सरकारी सेवामा अन्तर-आवद्धता सुरु, अब नयाँ कर्मचारीले व्यक्तिगत विवरण पटक-पटक बुझाउनु नपर्ने
असार ३२, २०८३ १४:५१
काठमाडौँ । सरकारी निकायमा एक पटक बुझाइसकेको व्यक्तिगत विवरण अर्को निकायमा पुनः पेश गर्नुपर्ने झन्झटिलो व्यवस्थालाई अन्त्य गर्दै राष्ट्रिय किताबखानाले ‘अटो फिल’ (Auto-fill) प्रणाली कार्यान्वयनमा ल्याएको छ । सरकारी प्रणालीहरूबिचको अन्तर-आवद्धताका लागि राष्ट्रिय किताबखाना र लोक सेवा आयोगबिच हालै औपचारिक समझदारी भएको छ ।
आयोगका सचिव रामेश्वर दंगालको उपस्थितिमा हालै सम्पन्न एक कार्यक्रममा किताबखानाका महानिर्देशक श्रवण कुमार पोखरेल र लोक सेवा आयोगका सहसचिव पुरुषोत्तम शर्माले उक्त समझदारी पत्रमा हस्ताक्षर गरे ।
के हो यो प्रविधि अनि कसरी हुन्छ काम ?
निजामती सेवामा प्रवेश गर्ने नयाँ कर्मचारीहरूलाई लक्षित गरी राष्ट्रिय किताबखानाले तीन महिनाअघि देखि नै ‘ई-शिटरोल रजिष्ट्रेशन सर्भिस मोड्युल’ सञ्चालनमा ल्याएको थियो । यसअघि कर्मचारीहरूले आफ्नो वैयक्तिक विवरण र पुष्ट्याइँका कागजातहरू पुनः अपलोड गर्नुपर्ने हुन्थ्यो ।
अबको प्रणालीमा कर्मचारीले लोक सेवा आयोगको ‘मास्टर आईडी’ (Master ID) प्रविष्ट गर्नासाथ उनको नाम, थर, बाबु/बाजेको नाम, शैक्षिक योग्यता, नागरिकता नम्बर, ठेगाना र वैवाहिक स्थितिजस्ता सम्पूर्ण व्यक्तिगत विवरणहरू (Demographic Attributes) स्वतः भरिनेछन् ।
महानिर्देशक पोखरेलका अनुसार, ई-शिटरोल सेवालाई पूर्णतया भौतिक उपस्थिति नचाहिने अर्थात् फेसलेस बनाइएको छ । कर्मचारीले आफ्नै मोबाइल वा कम्प्युटरबाट शिटरोल दर्ता गर्ने, संकेत नम्बर प्राप्त गर्ने र प्रमाणित शिटरोल डाउनलोड गर्न सक्नेछन् ।
“हामीले दुई प्रणालीबिच एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस मार्फत अन्तर-आवद्धता विस्तार गरिसकेका छौँ,” महानिर्देशक पोखरेलले भने, “यसबाट सेवाग्राहीको समय र श्रमको बचत हुनुका साथै विवरणमा एकरूपता, शुद्धता र विश्वसनीयता कायम हुनेछ ।”
किताबखानाका अनुसार, हालसम्म यस ई-शिटरोल सेवालाई शतप्रतिशत लक्षित कर्मचारीहरूले प्रयोग गरिरहेका छन् । जुन ई-पेन्सन सेवाभन्दा पनि बढी लोकप्रिय देखिएको छ । यस प्रणालीको कार्यान्वयनसँगै अब सरकारी सेवा थप प्रयोगकर्तामैत्री र गुणस्तरीय बन्ने विश्वास विभागले लिएको छ ।
पछिल्लो अध्यावधिक: असार ३२, २०८३ १४:५१
