close

चाबी, पर्स, झोला र सुटकेस लगायतका सामान हराउन नदिने साओमी ट्याग नेपालमा, साथमा रेड्मी हेडफोन

टेकपाना टेकपाना

जेठ ११, २०८३ ९:४०

चाबी, पर्स, झोला र सुटकेस लगायतका सामान हराउन नदिने साओमी ट्याग नेपालमा, साथमा रेड्मी हेडफोन

 

काठमाडौँ । चिनियाँ कम्पनी साओमीले साओमी ट्याग र रेड्मी हेडफोन्स नियो नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले दैनिक जीवनलाई थप स्मार्ट, सरल र सहज बनाउने उद्देश्यले डिजाइन गरिएका यी उत्पादन नेपालमा सार्वजनिक गरेको हो ।

१० ग्राम तौल भएको साओमी ट्याग चाबी, पर्स, झोला तथा सुटकेसजस्ता व्यक्तिगत सामानहरू सहजै पत्ता लगाउन उपयोगी उपकरण हो । विशेष ट्र्याकिङ एपमार्फत यसलाई विभिन्न उपकरणहरूसँग जोडेर हराएको सामानको सटीक स्थान पत्ता लगाउन सकिन्छ ।

यसमा रहेको लस्ट मोड (Lost Mode) सक्रिय गरेपछि यदि कसैले हराएको सामान फेला पारेमा धनीको सम्पर्क विवरण देखिनेछ । जसले सामान फिर्ता पाउन सहज बनाउँछ । यसले अपरिचित स्थानमा पुगेको अवस्थामा प्रयोगकर्तालाई सचेत गराउन अलर्ट (Alerts) समेत पठाउँछ । साथै प्रयोगकर्ताले आफू बारम्बार जाने स्थानहरू पहिले नै सेट गर्न सक्ने भएकाले अनावश्यक अलर्टबाट बच्न पनि मद्दत पुग्छ ।

सुरक्षित प्रयोगका लागि यसमा इन्क्रिप्टेड ट्र्याकिङ प्रणाली र अनधिकृत ट्र्याकिङ विरुद्धको चेतावनी प्रणाली जडान गरिएको कम्पनीले जनाएको छ । साओमी ट्यागमा एक वर्षसम्म टिक्ने ब्याट्री रहेको छ । जसलाई फेर्न समेत मिल्नेछ ।

आईपी-६७ डस्ट र वाटर रेसिस्टेन्स क्षमताका कारण यसले धुलो, पानी, घाम र दैनिक प्रयोगमा हुने सामान्य ठक्कर वा साना दुर्घटनाहरू सहजै सहन सक्छ । हराएको सामान खोज्न थप सहयोगका लागि यो डिभाइसलाई अन्य व्यक्तिहरूसँग पनि शेयर गर्न सकिन्छ ।

कम्पनीले नेपाली बजारका लागि साओमी ट्यागको मूल्य २,९९९ रुपैयाँ निर्धारण गरेको छ ।

रेड्मी हेडफोन्स नियो

रेड्मी हेडफोन्स नियोमा ४२ डीबीसम्मको एडप्टिभ एक्टिभ नोइज क्यान्सलेसन (एएनसी) सुविधा छ । जसले वरपरका अनावश्यक आवाजहरूलाई प्रभावकारी रूपमा कम गर्छ ।

उत्कृष्ट अडियो क्वालिटीका लागि यसमा ४० एमएमको डायनामिक ड्राइभर र हाई-रेज वायर अडियो सुविधा रहेको छ । जसले गहिरो बेस (Bass) र स्पष्ट ध्वनिको अनुभव दिन्छ । ब्याट्रीको कुरा गर्दा एक पटकको फुल चार्जमा यो हेडफोन ७२ घण्टासम्म प्रयोग गर्न सकिन्छ । जसले गर्दा बारम्बार चार्ज गरिरहनुपर्ने झन्झट हुँदैन ।

यसका साथै यसमा एआईमा आधारित नोइज रिडक्सन प्रणालीसहितको ट्रिपल माइक्रोफोन सेटअप छ । जसले फोन कलहरूलाई अत्यन्त स्पष्ट र भरपर्दो बनाउँछ ।

रेड्मी हेडफोन्स नियो क्लासिक कालो (Black) र स्यान्ड ह्वाइट (Sand White) रङमा उपलब्ध छ । यसको बजार मूल्य १२,९९९ तोकिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ११, २०८३ ९:४०