३ वर्षमै ४ अर्बको क्रिप्टो कारोबार, कालो धन सेतो बनाउन गाडी र बीमामा लगानी, घरमै करोडौँ नगदको रास !
क्रिप्टोका ‘मास्टरमाइन्ड’ सागर गिरी
असार ३, २०८३ २१:४०
काठमाडौं । करिब तीन वर्षअघिसम्म काठमाडौँका २९ वर्षीय सागर गिरी क्रिप्टोकरेन्सीबारे अनभिज्ञ थिए । विभिन्न माध्यमबाट क्रिप्टोबारे जानकारी पाएपछि उनी पनि यसको कारोबारमा जोडिए । उनले यो अवधिमा दुई अर्ब नौ करोड ३५ लाख रुपैयाँभन्दा बढीको कारोबार गरे र त्यसबाट आर्जित आम्दानीले लाखौं पर्ने गाडी र बाइक खरिद गरे ।
हाल उनी र उनका नजिकका साथी अवैध रूपमा क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा पक्राउ परेका छन् । उनीहरूविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डिङ) निवारण ऐन, २०६४ अन्तर्गतको कसुरमा अभियोगपत्र दायर गरिएको छ ।
के हो घटना ?
१ चैत २०८२ मा बेलुका ६ बजे । राजधानीबाट हुन्डी तथा अभौतिक कारोबार गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले दुई जनालाई नियन्त्रणमा लियो । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका-८ का सागर गिरी र २८ वर्षीय प्रमोद धिताल थिए ।
परिसरबाट खटिएको टोलीले गिरीलाई शंकास्पद अवस्थामा फेला पारेपछि सोधपुछ गरेको थियो । प्रहरीको प्रारम्भिक सोधपुछका क्रममा गिरीले आफू क्रिप्टो कारोबारमा संलग्न रहेको स्वीकार गरे । उनको बयानका आधारमा खानतलासी गर्दा गिरीको साथबाट एक करोड एक लाख रुपैयाँ नगद (एक हजारका १० हजार १०० नोट), १५ लाख रुपैयाँ (५०० का तीन हजार नोट), दर्जनौँ बैंक चेक, स्कोर्पियो गाडी, ट्याक्सी र मोबाइल-कम्प्युटर लगायतका सामग्री बरामद भए ।
यस घटनाको सन्दर्भमा परिसरका प्रहरी निरीक्षक पप्पुकुमार दार, प्रहरी निरीक्षक वाङ्गेल लामा, प्रहरी नायब निरीक्षक माधव थापा, प्रहरी सहायक निरीक्षक सन्तोष खड्का, प्रहरी सहायक हवल्दारद्वय सुरेशराज उपाध्याय र लिलिबहादुर गुरुङले अनुसन्धान सुरु गरे ।
सरकारी वकिल कार्यालयले गत सोमबार जिल्ला अदालत काठमाडौँमा दायर गरेको अभियोगपत्र अनुसार, गिरीको फोनमा क्रिप्टो कारोबारका लागि प्रयोग हुने बाइनान्स, एमईएक्ससी (MEXC) र ट्रस्ट वालेट (Trust Wallet) जस्ता एप फेला परेका छन् । उनले ह्वाट्सएप र टेलिग्राममार्फत विदेशी तथा स्वदेशी एजेन्टहरूसँग सम्पर्क गरी कारोबार गर्ने गरेको देखिएको छ ।
त्यहीमध्येका एक हुन् २८ वर्षीय प्रमोद धिताल । धिताल र गिरी बच्चैदेखिका साथी हुन् । उनीहरू कसरी नजिकिए भन्ने प्रसङ्ग तल गराैँला ।
प्रहरीका अनुसार गिरीको फोनमा भएका विभिन्न एपबाट पटक पटक गरी तीन वर्षको अवधिमा एक अर्ब, ९७ करोड ९५ लाख रुपैयाँ बढीको क्रिप्टोकारोबार भएको छ । त्यस्तै सम्पत्ति शुद्धीकरणमा ११ करोड ४० लाख ३२ हजार रुपैयाँ रहेको छ ।
क्रिप्टोमार्फत उनका साथी प्रमोद धितालले सात करोड ९९ लाख ४४ हजार रुपैयाँ बढीको कारोबार गरेका छन् । त्यस्तै सम्पत्ति शुद्धीकरणतर्फ ५८ लाख १९ हजार रुपैयाँ बढी देखिएको छ । यी दुई जनासँगै अन्य १२ प्रतिवादीले सो अवधिमा चार अर्ब ३३ करोड ७० लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको भन्दै यही रकम बिगो दाबीका रूपमा राखिएको छ ।
कसरी गरे केही वर्षमै करोडौंको कारोबार ?
