्मक तर चुनौतीपूर्ण कदमका रूपमा लिन्छन् । उनका अनुसार प्रविधिको सफल परीक्षण हुनु एउटा पाटो भए तापनि यसलाई सर्वसाधारणको भान्छासम्म व्यावसायिक रूपमा लैजान अझै धेरै काम गर्न बाँकी छ ।
हाइड्रोजन अत्यधिक तातो ग्यास भएकाले यसको सुरक्षा नै सबैभन्दा ठुलो चुनौती रहेको डा थापाको तर्क छ । उनका अनुसार एलपी ग्यास जस्तै सिलिन्डरमा भरेर वितरण गर्दा सुरक्षामा सानो कमजोरी भए पनि यसले ठुलो जोखिम निम्त्याउन सक्छ । “उत्पादनमा चुनौती छैन । तर यसको भण्डारण र वितरण प्रणालीमा सुरक्षाको ग्यारेन्टी गर्नु मुख्य कुरा हो,” डा थापाले भने, “सिलिन्डरमा हाइड्रोजन भर्नु भनेको एक प्रकारले बम जत्तिकै संवेदनशील हुनु हो । त्यसैले यसको ह्यान्डलिङका लागि तालिमप्राप्त जनशक्ति र विशेष प्रविधि आवश्यक पर्छ ।”
डा थापाका अनुसार हाइड्रोजन ग्यास बजारमा आएमा यसको प्रतिस्पर्धा सिधै विद्युतीय चुल्हो (इन्डक्सन) सँग हुन थाल्छ । घरायसी प्रयोगकर्ताले इन्डक्सन छोडेर हाइड्रोजन किन रोज्ने भन्ने प्रश्न आर्थिक सान्दर्भिकतामा जोडिएको उनले बताए । उनले भने, “इन्डक्सनमा न भण्डारणको झन्झट छ, न त वितरणको जटिलता नै छ । तर हाइड्रोजनका लागि सिलिन्डर ओसारपसार गर्नुपर्ने हुन्छ । त्यसैले पैसाको हिसाबले उपभोक्तालाई कुन सस्तो पर्छ र कसरी सुरक्षित महसुस गराइन्छ भन्ने कुराले यसको भविष्य निर्धारण गर्छ ।”
घरायसी भान्छाभन्दा औद्योगिक क्षेत्रमा हाइड्रोजन ग्यासको उपयोगीता बढी रहेको डा थापाको धारणा छ । सिमेन्ट, फलाम र इँटा उद्योगमा चाहिने उच्च तापक्रमका लागि हाइड्रोजन उत्तम विकल्प हुन सक्ने उनले बताए । यस्तै सेना र प्रहरीका ठुला ब्यारेकहरूमा ठुलो मात्रामा खाना पकाइने भएकाले त्यस्ता स्थानमा हाइड्रोजनको व्यावसायिक प्रयोग प्रभावकारी हुने उनले बताए ।
सरकारले हाइड्रोजनको सफल परीक्षणलाई मात्र हेरेर नपुग्ने र यसका लागि तत्काल नीतिगत सुधार गर्नुपर्ने डा थापा सुझाउँछन् । उनका अनुसार सरकारले हाइड्रोजन सिलिन्डर र चुल्होको गुणस्तर कस्तो हुने भन्ने राष्ट्रिय मापदण्ड तत्काल तोक्न आवश्यक छ । हाइड्रोजन प्रयोग गर्दा हुने सम्भावित दुर्घटना न्यूनीकरणका लागि सुरुदेखि नै कडा नियमहरू लागु गरिनु पर्ने उनले बताए ।
डा थापाले थपे, “सफलतापूर्वक परीक्षण भयो । तर, अब राज्यले कुन क्षेत्रमा हाइड्रोजन प्रयोग गर्ने भन्ने प्राथमिकता तोक्नुपर्छ । औद्योगिक इन्धनका रूपमा कोइला र डिजेललाई विस्थापित गर्न वा ठुला भान्छाहरूमा एलपी ग्यास घटाउन यो प्रविधि राम्र विकल्प हुनसक्छ । तर, यसका लागि बलियो नीति र सुरक्षा मापदण्ड अनिवार्य छ ।”
पछिल्लो अध्यावधिक: जेठ ४, २०८३ ७:२३
