close

अमिशालाई प्रहरीबाट अश्लील व्यवहार भएको छैन, यसबारे उनकी आमाले नै माफी मागिसकिन्- साइबर ब्युरो

टेकपाना टेकपाना

जेठ ५, २०८३ १९:५०

अमिशालाई प्रहरीबाट अश्लील व्यवहार भएको छैन, यसबारे उनकी आमाले नै माफी मागिसकिन्- साइबर ब्युरो

काठमाडौँ । सामाजिक सञ्जालमा भएको दुर्व्यवहारबारे उजुरीको फलोअपका क्रममा प्रहरी अधिकारीले अश्लील टिप्पणी गरेको भनी अमिशा पराजुलीले लगाएको आरोपलाई नेपाल प्रहरीको साइबर ब्यूरोले खण्डन गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै ब्युरोले उक्त दाबीमा सत्यता नभएको र उल्टै पराजुलीकी आमाले ब्युरोसँग लिखित रूपमा माफी मागेको जनाएको छ ।

ब्यूरोका अनुसार पराजुलीले प्रहरीमाथि अश्लील र अपाच्य शब्द बोलेको सार्वजनिक आरोप लगाएपछि उनकी आमालाई कार्यालयमा उपस्थित गराइएको थियो । सो क्रममा उनकी आमाले ब्युरोका कर्मचारीले त्यस्तो कुनै अभिव्यक्ति नदिएको स्वीकार गरेको प्रहरीको दाबी छ । छोरीको अभिव्यक्तिले प्रहरी संगठन र साइबर ब्युरोको छविमा आँच पुगेको भन्दै उनले लिखित माफी समेत मागेको ब्युरोले जनाएको छ ।

पराजुलीले गत आइतबार महिलामाथि हुने 'डिजिटल हिंसा' सम्बन्धी एक अन्तरक्रिया कार्यक्रममा आफ्ना अनुभव सुनाउँदै ब्युरोमा उजुरी दिँदा प्रहरीले असहयोग गरेको र अपमानजनक व्यवहार गरेको गुनासो गरेकी थिइन् । उनले प्रहरी अधिकारीले आफूलाई सम्झाउने बहानामा अश्लील संकेत गर्दै बोल्ने बेलामा ध्यान दिनुपर्ने चेतावनी दिएको दाबी गरेकी थिइन् ।

उनले कार्यक्रममा भनेकी थिइन्, “कुन चाहिँ पुलिसले हो, मलाई मम्मीले भन्नु भएन । ‘छोरी मानिस भएपछि थुतुनो र मु**नो जोगाउनु पर्छ’ भनेर पुलिसले मेरो मम्मीलाई पठाएपछि मेरो मम्मीले मलाई त्यहाँबाट साइबर ब्युरो जान दिनु भएन । ‘तैँले गर्दा मैले यस्तो सुन्नु पर्‍यो साइबर ब्युरोबाट’ भनेर ।” प्रहरीले पीडितलाई मानसिक रूपमा असर पर्ने गरी बोलेको उक्त कुराको साक्षी चाहिएमा पाँच/सात जना दिन समेत सक्ने उनले जिकिर गरेकी थिइन् । 

भक्तपुरकी पराजुली गत चैतमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा उत्रिएपछि चर्चामा आएकी थिइन् । सोही समयमा उनीविरुद्ध सामाजिक सञ्जालमा तीव्र ट्रोलिङ र साइबर बुलिङ भएपछि उनले १८ चैतमा साइबर ब्युरोमा उजुरी दर्ता गराएकी थिइन् । त्यही उजुरीको अनुसन्धान प्रक्रियाका क्रममा प्रहरीले आफूमाथि मानसिक हिंसा र अश्लील टिप्पणी गरेको उनको आरोप छ । प्रहरीले भने विज्ञप्ति नै जारी गरेर अमिसाको आरोप खण्डन गरेको छ ।

पछिल्लो अध्यावधिक: जेठ ५, २०८३ २०:१०