प्रहरीसमक्ष बयान दिने क्रममा गिरीले ‘२० करोड रुपैयाँको क्रिप्टो कारोबार’ आफूले नै गरेको बताए । त्यसबाहेक उनको साथबाट बरामद भएको एक करोड १६ लाख रुपैयाँ भने आफ्ना बुवाआमाको रेस्टुरेन्टबाट भएको आम्दानी भएको दाबी गरेका छन् । अर्थात्, बरामद गरिएको उक्त नगद रकममध्ये अधिकांश आमाबुबाको आम्दानी रहेको र केही रकममात्र क्रिप्टोबाट आम्दानी गरेको उनको दाबी छ । त्यति धेरै रकम घरमै राख्नुको कारण सोध्दा उनले जेनजी विद्रोहका क्रममा बैंक लुटिएका समाचार आएपछि सुरक्षित नहुने ठानेर नगद निकाली घरमै सञ्चित गरेर राखेको जवाफ दिएका छन् ।
गिरीका अनुसार उनले पहिले क्रिप्टो कारोबार गर्ने गरेको भए पनि पछि आफ्नो खाता ब्लक भएपछि साथी प्रमोद धितालको नागरिकता र फेस भेरिफिकेसन प्रयोग गरी खाता खोलेका थिए । र, पछि त्यो खाता पनि आफैले चलाएका थिए । त्यसबाहेक आमाको नामको राहदानी र आफ्नो ड्राइभिङ लाइसेन्स प्रयोग गरी छुट्टै बाइनान्स अकाउन्ट बनाएको उनले स्वीकारेका छन् ।
तर, आफूले बनाएका ती खाता भने टेलिग्राममा भेटिएका व्यक्तिलाई बेचेको उनको दाबी छ । बयानमा उनले भनेका छन्, “सुरुमा आफैले कारोबार गरे पनि पछि नेपालमा यो गैरकानुनी भएको थाहा पाएपछि एउटा आईडी डिलिट गरेको र बाँकी आईडी टेलिग्राममा चिनिएका अपरिचित व्यक्तिलाई नाफाको प्रलोभनमा बेचेको हुँ ।”
गिरीका अनुसार उनले अनलाइनबाट चिनजान भएका साथीहरूलाई दुई हजार रुपैयाँदेखि २५०० रुपैयाँसम्म दिएर पाँचवटा इसेवा अकाउन्ट खरिद गर्ने गरेका थिए । तिनै अकाउन्टमा उनले कारोबार गर्दै आएका थिए ।
उनले प्रहरीसँगको बयानमा भनेका छन्, “मैले बाइनान्स, एमईएक्ससी र ट्रस्ट वालेट आईडी प्रयोग गरी क्रिप्टोकरेन्सीको कारोबार गरेको हुँ । यस कारोबारको सिलसिलामा ह्वाट्सएप र टेलिग्राममार्फत कुराकानी हुने S@Ahumaya, CHALFAL, Aman dai, Virus Queen Npr Order र DK Boss ले भनेका खातामा मैले नेपाली रुपैयाँ जम्मा गरिदिने गरेको थिएँ ।”
उनले बयानमा अगाडि भनेका छन्, “साथै, मैले टेलिग्राम र ह्वाट्सएपमार्फत नेपाली तथा विदेशी नागरिकसँग कुराकानी गरी, उनीहरूले पठाएका क्यूआर कोडमा विभिन्न क्रिप्टोकरेन्सी वालेटमार्फत रकम जम्मा गरिदिएको हुँ । उनीहरूले पठाएका बैंक, इसेवा र खल्तीका क्यूआर कोड स्क्यान गरी रकम पठाएको हुनाले मलाई ती खाता नम्बर यकिन याद भएन । बदलामा, उनीहरूले मेरो नाममा रहेका बैंक, इसेवा र खल्ती खातामा रकम पठाइदिने गर्थे भने कसै-कसैले विभिन्न ठाउँमा भेटेरै नगद दिने गरेका थिए । यसरी प्राप्त भएको रकम मैले आफैंसँग राख्ने गरेको थिएँ र हाल मसँगबाट बरामद भएको रकम त्यही नै हो ।”
यसरी तीन वर्षको अवधिमा क्रिप्टो कारोबार गरेर ५५ लाख रुपैयाँ आम्दानी गरेको उनको दाबी छ । त्यही आम्दानीबाट स्कोर्पियो किनेको उनले दाबी गरेका छन् ।
