close

अब काठमाडौँ महानगरपालिकाले ध्वनि प्रदूषण गर्नेहरूलाई जरिबाना तिराउने

टेकपाना टेकपाना

जेठ ९, २०८३ ११:१८

अब काठमाडौँ महानगरपालिकाले ध्वनि प्रदूषण गर्नेहरूलाई जरिबाना तिराउने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरमा बढ्दै गएको ध्वनि प्रदूषणलाई नियन्त्रण गर्न कडा कदम चाल्ने भएको छ । महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय, वातावरण व्यवस्थापन विभागले शनिबार एक सूचना जारी गर्दै नियम विपरीत ध्वनि उत्पन्न गर्नेहरूलाई जरिबाना गर्ने चेतावनी दिएको हो ।

महानगरपालिकाका अनुसार सार्वजनिक स्थल, औद्योगिक क्षेत्र, आवासीय क्षेत्र, बजार र कार्यालय परिसरमा अनावश्यक एवं अत्यधिक ध्वनि उत्पन्न हुने गतिविधिहरूका कारण जन गुनासो बढेको छ । ध्वनि प्रदूषणले मानव स्वास्थ्य र मानसिक शान्तिमा असर पुर्‍याउनुका साथै चराचुरुङ्गी, अन्य जीवजन्तुको प्राकृतिक जीवन र वातावरणीय सन्तुलनमा समेत प्रतिकूल प्रभाव पारेको महानगरको ठहर छ ।

यससँगै अब लाउडस्पिकर, माइक, साउन्ड सिस्टम तथा अन्य ध्वनि उत्पन्न गर्ने उपकरणहरू अनावश्यक रूपमा वा तोकिएको सीमाभन्दा बढी प्रयोग गर्न वा गराउन पाइने छैन । त्यस्तै सार्वजनिक स्थल, सडक तथा आवासीय क्षेत्रमा सवारी साधनको हर्न अनावश्यक रूपमा प्रयोग गर्न निषेध गरिएको छ ।

साथै सभा, समारोह, निर्माण कार्य वा अन्य कुनै पनि कार्यक्रम सञ्चालन गर्दा निर्धारित समयभित्रै सम्पन्न गर्नुपर्नेछ । विद्यालय, अस्पताल, कार्यालय, उद्योग कलकारखाना तथा आवासीय क्षेत्र वरपर शान्त वातावरण कायम राख्न विशेष ध्यान दिनुपर्नेछ ।

महानगरपालिकाले काठमाडौँ महानगरपालिका प्रदूषण नियन्त्रण मापदण्ड, २०८१ को पूर्ण पालना गर्न सबै सरोकारवालाहरूलाई अनुरोध गरेको छ । नियम पालना भए नभएको वैधानिक रूपमा हेर्नका लागि महानगरको अनुगमन टोली खटाइने उल्लेख छ ।

अनुगमनका क्रममा मापदण्ड विपरीत कार्य भएको पाइएमा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७८ बमोजिम जरिबाना सहितको कानुनी कारबाही गरिने ब्यहोरा सूचनामा उल्लेख गरिएको छ । महानगरले सहरलाई शान्त र प्रदूषण मुक्त बनाउने यो अभियानमा सबैको सहयोगको अपेक्षा समेत गरेको छ ।

 

पछिल्लो अध्यावधिक: जेठ ९, २०८३ ११:१८