क्यूआर कोड र पासवर्डसहितको प्रोभिजनल राष्ट्रिय परिचयपत्र अब अनलाइनबाटै डाउनलोड गर्न सकिने
असार ४, २०८३ २२:२६
काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नागरिकहरूका लागि अनलाइनमार्फत आफ्नो प्रोभिजनल राष्ट्रिय परिचयपत्र (eNID) आफैँ डाउनलोड गर्न सकिने सेवा सुरु गरेको छ । सरकारको शासकीय सुधार सम्बन्धी १०० कार्य सूची अन्तर्गत बुँदा नम्बर २ मा उल्लेखित लक्ष्यलाई पूरा गर्न विभागले बिहीबारदेखि यो प्रणाली कार्यान्वयनमा ल्याएको हो ।
राष्ट्रिय परिचय नम्बर प्राप्त गरिसकेका नेपाली नागरिकले विभागको आधिकारिक सिटिजन पोर्टलमार्फत आफ्नो ईएनआईडी डाउनलोड गर्न सक्नेछन् । यसका लागि नागरिकले आफ्नो नाम (नेपाली वा अंग्रेजी), जन्म मिति र नागरिकता जारी भएको मिति प्रविष्ट गर्नुपर्ने हुन्छ ।
डाउनलोड गरिने ईएनआईडी कार्डमा सम्बन्धित व्यक्तिको फोटो र अनलाइनबाटै रुजु गर्न मिल्ने क्यूआर कोड समावेश गरिएको छ । सुरक्षाका दृष्टिकोणले यो फाइल ‘पासवर्ड प्रोटेक्टेड’ हुने विभागले जनाएको छ ।
विभागले यसरी डाउनलोड गरिएको कार्डलाई सुरक्षित रूपमा राख्न समेत नागरिकहरूलाई अनुरोध गरेको छ ।
हालसम्म विभिन्न सार्वजनिक निकाय वा संस्थाले विभागको पोर्टलबाट प्रिन्ट गरिएको फोटोसहितको निस्सा हेरेर सेवा प्रवाह गर्दै आएका थिए । तर, अब उप्रान्त ईएनआईडी कार्डमा रहेको क्यूआर कोड स्क्यान गरी त्यसमा देखिएको विवरण र नागरिकले देखाएको निस्साका विवरणहरू भिडाएर मात्र सेवा प्रवाह गर्न विभागले सबै सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ ।
यो सेवा कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा विभागले आफ्नो वेबसाइटमा युजर म्यानुअलसमेत उपलब्ध गराएको छ ।
विभागले यो सेवा सुरु भएको जानकारी दिए पनि सेवाग्राहीले eNID डाउनलोड गर्ने क्रममा क्याप्चा अप्सन नआएको गुनासो गरेका छन् ।
पछिल्लो अध्यावधिक: असार ४, २०८३ २२:४७