“मसँग क्रिप्टोकरेन्सी (अभौतिक मुद्रा) कारोबार गर्ने कार्यमा S@Ahumaya, CHALFAL, Aman dai (+971 55 127 1202), Virus Queen Npr Order र DK Boss (James Poudel) समेतको संलग्नता रहेको छ,” उनले भनेका छन्, “मैले यो कारोबार गरेर हालसम्म करिब ५५ लाख रुपैयाँ जति आर्थिक लाभ लिएको छु । सोही कारोबारबाट कमाएको रकममध्ये ४० लाख रुपैयाँमा मैले स्कोर्पियो पिकअप गाडी किनेको हुँ ।”
धितालका अनुसार गिरी र उनी बाल्यकालदेखिनै साथी हुन् । घर पनि नजिक थियो उनीहरूको । पछि उनी अध्ययनका लागि वीरगञ्ज गए । र, त्यहाँ १२ वर्ष बसे र काठमाडौँ फर्किए । उनले प्रहरीसँग बयानका क्रममा भनेका छन्, “म काठमाडौंको कुलेश्वरमा रहेको एउटा ड्राइफुड पसलमा गाडी चलाउने काम गर्थें । करिब एक वर्षअघि, अहिले मसँगै पक्राउ परेका सागर गिरीको परिवारले मलाई फोन गरेर ‘भाञ्जा, हामी ट्याक्सी किन्दैछौँ, तिमी चलाउँछौ ?’ भनेर सोध्नुभयो । मैले ‘घरमा सल्लाह गरेर पछि खबर गर्छु’ भनें । त्यसपछि परिवारसँग सल्लाह गरेर म उहाँहरूले किनेको ट्याक्सी चलाउन थालेँ ।”
उनले अगाडि भनेका छन्, “अहिले प्रहरीले नियन्त्रणमा लिएको ट्याक्सी चलाएबापत मैले दैनिक ३,५०० रुपैयाँ सागर गिरी वा कहिलेकाहीँ उनकी आमा गंगा गिरीलाई बुझाउने गर्थें । त्यो बुझाएर बाँकी रहेको पैसा म आफै राख्थें ।”
गिरीले नै आफ्नो मोबाइलमा विभिन्न एपहरू डाउनलोड गरेर अकाउन्ट बनाइदिएको धितालको दाबी छ । उनले आफ्नो खातामा आउने क्रिप्टो कारोबारको रकम सबै सागर गिरीलाई नै दिने गरेको उल्लेख गरेका छन् ।
अनुसन्धानबाट के के खुल्यो ?
राजस्व अनुसन्धान विभागको अनुसन्धानबाट सागर गिरीले ठुलो परिमाणमा अवैध क्रिप्टोकरेन्सीको कारोबार गरेको पुष्टि भएको छ । उनले आफ्नो, आफ्नी आमा गंगा गिरी र साथी प्रमोद धितालको नाममा खोलिएका बाइनान्स, एमईएक्ससी र ट्रस्ट वालेटजस्ता डिजिटल खाता प्रयोग गरी कुल एक अर्ब ९७ करोड ९५ लाख ६६ हजार ४३५ रुपैयाँ ६० पैसा बराबरको अवैध कारोबार गरेको देखिएको छ ।
यसका साथै सागर गिरीका विभिन्न बैंक खातामा अस्वाभाविक रूपमा ठुलो रकम जम्मा भएको पाइएको अभियोगपत्रमा उल्लेख छ । उनको नाममा रहेका एनआईसी एसिया, ग्लोबल आईएमई, मुक्तिनाथ विकास बैंक लगायत ११ भन्दा बढी बैंक तथा डिजिटल वालेट खातामा कुल ९ करोड ३७ लाख ७४ हजार ३२७ रुपैयाँ १० पैसा जम्मा भएको अनुसन्धानबाट खुलेको छ, जुन उनको सामान्य आम्दानीको तुलनामा अमिल्दो र शङ्कास्पद देखिएको अभियोगपत्रमा उल्लेख छ ।
अवैध क्रिप्टो कारोबारबाट कमाएको यो कालो धनलाई वैध बनाउन उनले सम्पत्ति शुद्धीकरणको बाटो अपनाएको अभियोगपत्रमा भनिएको छ । पहिलो चरणमा यो रकम साथीभाइको सापटी र बुबाको नर्सरी तथा खाजाघरको आम्दानी हो भनी उनीहरूले झुटा स्रोत देखाएका थिए ।
त्यसपछि, उक्त रकमको वास्तविक स्रोत लुकाउन अपरिचित व्यक्तिलाई पीटुपी मार्फत पैसा पठाउने र विभिन्न बैंक खातामा निरन्तर रकम ट्रान्सफर गरी पैसा घुमाउने काम गरिएको अनुसन्धानबाट खुलेको छ ।
