close

राहदानी छपाइमा अनियमितताको आरोपमा पक्राउ परेका महानिर्देशक र निर्देशक ४ दिन हिरासतमा रहने

टेकपाना टेकपाना

असार २, २०८३ १८:५५

राहदानी छपाइमा अनियमितताको आरोपमा पक्राउ परेका महानिर्देशक र निर्देशक ४ दिन हिरासतमा रहने

काठमाडौँ । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनीलकुमार केसीलाई भ्रष्टाचार मुद्दामा अनुसन्धानका लागि विशेष अदालतले चार दिन हिरासतमा राख्न अनुमति दिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको १ नम्बर इजलासले १ असारदेखि लागु हुनेगरी उनीहरूलाई हिरासतमा राख्न अनुमति दिएको हो ।

विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले राहदानी छपाइमा भएको अनियमितता र भ्रष्टाचारजन्य कसुरको अनुसन्धानका लागि म्याद थप भएको जानकारी दिए ।

“अख्तियारले २० दिनको लागि हिरासतमा राखेर अनुसन्धान गरिपाऊँ भनेर मागेको थियो,” प्रवक्ता लामिछानेले टेकपानासँग भने, “विशेष अदालतबाट चार दिन हिरासतमा राखेर अनुसन्धान गर्ने गरी आदेश भएको छ ।”

महानिर्देशक अर्याल र सूचना प्रविधि तर्फका निर्देशक केसीलाई राहदानी छपाइ प्रक्रियामा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले नियन्त्रणमा लिएको थियो ।

यस प्रकरणमा अन्य उच्च पदस्थ कर्मचारी र ठेकेदार कम्पनीका प्रतिनिधिहरू समेत अनुसन्धानको दायरामा रहेको बताइएको छ ।

 

पछिल्लो अध्यावधिक: असार २, २०८३ १९:५