close

श्रम मन्त्रालयको आचार संहिताः कर्मचारीले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने

टेकपाना टेकपाना

जेठ ५, २०८३ १०:५५

श्रम मन्त्रालयको आचार संहिताः कर्मचारीले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्रालयले आफ्ना कर्मचारीहरूका लागि नयाँ आचारसंहिता जारी गर्दै कार्यालय समयमा व्यक्तिगत प्रयोजनका लागि सामाजिक सञ्जाल प्रयोग गर्न रोक लगाएको छ । मन्त्रालय र मातहतका निकायमा कार्यरत कर्मचारीहरूको आचरणलाई थप मर्यादित र अनुशासित बनाउन मन्त्रालय र मातहतका निकायमा कार्यरत कर्मचारीको लागि यो आचारसंहिता ल्याइएको हो ।

मन्त्री रामजी यादवले ३१ वैशाखमा स्वीकृत गरेको यो आचारसंहिताले विशेषगरी सूचना प्रविधि र सामाजिक सञ्जालको प्रयोगका सम्बन्धमा कडा व्यवस्था गरेको छ । आचारसंहिताको बुँदा नम्बर ४.८ (ञ) अनुसार अब श्रम मन्त्रालय र मातहतका कर्मचारीले कार्यालय समयभित्र मोबाइल वा कम्प्युटरमार्फत व्यक्तिगत प्रयोजनका लागि सामाजिक सञ्जाल प्रयोग गर्न पाउने छैनन् ।

यस्तै कार्यालय समय बाहिर फेसबुक, एक्स, ह्वाट्सएप, लिङ्क्डइन, टिकटक जस्ता सामाजिक सञ्जाल प्रयोग गर्दा पनि सेवाको मर्यादा र आस्थामा आँच आउने खालका गतिविधि गर्न रोक लगाइएको छ ।सामाजिक सञ्जालमा सरकारी सेवाको गरिमा घटाउने, कर्मचारीको मानमर्दन हुने, जनमानसमा भ्रम पैदा गर्ने र अपुष्ट वा भ्रामक सूचना फैलाउने खालका श्रव्य-दृश्य सामग्री वा विज्ञापन शेयर गर्न नपाइने व्यवस्था गरिएको छ ।

मन्त्रालयले कर्मचारीहरूलाई आफूलाई परेको पिरमर्का वा गुनासो आमसञ्चार माध्यम वा सामाजिक सञ्जालमा राख्न प्रतिबन्ध लगाएको छ । यस्ता गुनासाहरू केवल सुपरिवेक्षक वा सचिव समक्ष पद्धतिगत तवरबाट मात्र प्रस्तुत गर्नुपर्नेछ । साथै कुनै पनि निकायका पदाधिकारीले सम्पादन गरेका कामको विरुद्धमा व्यक्तिगत मान-सम्मानमा आँच पुग्ने गरी टीका-टिप्पणी वा व्यङ्ग्य गर्न समेत रोक लगाइएको छ ।

प्रविधिमैत्री कार्यशैलीलाई प्राथमिकता दिँदै आचारसंहिताले डिजिटल प्रणालीको सुरक्षामा समेत जोड दिएको छ । कार्यालयमा रहेका सूचना प्रविधि सम्बन्धी उपकरणहरूको सुरक्षा अडिट (Security Audit), कमजोरीको मूल्याङ्कन (Vulnerability Assessment) र पेनिट्रेसन टेस्टिङ (Penetration Testing) सम्बन्धी निर्देशनहरूको पूर्ण पालना गर्नुपर्ने उल्लेख छ ।

यस्तै सरकारी कामका लागि अनिवार्य रूपमा मन्त्रालयको आधिकारिक ईमेल आईडी मात्र प्रयोग गर्नुपर्नेछ । कुनै पनि निर्णय वा सूचना अनधिकृत रूपमा सामाजिक सञ्जालमा राख्न पाइने छैन ।

आचारसंहिताले आधुनिक प्रविधिको प्रयोगका सन्दर्भमा पनि स्पष्ट पारेको छ । कर्मचारीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डेटा एनालाइसिस र मसिन लर्निङ जस्ता प्रविधिको प्रयोग गर्दा गोपनीयता, निष्पक्षता र उत्तरदायित्वको सिद्धान्तलाई अनिवार्य रूपमा पालना गर्नुपर्नेछ ।

आचारसंहिता मन्त्रालयमा कार्यरत निजामती, करार र काजमा खटिएका सबै कर्मचारीहरूको हकमा लागु हुने उल्लेख छ । आचारसंहिताको पालना भए-नभएको अनुगमन गर्ने जिम्मेवारी सचिव, विभागीय प्रमुख र कार्यालय प्रमुखलाई दिइएको छ । यदि कसैले यस आचारसंहिताको उल्लङ्घन गरेमा प्रचलित कानुन बमोजिम आचरण विरुद्धको कारबाही गरिने समेत चेतावनी दिइएको छ ।

कर्मचारीहरूले सेवा प्रवेश गर्दा वा सरुवा भएर आउँदा यस आचारसंहिता पालना गर्ने लिखित प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गर्नुपर्ने व्यवस्था गरिएको छ । यसले सरकारी संयन्त्रमा सूचना प्रविधिको प्रयोगलाई थप जिम्मेवार र सुरक्षित बनाउने विश्वास लिइएको छ ।

 

पछिल्लो अध्यावधिक: जेठ ५, २०८३ ११:३५