यसरी घुमाएर ल्याएको अवैध पैसा प्रयोग गरी उनले विभिन्न चल-अचल सम्पत्ति खरिद गरेको भेटिएको छ । अनुसन्धानका क्रममा उनले सोही अवैध कमाइबाट ४३ लाख १४ हजार रुपैयाँ पर्ने स्कोर्पियो पिकअप गाडी, ३६ लाख ९९ हजार रुपैयाँ पर्ने ट्याक्सी र मोटरसाइकल खरिद गरेको पाइएको छ । यसका साथै उनले लाखौँ रुपैयाँ बराबरको जीवन बीमा र गाडीको बीमा समेत गराएको खुलेको छ ।
प्रहरीले सागर गिरीको कोठामा छापा मार्दा अवैध कारोबारमा प्रयोग हुने ठुलो परिमाणमा प्रमाणहरू फेला पारेको छ । उनको कोठाबाट नगद एक करोड १६ लाख रुपैयाँ, नोट गन्ने मेसिन, ५ थान मोबाइल, ३१ वटा सिमकार्ड, १३ वटा एटीएम कार्ड र २९ वटा खाली चेकसहित विभिन्न व्यक्तिका चेकबुक बरामद भएका छन् । बरामद भएका यी सामग्रीले उनी कुनै सानोतिनो नभई एउटा ठुलो गिरोह र वित्तीय सञ्जाल नै खडा गरेर अवैध धन्दामा सक्रिय रहेको कुरा प्रमाणित गरेको उक्त अभियोगपत्रमा उल्लेख छ ।

यता प्रमोद धितालको हकमा पनि उही शैली देखिएको छ । अनुसन्धानका क्रममा धितालको नाम र नागरिकता प्रयोग गरी खोलिएको बाइनान्स खातामा ठुलो परिमाणको अवैध कारोबार भएको भेटिएको छ ।
अभियोगपत्रका अनुसार उक्त खाताको कारोबार विवरण विश्लेषण गर्दा कुल पाँच लाख २६ हजार ३६५ यूएसडीटी बराबरको डिजिटल मुद्राको कारोबार भएको देखिन्छ । यसलाई नेपाली रुपैयाँमा हिसाब गर्दा ७ करोड ९९ लाख ४४ हजार ७८४ रुपैयाँ ४५ पैसा बराबरको अवैध कारोबार प्रमोदकै खाताबाट भएको पुष्टि हुन्छ ।
क्रिप्टो खाताका अतिरिक्त प्रमोदको नाममा रहेका विभिन्न बैंक तथा वित्तीय खातामा पनि अस्वाभाविक कारोबार भएको भेटिएको छ । उनको नाममा सञ्चालित ग्लोबल आइएमई बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र इसेवा वालेटमा गरी जम्मा ५८ लाख १९ हजार ४१४ रुपैयाँ ९० पैसा रकम जम्मा भएको अनुसन्धानबाट खुलेको छ, जुन उनको नियमित आम्दानीको तुलनामा अमिल्दो र शङ्कास्पद रहेको अभियोगपत्रमा उल्लेख छ ।
आरोपित धिताल यस प्रकरणमा अरू कसैबाट अन्जानमा प्रयोग मात्र नभई सम्पत्ति शुद्धीकरणको अवैध प्रक्रियामा आफैँ सक्रिय रूपमा संलग्न रहेको अभियोगपत्रमा भनिएको छ । उनले क्रिप्टो खाता सञ्चालनका लागि आवश्यक पर्ने फेस भेरिफिकेसन निरन्तर उपलब्ध गराउने, आफ्नै मोबाइलमा क्रिप्टो कारोबार सम्बन्धी एप राख्ने र आफ्नो बैंक खातामा आएको अवैध रकम बैंकबाट नगदै निकालेर मुख्य अभियुक्त सागर गिरीलाई बुझाई रकमको वास्तविक स्रोत लुकाउने काममा प्रत्यक्ष रूपमा सघाएको देखिएको अनुसन्धानबाट खुलेको छ ।
यस प्रकारको संलग्नताले प्रमोद धितालले अवैध क्रिप्टो कारोबार र सम्पत्ति शुद्धीकरण दुवै कसुरमा मुख्य अभियुक्त सागर गिरीलाई प्रत्यक्ष रूपमा सहयोग पुर्याएको देखिएको अभियोगपत्रमा दाबी गरिएको छ । आफ्नो नामका डिजिटल र बैंक खाता स्वेच्छाले उपलब्ध गराएर आफै समेत सक्रिय भई ठुलो परिमाणको अवैध कारोबार गर्ने कार्यमा उनको प्रत्यक्ष संलग्नता रहेको अभियोगपत्रमा उल्लेख छ ।

गिरी, धिताल र अन्य १२ जना प्रतिवादीले कुल चार अर्ब ३३ करोड ७० लाख ८० हजार रुपैयाँ बढीको कारोबार गरेको भन्दै सोही रकम बिगोका रूपमा राखिएको छ ।

मुख्य अभियुक्त र फरार प्रतिवादीहरू
प्रहरी प्रतिवेदनका आधारमा दायर गरिएको यस मुद्दामा मुख्य प्रतिवादी सागर गिरी र प्रमोद धिताल रहेका छन् । उनीहरू प्रहरी नियन्त्रणमा छन् ।

यसैगरी यस प्रकरणमा संलग्न भनिएका अन्य ११ जना प्रतिवादी हाल फरार सूचीमा रहेका छन् । फरार प्रतिवादीमा निलम गुप्ता, सम्झना चौधरी, विनोद साहु, फिरोज अहमद मिया ठकुराई, अक्षय कलवार, विशाल ठाकुर, सिद्धार्थ भारती, पप्पु साह, प्रितम कार्की, सजिना गिरी र उज्वल गुरुङ रहेका छन् । प्रतिवादी सागर गिरीकी आमा गंगा गिरीलाई भने सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी बनाइएको छ ।
सम्पत्ति जफत र सजायको माग
सरकारी वकिल कार्यालयले अभियुक्तले गैरकानुनी क्रिप्टो कारोबारबाट आर्जित रकमलाई बैंकिङ प्रणाली, इसेवा, बीमा पोलिसी र सवारी साधनमा लगानी गरेर ‘सम्पत्ति शुद्धीकरण’ गरेको पुष्टि गरेको छ ।
अवैध रूपमा क्रिप्टोको कारोबार गरेको कसुरमा सागर गिरीबाट एक अर्ब ९७ करोड ९५ लाख ६६ हजार ४३५ रुपैयाँ ६० पैसा र प्रमोद धितालबाट सात करोड ९९ लाख ४४ हजार ७८४ रुपैयाँ ४५ पैसा बिगो कायम गरिएको छ । उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ को व्यवस्था बमोजिम सो बिगो र बिगोबाट बढे-बढाएको सम्पूर्ण सम्पत्ति जफत गर्न तथा पाँच वर्षसम्म कैद सजाय र बिगो बराबरकै जरिवाना गराउन मागदाबी गरिएको छ ।
त्यसैगरी, अवैध रूपमा आर्जित रकमलाई वैध बनाएको अर्थात् सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरतर्फ पनि सजाय र बिगो माग गरिएको छ । यस कसुरमा सागर गिरीबाट ११ करोड ४० लाख ३२ हजार रुपैयाँ र प्रमोद धितालबाट ५८ लाख १९ हजार ४१४ रुपैयाँ ९० पैसा बिगो कायम गरिएको छ । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को व्यवस्था अनुसार उनीहरूलाई उक्त बिगोको दोब्बर जरिवाना गराउनुका साथै कसुरको गम्भीरता हेरी दुई वर्षदेखि १५ वर्षसम्मको कैद सजाय मागदाबी गरिएको छ ।
माथि उल्लिखित सजाय र जरिवानाका अतिरिक्त, अपराधबाट आर्जित र अपराध गर्न प्रयोग गरिएका विभिन्न सम्पत्ति तथा साधन समेत कानुन बमोजिम जफत गर्न अभियोगपत्रमा माग गरिएको छ । यसअन्तर्गत सागर गिरीको कोठाबाट बरामद भएको नगद एक करोड १६ लाख रुपैयाँ र अवैध कमाइबाट खरिद गरिएका सवारी साधनहरू जस्तै महेन्द्र स्कोर्पियो पिकअप, टाटा ट्याक्सी र एउटा मोटरसाइकल जफत गर्न माग गरिएको छ । यसका साथै हिमालयन लाइफ इन्सुरेन्स र आईजीआई प्रुडेन्सियल बीमा कम्पनीमा बुझाइएको बीमा तथा प्रिमियम बापतको रकम समेत जफतको सूचीमा राखिएको छ ।
पछिल्लो अध्यावधिक: असार ३, २०८३ २२:३३
